वरिष्ठ नेता खनाललाई भेट्न राष्ट्रपति भण्डारी किन गइन् डल्लु ?

डिसी नेपाल
२१ चैत २०७७ १७:२९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न डल्लु पुगेकी छन् । शनिबार अपराह्न्न ४ बजे खनाललाई भेट्न राष्ट्रपति भण्डारी डल्लु पुगेकी हुन्

करिब १ घण्टा खनालसँग एक्लै भेटवार्ता गरेकी राष्ट्रपति भण्डारीले सत्तारुढ दल नेकपा एमालेभित्रको विवादप्रति चासो राखेकी थिइन् । स्रोतका अनुसार राष्ट्रपति भण्डारीले खनाललाई पार्टीभित्रको विवाद समाधानका लागि भूमिका खेल्न आग्रह गरेकी थिइन् ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी हित विपरित काम गरेको भन्दै नेताहरु माधव कुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई छ महिनाका लागि निलम्बन गरेपछि एमाले फुटको संघारमा पुगेको छ । पछिल्लो समय बरिष्ठ नेता खनालले माधव नेपाल समूहलाई साथ दिँदै आएका छन् ।

खनाल नेपाल समूहले समानान्तर गतिविधी सञ्चालन गर्न थालेपछि ओलीले थप कठोर कारबाही गर्ने चेतावनी दिँदै आएका छन् । पार्टी विवाद उत्कर्षमा पुगेका बेला राष्ट्रपति भण्डारी प्रोटोकल मिच्दै पार्टी विवाद समाधानका लागि नेता खनाललाई भेट्न डल्लु पुगेकी हुन् ।

‘राष्ट्रपतिज्युले मुलुकको पछिल्लो राजनीतिक घट्नाक्रमका बिषयमा वरिष्ठ नेताज्यु सँग चासो देखाउनुभएको छ ।,’ खनाल निकट स्रोतले भन्यो, ‘राष्ट्रपतिज्युको अपेक्षा पार्टीभित्रको विवाद मिलाउन बरिष्ठ नेता खनालले भूमिका खेलिदिए भन्ने थियो ।’

भेटका क्रममा खनालले अध्यक्ष ओलीले निरंकुशता लादेर पार्टी विभाजन गर्न खाजेको बताएका थिए । राष्ट्रपति भण्डारीले खनालको स्वस्थ्यप्रति चासो राखेकी थिइन् । केहिदिनअघि वरिष्ठ नेता खनालका दुवै मिर्गौलाले काम गर्न छोडेको समाचार सार्वजनिक भएको थियो । यद्यपी खनालको सचिवालयले भने यसको खण्डन गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *