उद्योगले मात्रै एसिड किन्न पाउने, १ वर्षसम्म किन्नको लागि ७ दिनभित्र निवेदन दिनुपर्ने
काठमाडौं। औद्योगिक प्रयोजनको लागि तेजाब (एसिड) वा तेजाबजन्य रासायनिक पदार्थ आवश्यक पर्ने उद्योगहरुले ७ दिनभित्र गृह मन्त्रालयको लागूऔषध नियन्त्रण शाखामा आफूलाई चाहिने यस्ता रासायनिक पदार्थको विवरण खुलाइ निवेदन दिनुपर्ने भएको छ । शाखाले आइतबार एक सूचना जारी गर्दै यसप्रकारका रासायनिक पदार्थ आवश्यक पर्ने उद्योगहरुबाट निवेदन माग गरेको हो ।
शाखाद्वारा जारी सूचनाका अनुसार तेजाब तथा अन्य घातक रासायनिक पदार्थको उत्पादन, निकासी, पैठारी, भण्डारण, ओसारपसार, बिक्री वितरण तथा त्यस्तो पदार्थको विसर्जनलाई नियमन गर्न गएको असोज १२ गते जारी भएको तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७७ तथा यही चैत १६ गते जारी भएको तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली २०७७ बमोजिम यो सूचना जारी गरिएको हो ।
अब यस्ता रासायनिक पदार्थ आवश्यक पर्ने उद्योगहरुले सूचना जारी भएको मितिले ७ दिनभित्र आफूलाई एक वर्षसम्म आवश्यक पर्ने यस्ता रासायनिक पदार्थको परिमाण्ण खुलाइ निवेदन दिनु पर्नेछ । यसरी पूर्व स्वीकृति लिइसकेपछि मात्रै ती उद्योगहरुले यस्ता रासायनिक पदार्थ प्रयोग गर्न पाउनेछन् । यस्ता पदार्थ अहिले उद्योगले बाहेक अरु कसैले किन्न वा ओसारपसार गर्न नपाउने कानुनी व्यवस्था गरिएको छ ।
Facebook Comment