साढे दुई करोड जनसङ्ख्याको पहुँचमा इन्टरनेट
काठमाडौं । नेपालमा साढे दुई करोड जनसङ्ख्या पहुँचमा इन्टरनेट सेवाको पहुँच पुगेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिना (गत साउनलेखि माघ मसान्तसम्म) तथ्याङ्कअनुसार नेपालमा दुई करोड ५४ लाख १९ हजार बढी जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवा पुगेको हो ।
प्राधिकरणको तथ्याङ्कअनुसार गत पुस महिनाको तुलनामा माघ महिनामा छ लाख ८३ हजार बढी प्रयोगकर्ता थपिएका छन् । पुस महिनामा कूल दुई करोड ४७ लाख ३५ हजार ६५० जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको छ ।
कूल जनसङ्ख्यामध्ये ८४ प्रतिशत जनताका पहुँचमा इन्टरनेट सेवा पुगेको तथ्याङ्कमा उल्लेख छ । प्राधिकरणले जनसङ्ख्या प्रक्षेपण (२०११–२०३०) लाई आधार मानेर प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा प्राधिकरणले नेपालको कूल जनसङ्ख्या दुई करोड ९८ लाख ७६ हजार ५३१ लाई आधार बनाएको छ ।
प्राधिकरणको तथ्याङ्कअनुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको रहेको छ । माघसम्म मोबाइल इन्टरनेटको हिस्सा ६१ दशमलव ४७ प्रतिशत छ । एक करोड १३ लाख बढीको पहुँचमा थ्रीजी इन्टरनेट पुगेको र यसमा सबैभन्दा धेरै नेपाल टेलिकमको ८६ लाख ६० हजार र एनसेलको २४ लाख ९१ हजार रहेको जनाइएको छ ।
त्यस्तै फोरजी प्रयोगकर्ता ७० लाख ९२ हजार र ई–भिडियो प्रयोगकर्ता एक लाख ३६ हजार ५७३ रहेका छन् ।
प्राधिकरणको तथ्याङ्कअनुसार फोरजीको प्रयोगकर्तामध्ये सबैभन्दा धेरै एनसेलको रहेका छन् । माघ मसान्तसम्म एनसेलका फोरजी प्रयोगकर्ता ४३ लाख २५ हजार ९३६ रहेका छन् । नेपाल टेलिकमको फोरजी प्रयोगकर्ता २५ लाख ४४ हजार ७२४ र स्मार्ट टेलिकमको दुई लाख २२ हजार रहेका छन् । यस्तै फिक्स ब्रोडब्याण्डको हिस्सा २१ दशमलव ८५ प्रतिशत छ । यसमा एडीएसएलका आठ लाख ३७ हजार र एफटीटीएच इन्टरनेट ५७ लाख ६८ हजारभन्दा बढी छन् । रासस
Facebook Comment