राखु भगवती कोत मन्दिर पुनःनिर्माण शुरु
म्याग्दी । म्याग्दीको ऐतिहासिक राखु भगवती कोत मन्दिर पुनःनिर्माण शुरु भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पुरातत्व विभागले रघुगङ्गा गाउँपालिका–२ मा रहेको भगवती कोत मन्दिरको पुनःनिर्माण शुरु गरेको हो। विभागसँग ठेक्का सम्झौता गरेको मिलीजुली–किवेष्ट जेभीले नयाँ मन्दिर निर्माणका लागि पुरानो संरचना भत्काउन शुरु गरेको छ।
धार्मिक विधिअनुसार क्षमापूजा गरेर मन्दिर भत्काउन थालिएको हो। करसहित रु ६९ लाख ३० हजार ५६६ मा २०७७ फागुन २३ गते ठेक्का सम्झौता भएको थियो। सम्झौतामा उल्लिखित २०७८ असार १५ गतेभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माण शुरु गरेको मिलीजुली–किवेष्ट जेभीका सम्पर्क व्यक्ति राजीव ढुङ्गेलले बताए।
“मन्दिरको पुरानै स्वरूपलाई जोगाउने र भूकम्पप्रतिरोधी बनाउने गरी पुनःनिर्माण गर्न लागिएको हो”, उनले भने, “भूकम्पप्रतिरोधी प्रविधि अवलम्बन गरी ढुङ्गा र काठकै सामग्री प्रयोग गर्ने डिजाइन तयार भएको हो ।” पुरानै शैलीमा निर्माण हुने मन्दिरमा सिमेन्ट र रडको प्रयोग गरिने छैन । चुना, सुर्की, गिट्टी र बालुवा प्रयोग गरेर पर्खाल बनाइने मन्दिरको छाना ढुङ्गाको हुनेछ।
बाइसे÷चौबीसे राज्यका पालामा १७औँ शताब्दीमा भगवती मन्दिर निर्माण भएको थियो । भगवती कोत म्याग्दीका पुराना र ऐतिहासिक कोतको सूचीमा अगाडि छ । चैते र बडादशैँको अवसरमा विषेश पूजा हुने भगवती कोतमा अन्य समयमा दैनिक नृत्यपूजा हुन्छ । भगवती कोत शक्तिपीठ हो । दशैँको पूजामा यहाँ बलि चढाउने चलन छ।
धवलागिरि आइसफल पदमार्गले समेटिएको मन्दिर परिसरबाट कालीगण्डकी नदी, पुलाश्रम, पञ्चकोटसँगै अन्नपूर्ण र नीलगिरि हिमाललाई नजिकबाट नियाल्न सकिन्छ । यस क्षेत्रलाई धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न जोड दिइएको वडाध्यक्ष रिम कटुवालले बताए।
जिल्ला सदरमुकाम बेनीबाट चार कोस उत्तरमा कालीगण्डकी र रघुगङ्गा नदीको दोभानको शिरमा रहेको भगवती कोत मन्दिरमा पुग्न बेनी–गलेश्वर–पिप्ले–भगवती सडकको सहज पुहँच छ । पैदलयात्रामार्फत पनि पुग्न सकिन्छ । तत्कालीन राखु भगवती र राखु पिप्लेकोे साझा कोतका रूपमा चिनिदै आएको यस मन्दिरको इतिहास नेपाल एकीकरण हुनुअघिको तत्कालीन विभिन्न भुरेटाकुरे राजा तथा १४औँ देखि १७औँ शताब्दीका बाइसे÷चौबिसे राज्यका राजासँग जोडिएको इतिहास छ।रासस
Facebook Comment