साताको सेयरः नयाँ गन्तव्यतिर नेप्से, परिसूचक ‘अलटाइम हाई रेकर्ड’ नजिक

उपेन्द्र शाही
२१ चैत २०७७ १०:५९

काठमाडौं। यस साताभर सेयर बजार परिसूचक नेप्से ८२ दशमलव ९४ अंकले बढेको छ। सातामा चार दिन कारोबार भएको बजारमा तीन दिन बजार बढ्दा एक दिन बजार घट्यो। यस साताको पहिलो दिन आइतबार होली पर्व परेका कारण सेयर बजार बन्द रह्यो। यो साता २५ सय ४८ दशमलव ९६ विन्दुबाट खुलेको बजार २६ सय ३१ दशमलव ८९ अंकमा बन्द भएको छ। गत साताको तुलनामा यस साता समग्रमा नेप्से ३ दशमलव २५ प्रतिशतले बढेको छ।

यो साता नेप्सेले हालसम्मकै उच्च विन्दुको प्रतिरोध परीक्षण गरेको थियो। साताको अन्तिम कारोबारोको दिन बिहीबार प्रि ओपन सेसनमा नै नेप्सेले सो विन्दुको प्रतिरोध परीक्षण गरेको थियो। बुधबार २६ सय १९ दशमलव ०२ विन्दुमा बन्द भएको नेप्से त्यस दिन प्रि ओपन सेसनमा २६ दशमलव ४८ अंक बढेर २६ सय ४५ दशमलव ५० विन्दुसम्म पुगेको थियो। जुन हालसम्मकै नेप्से इतिहासको उच्च विन्दु हो।

तर, अन्तिम समयमा भने बजार घट्न पुग्यो। सोही कारण नेप्सेले नयाँ उचाई कायम गर्न सकेन। यो साता नेप्सेले किर्तिमानी विन्दु कायम गर्न नसके पनि लगातार बढेर अल टाइम हाई रेकर्डको नजिक पुगेको छ। नेप्सेले २६ सय ४० दशमलव ३५ अंक पार गरेमा अल टाइम हाइ रेकर्ड बन्नेछ।

नयाँ वर्ष सुरु हुनै लागेको अवस्थामा लगानीकर्ताको चहलपहल बढ्ने देखिन्छ। नयाँ बजेट बन्ने क्रम जारी रहेको छ। आर्थिक वर्ष सकिन लागेकोले विकास निर्माणका कामले तिव्रता लिने हुन्छ। त्यसैले सरकारी खातामा रहेको पैसा बजारमा आउने क्रम वृद्धि हुने देखिन्छ। आर्थिक वर्ष सकिन लागेका कारण पुँजीगत खर्च गर्नै पर्ने बाध्यात्मक अवस्थामा सरकार छ। यस्तो अवस्थामा अर्थतन्त्रमा थप चहलपहल हुने देखिन्छ। यसले सेयर बजारमा सकारात्मक प्रभाव पार्ने र नेप्से नयाँ गन्तव्यतिर अघि बढेको अनुमान लगाउन सकिन्छ।

यस्तै बैंकीङ क्षेत्रमा तरलता सहज हुँदै जानु, ब्याजदर सस्तो हुदै गएकोले पनि सेयर बजार सकारात्मक दिशातिर जाने जानकारहरु बताउँछन्। बजार घटेर विस्तारै बढिरहेकोले यसबाट सेयर बजार दिगो सुधारतर्फ अघि बढेको उनीहरुको तर्क छ।

अघिल्लो साताको तुलनामा यस साता सेयर कारोबार रकममा पनि वृद्धि भएको छ। गत साताको तुलनामा दैनिक सेयर कारोबार रकम पनि यस साता निरन्तर वृद्धि भएको देखिन्छ। यो साता समग्रमा २४ अर्ब बराबरको सेयर खरिद बिक्री भएको छ। जसबाट बजारमा लगानीकर्ताको उपस्थिति र आत्मविश्वास पनि बढेको अनुमान गर्न सकिन्छ।

समग्रमा यस साता सबै समुहको सेयर उकालो लागेको छ। होटल तथा पर्यटन समूहमा एक दशमव ११ प्रतिशत गिरावट बाहेक बाँकी सबै समूहमा वृद्धि भएको छ। हाइड्रोपावर समूहले सबैभन्दा धेरै ७ दशमलव ७६ प्रतिशत वृद्धि हासिल गरेको छ। यस साता सबैभन्दा धेरै अजोड इन्सुरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। यस्तै सबैभन्दा धेरै सूर्योदय लघुवित्तका लगानीकर्ताले गुमाएका छन्।

दैनिक कारोबार

साताको पहिलो दिन आइतबार सार्वजनिक विदा होलीका कारण बन्द रहेको सेयर बजार सोमबार खुल्यो। उक्त नेप्से परिसूचक सामान्य अंकले करेक्सन भयो। नेप्से परिसूचक ५ दशमलव ४५ अंकले घटेर २५ सय ४३ दशमलव ५२ अंकमा बन्द भयो। उक्त दिन ४ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भयो।

यस्तै साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ३२ दशमलव १५ अंकले बढ्यो। मंगलबार ६ अर्ब १८ करोड रपैयाँभन्दा बढीको सेयर किनबेच भएको थियो। साताको चोथो दिन बुधबार नेप्से ४३ दशमलव ३६ अंकले बढ्यो। बुधबार ६ अर्ब १६ करोड रुपैयाँ भन्दा बढीको सेयर खरिद बिक्री भयो।

यस्तै साताको अन्तिम कारोबारोको दिन बिहीबार नेप्सेले हालसम्मकै उच्च विन्दुको प्रतिरोध परीक्षण गरेको थियो। यस दिन प्रि ओपन सेसनमा नै नेप्सेले सो विन्दुको प्रतिरोध परीक्षण गरेको थियो। बुधबार २६ सय १९ दशमलव ०२ विन्दुमा पुगेको नेप्से त्यस दिन प्रि ओपन सेसनमा २६ दशमलव ४८ अंक बढेर २६ सय ४५ दशमलव ५० विन्दुमा पुगेको थियो।

बिहीबार नेप्से परिसूचक १२ दशमलव ८८ अंक बढेर २६ सय ३१ दशमलव ८९ विन्दुमा पुगेर बन्द भयो। नेप्सेसँगै यस दिन कारोबार रकममा पनि सुधार देखिएको थियो। उक्त दिन ७ अर्ब २५ करोड भन्दा बढीको कारोबार भयो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *