लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलको पद जोगियो

डिसी नेपाल
२४ चैत २०७७ १०:४१

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्धको अविश्वासको प्रस्ताव तत्कालका लागि टरेको छ। मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने विषयमा जसपाभित्र विवाद उत्पन्न भएपछि तत्कालका लागि अविश्वासको प्रस्ताव टरेको हो।

८७ सदस्यीय प्रदेशसभामा जसपाका ६ सांसद छन्। ६ जनामध्ये तीन जना अविश्वासको प्रस्तावको विपक्षमा उभिएपछि मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावको संभावना टरेको हो।

मंगलबार मुख्यमन्त्री पोखरेल विरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले अविश्वासको प्रस्ताव गर्दा गराउने तयारी गरेका छन्। प्रदेशसभामा नेकपा एमालेका ४१ सदस्य छन्।

मुख्यमन्त्री पोखरेललाई सरकार जोगाउन ४४ सदस्य आवश्यक पर्छ। जसपाका तीन सदस्यले सरकारलाई साथ दिएपछि मुख्यमन्त्रीको पद जोगिएको हो। लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका २०, नेपाली कांग्रेसका १९, जसपाको ६ र राष्ट्रिय जनमोर्चाको एक सदस्य छन्।

जसपाका तीन जना सदस्य सन्तोषकुमार पाण्डे, विजय यादव र कल्पना पाण्डे अविश्वासको प्रस्तावको विपक्षमा उभिएपछि अविश्वासको प्रस्ताव पारित नहुने अवस्था आएपछि अविश्वासको प्रस्ताव तत्कालका लागि टरेको हो।

‘अहिले हामीले अविश्वासको प्रस्ताव ल्याएर प्रस्ताव पारित नहुने अवस्था आयो भने फेरि एक वर्षसम्म अर्को प्रस्ताव ल्याउन सकिँदैन,’ जसपा सांसद सन्तोषकुमार पाण्डेले डिसी नेपालसँग भने, ‘अहिले के गर्ने भन्ने विषयमा छलफल भइरहेको छ। हामी पार्टीलाई सोधेर निर्णय गर्छौं।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *