‘मानव सेवाको काम सरकार विचरा एक्लैले कहाँ–कहाँ गर्छ?’
काठमाडौंको गौशालास्थित ‘श्रीपशुपति गौशाला धर्मशाला’ स्थापनाकालदेखि नै मारवाडी समाजले संचालन गर्दै आएको छ। ऐतिहासिकालदेखि अहिलेसम्म यो धर्मशालाबाट प्राणी जातिलाई सेवा, सुविधा आदि निःशुल्क र न्यूनतम खर्चमा उपलब्ध हुँदै आएको छ। साथै, धर्मशालाअन्तर्गत रहेर मारवाडी सेवा समिति नेपालले विभिन्न निःशुल्क सेवाका काम गर्दै आएको छ ।
‘सेवा नै धर्म हो’ भन्ने भावना राख्ने समितिका सचिव कपिल अग्रवाल भन्छन्, ‘भगवानले मलाई दिनुपर्छ भन्दैनन् तर मन्दिर बाहिर भोकले बच्चा रोइराखेको छ भने उसलाई दुध नदिई भगवानलाई त्यो चढाउने पनि गर्नु हुँदैन । पहिला भोकोलाई सेवा गर्ने हो । अरुलाई कष्ट, दुःख दिने अनि भगवानसँग गएर हे भगवान मेरो कल्याण गर्नुस भन्दा कसरी कल्याण हुन्छ र? अरुको चित्त दुखाएर आफ्नो भलो गर्ने मान्छे हुनु हुँदैन।’
पशुपतिनाथ मन्दिर साक्षात भगवान भएको बताउने अग्रवाल बाजे बुबाले गर्दै आएको सेवाको कामलाई निरन्तरता दिएको बताउँछन्। उनी भन्छन्, ‘मैले यो त्यो गरे भनेर देखाउनु भन्दा पनि काम गर्नु पर्छ, धर्म गर्नु पर्छ। मैले मेरा सानासाना बच्चालाई पनि सिकाएको छु, सेवाको काममा जहिले पनि हात खुल्ला राख्नु पर्छ भनेर।’
हप्ताको एक दिन पूरै समय आफ्नो व्यापार व्यवसायलाई थाती राखेरै भएपनि प्राणी सेवामा लाग्ने गरेको बताउने उनै अग्रवालसँग धर्मशालाले अहिलेसम्म गर्दै आएको काम, कर्तव्य आदि विषयको सेरोफेरोमा रहेर गरिएको कुराकानी :
धर्मशाला र मारवाडी सेवा समितिले के कस्ता काम गरिराखेको छ ?
गौशाला धर्मशाला, राणाकालदेखि नै हाम्रो समाजलाई सेवा गर भनेर दिइएको ठाउँ हो। त्यसैले त्यो समयदेखि नै यहाँबाट सेवाको काम भइराखेको छ। हप्ताको प्रत्येक शनिबार श्रीपशुपति गौशाला धर्मशालामा करिब दुई–तीन सय जनालाई निःशुल्क खाना खुवाइराखेका छौं।
जुन, लगभग २०४६ सालदेखि चल्दै आएको हो। त्यस्तै, हामीले प्रत्येक वर्षको शिवरात्रीमा विभिन्न ठाउँबाट आउने व्यक्तिहरुको लागि धर्मशालाभित्रै टेन्ट राखेर खान, बस्न, सुत्नको लागि निःशुल्क व्यवस्था गरिदिदैं आएका छौं। गाईबस्तुको सेवा भइराखेको छ। देशका विभिन्न ठाउँ, जिल्लामा गएर पनि सहयोगको आवश्यकता हुनेहरुका लागी सहयोग, सेवा आदि गरिराखेका छौं।
यहाँ प्रत्येक शनिबार निःशुल्क खुवाउँदै आउनु भएको खानाको लागी कति खर्च हुन्छ?
खर्च आइराखेको छ, गइराखेको छ, पशुपतिनाथले पुर्याइराख्नु भएको छ र हामी नारायण सेवामा लागिराखेका छौं। कसैले एक बोरा चामल दिन्छ, कसैको जन्मदिन, तिथी परेको बेला चामल, तेल, दाल, तरकारी दिन्छन, त्यसरी नै पुगिराखेको छ। यहाँ पैसा चाहीँ ल्याएर दिने होइन, यदि दिए भने पनि खानकुरा किन्नको लागि नै खर्च गर्छौं।
यहाँ खान आउने व्यक्ति खाना खानै नपाएर आएका हुन् ?
तीन करोडमा यहाँ त दुई–तीन सय मान्छे न आउने हुन्। तिनीहरु गरिब भएपनि प्रायजसो काम गरेर खान सक्ने मान्छे छन्। तर रक्सी, जाँडले बिग्रेको छ समाज। यहाँ खाना खान आउने मान्छेहरु कोही पनि काम गर्न नसक्ने अपाङ्ग छैनन् । प्राय रक्सी खाने, बाहिर जताजतै बस्नेहरु नै छन्।
हुनत एउटा सोचाई अनुसार खान नखुवाउनु पर्ने हो, किनभने यिनीहरुलाई खाना खान दियो भने काम गर्न तिर ध्यानै दिँदैनन्। यिनीहरुलाई मज्जाले खाना खान पाइराखिएको छ, किन काम गर्ने भन्ने हुन्छ।
लकडाउन अवधिभरि यही धर्मशालामा खाना पकाएर करिब सवा लाख मान्छेलाई खाना खुवायौं। त्यतिबेला मान्छेहरुलाई खानको लागि समस्या थियो, त्यो बेला दिएको राम्रो हो। किनकि त्यस समयमा मान्छेहरुलाई खान थिएन। काम गर्ने वातावरण र काम गर्न जाने ठाउँ थिएन।
गौशाला धर्मशालामा भएका कोठामा बस्न चाहनेहरुको लागी कस्तो व्यवस्था छ?
यहाँ कोठाको चार्ज सस्तो छ। एउटा कोठालाई दुईदेखि साढे छ सयसम्म पर्छ र त्यसमा सात आठ जनासम्म अटिने भएकाले जति जना बसे पनि हुन्छ। सर्वसाधारण अर्थात पैसा नहुनेहरुको लागि यो धर्मशाला बस्न खानको लागि सुविधाजनक छ।
इण्डियाको प्रधानमन्त्रीले हस्तान्तरण गर्नु भएको पशुपतिको तिलगंगास्थित नयाँ धर्मशालाले त अहिले होटलको रुप लिइसकेको छ। आनन्द नाम राखिएको त्यसलाई धर्मशाला भन्न मिल्दैन। र, त्यहाँ कोठाको चार्ज पनि २५ देखि ५५ सय पर्छ । धर्मशाला भनेको त्यस्तो महँगो हुनु हुँदैन।
यहाँ गाईवस्तुहरु कसरी पालिराख्नु भएको छ ?
गाईवस्तुलाई त ३६५ दिनै २४सैँ घण्टा सेवा गरिराखेका छौं। गाइवस्तुलाई आमा बुबा सरह पालिराखेका छौं। गाई, बाच्छा, साढे गरी जम्मा दुई सय वटा जति छन्, त्यसमा दुध दिन गाई ६०–६५ वटा छन्। गाईवस्तु राख्ने सातवटा कोठाहरु छन्।
एउटा कोठामा ३०–३५ वटा अट्छ। यहाँबाट दिनमा करिब तीन सय लिटर दुध बिक्री हुन्छ। दुध बेचेर गाईवस्तुहरुलाई खानको लागि केही सहयोग पुग्छ। तर हाम्रो मनसाय गाईले दुध दिन्छ र बेच्ने भन्ने होइन । सेवा गरेको हो, व्यवसायको लागी पालिएको होइन।
गाईको लागि कति खर्च हुन्छ भनेर खर्च अनुमानित गरेको छैन तर चलिराखेको छ। आम्दानी त हाम्रो समाजले दिन्छ। हाम्रो समाजको सिस्टमअनुसार हामीले जति पैसा कमाउछौं त्यसको केही न केही भाग छुट्याएर सामाजिक सेवा, धर्मकर्ममा खर्च गर्ने गरेका छौं। सानो या ठुलो पसल, कारखाना जेसुकै होस् अर्थात जतिसुकै आर्थिक अवस्था सानो भए पनि उसले केही न केही धर्ममा छुट्याउने गरेकै हुन्छ। त्यसरी छुट्याएको भागले सेवा कार्यमा लागिराखेका छौं। धर्मशालाको सटर भाडाहरु पनि आउछ, कोठाको चार्ज पनि आउँछ। त्यसले हामीलाई गौशाला संचालन गर्न पुगिराखेको छ। समाजले कमाएकोबाट छुट्याउने गरेको प्रतिशतले नै हामीले यहाँ लगायत विभिन्न ठाउँमा पनि सेवा गरिराखेका छौं।
यहाँका गाइवस्तुलाई बाहिरका व्यक्तिले खानेकुरा ल्याएर दिने गर्छन् ?
सिधै गएर दिन पाउँदैनन्। खानेकुराको चेकजाँच गर्नु पर्छ। भोलि गएर केही तलमाथि भयो भने अप्ठ्यारो हुन्छ। गार्ड हुनुहुन्छ उहाँलाई जिम्मा लगाइदिनु भयो भने हुन्छ। पछि गोठका मान्छेहरुले चेक गरेर गाईलाई खुवाइ दिन्छन्।
प्रत्येक हप्ता कम्तिमा दुई–तीन जनालाई कृत्रिम खुट्टा निःशुल्क दिँदै आउनु भएको रहेछ, खर्च कसरी जुटाउनु हुन्छ?
त्यो खर्च पनि पूरा भइराखेको छ। हाम्रो समाज सानो छैन, धेरै ठुलो छ। दान दाताहरु अर्थात् दिने मान्छे धेरै छन्, त्यसले भ्याइराखेको छ। यहाँ कसैले पैसाले त कसैले समयले सेवा गरिदिइराखेका छन्।
यो धर्मशालामा कति कर्मचारी छन् र कस्तो व्यवस्था छ ?
यहाँ ४० जना कर्मचारी छन्। उनीहरु सबै तलबमा हुन्। उहाँहरुले पनि काम गरेर आफ्नो परिवार पाल्नु पर्छ, त्यही भएर तलब दिनुपर्छ। हाम्रो उद्देश्य भनेको प्राणी बाच्नु पर्छ भन्ने नै हो।
धर्मशालाअन्तर्गत रहेर अरु के के काम भइराखेको छ ?
डोलेश्वर महादेव भएको ठाउँमा पनि ‘आफ्नो घर’ भन्ने आश्रम छ। आश्रम राखेको आठ वर्ष जति भयो। त्यहाँ मानसिक सन्तुलन गुमाएर अलपत्र परी बाटोमा बसेका मान्छेलाई लगेर सेवा गर्छौ र निको पारेर घर फर्काइदिन्छौं।
सुरुमा त्यहाँ ल्याइएका मानिसलाई आफू कहाँको हो, के गथ्र्यौ, कहाँ छु भन्ने नै थाहा नहुने। पछि औषधिमूलो गरेर निको भइसकेपछि म यहाँको हो भन्छन त्यसपछि उसको गाउँघर वा आफन्तलाई खबर गर्छौं र उनीहरुले लाने गर्छन्।
त्यहाँ खाने, बस्ने, औषधी गर्ने आदि सबैको व्यवस्था छ। त्यहाँ गएर हेर्नु भयो भने वास्तवमा थाहा हुन्छ, नारायण सेवा भनेको के हो, भनेर। घाउ खटिरा भएर किरा परेको मान्छे पनि त्यहाँ निको भएर घर फर्किएका छन्।
बिरामी मान्छे निको भइसकेपछि उसको परिवारले लगेन भने त्यहाँ उ सधैभरि बस्न पनि पाउछ, हामी उसलाई जबरजस्ती गरेर पठाउँदैनौं। त्यहाँ अहिले ४७–४८ जना बसेका छन् र त्यतिकै संख्यामा निको भएर घर फर्कि पनि सकेका छन्।
त्यस्तै, हाम्रो टिचिङ अस्पतालमा पशुपति माडवाडी सेवा संघ भन्ने संस्था छ। त्यहाँबाट खाना किनेर खान नसक्नेहरुलाई खाना उपलब्ध गराउँदै आएका छौं। बिरामी कुरुवा, बिरामी मान्छेलाई खाना निःशुल्क उपलब्ध गराउछौं।
त्यस्तै, सबभन्दा ठूलो रक्तदानको कार्यक्रम भुगोलपार्कमा दैनिक भइराखेको छ। ब्लड संकलन गरेर रेडक्रममा पठाइराखेका छौं। अहिलेसम्म हामीले ५५ देखि ६० हजार युनिट रक्तदान संकलन गरिसकेका छौं।
यति धेरै रक्तदान आजसम्म कुनै पनि संस्थाले गरेको छैन। सबैभन्दा धेरै रक्तदान गर्ने पहिलो संस्था भनेर गिनिज बुकमा नाम दर्ता गराउन पनि सकिन्छ। तर यो पहल गर्यो भने मात्र हुने हो, जुन पहल हामीले गरेका छैनौं।
अब केही महिनापछि यस धर्मशालामा डाइलोसिसको पनि काम गर्छौं। १५–१६ वटा मेसिन राख्दैछौं, त्यसको लागी ठाउँ पनि छुट्याइसकेका छौं। त्यो पनि चाँडै सुरु हुन्छ। त्यसमा चाहीँ न्यूनतम चार्ज लिने सोच छ।
सरकारले गर्नु पर्ने काम तपाईहरुले गर्नु भएको रहेछ, के भन्नु हुन्छ ?
मानव सेवा गर्न त सरकारलाई मात्र भन्ने होइन नि। सबैले मिलेर गर्नुपर्छ। सरकार एक्लै विचराले के के गर्ने, कहाँ कहाँ सेवा दिने? नारायण सेवा, मानव सेवा भनेको मानवरुपी जन्म लिएपछि हामी सबैले गर्नु पर्छ, के। पशुपतिका बादरलाई बिहान रोटी, केरा, पिठोको डल्लो खुवाउछौं।
हाम्रै समुदायबाट त्यहाँ भएका प्राणीहरुलाई सधैं खानेकुरा जान्छ। हामीले लकडाउनभरि परेवा, बादर, गाईबस्तु सबैलाई चारो, दाना, केरा आदि खानकुरा खुवायौं। म आफै पनि जहिल्यै पशुपति र भण्डारखालमा गएर आफ्नै हातले केरा खुवाउछु, बादरहरुलाई । त्यसरी सबैले आफ्नो ठाउँबाट सकेअनुसारको सेवा गर्नुपर्छ ।
त्यस्तै, हामीले पशुपतिनाथको मन्दिर अगाडि पनि पानी प्लान्ट राखिदिएका छौं। त्यहाँ हामीले पिउने पानी, हात धुने पानीको व्यवस्था गरिदिएको २८ वर्ष भइसक्यो। लगभग चार हजार निःशुल्क बेबारिसे लासहरुको दाहसंस्कार पनि गरिसकेका छौं । तर हामी प्रचार प्रसार गर्दैनौं । प्रचार होस भन्ने चाहना पनि छैन। धर्म, कर्म भनेको लुकाई लुकाई गरेको अर्थात् गुप्त दान गरेको बढी मान्यता हुन्छ।
किन, यस्ता काम त पशुपति विकास कोषले गर्नु पर्ने होइन र ?
विकास कोषले गर्ने नगर्ने आफ्नो ठाउँमा छ । हामी आफ्नो कर्म र धर्म गर्दै जाने हो । कस्ले के गर्यो, के गरेन त्यो हामीलाई सरोकार हुँदैन । विकास कोषले गर्यो भने झन राम्रो, नगरे पनि काम त भइराखेकै छ ।
कसैसँग कुनै गुनासो छ ?
गुनासो कोसँग गर्ने र? कोहीसँग गुनासो केही छैन। सहयोग सेवा सबैले गर्नुपर्छ। समाज सेवा, नारायण सेवा भनेको हामी सबैको कर्तव्य हो। हाम्रो मारवाडी समाजमा मात्र नभएर सबैको कर्तव्य हो, जोसुकै भएपनि सेवा गर्नुस मेरो भनाई त्यही हो, आखिरी मरेर लाने केही पनि छैन।
नयाँ योजना के छ ?
बुढानिलकण्ठ मन्दिरमा खानेपानीको व्यवस्था गरिदिने प्रयास भइराखेको छ। फिल्टर प्लान्ट हालिदियो भने त्यहाँका दर्शनार्थीहरुलाई पानी पिउने सजिलो हुन्छ। अरु धार्मिकस्थल र हस्पिटल सबै ठाउँमा सहयोग गर्दै आएका छौं र गर्दै जान्छौं।
अन्त्यमा केही भन्न चाहनु हुन्छ ?
हामीलाई चाहिने भनेको आर्शिवाद हो। आर्शिवाद दिएर यो काम गरिराख्नुस सधैभरि भन्नुस्, त्यही नै हो।
Facebook Comment