आरोही कामिरिताद्वारा विद्यार्थीहरुलाई ज्याकेट वितरण
काठमाडौं । २४औं पटक सगरमाथा आरोहण गरिसकेका कामिरिता शेर्पाले सोलुखुम्बुमा रहेको थामे आधारभूत विद्यालयका विद्यार्थीहरुलाई ज्याकेट वितरण गरेका छन्। उनले एभेरष्ट आउटफिट कम्पनीको ज्याकेट वितरण गरेका हुन्।
कोरोना महामारीको समयमा पनि विद्यालयका विद्यार्थीहरुलाई कापी, किताबका लागि सहयोग गरिसकको छन्। सोलुखुम्बुको थामे गाउँका ५१ वर्षीय कामिरिता शेर्पाको नाममा विश्वको सर्वोच्च शिखर सगरमाथा सबैभन्दा धेरै पटक आरोहण गरेको कीर्तिमान छ। सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्नेको सूचीमा दोस्रो स्थानमा रहेका ङिमा नुरु शेर्पाभन्दा कामिरिताले थप ३ पटक सगरमाथाको सफल आरोहण गरिसकेका छन्।
कामिरिता अब २५ औं पटक सगरमाथाको शिखरको यात्रामा निस्किसकेका छन्। अहिले सगरमाथा एभेरेष्ट बेस क्याम तर्फ लागेका उनले बहराइनका राजकुमारसहितको टोलीको नेतृत्व गर्नेछन्। सन् १९९४ मा पहिलो पटक सगरमाथाको आरोहण गरेका शेर्पाले २५ पटक चुचुरोमा टेकेपछि विश्राम लिने बताएका छन्।
कामिरिताले एकै याममा दुई पटक सगरमाथा चढ्न लागेको यो चौथो पटक हो। यसअघि उनले तीन सिजनमा दुई–दुई पटक सगरमाथाको आरोहण गरिसकेका छन्। उनले चुचुरोसम्म डोरी टाँग्ने जिम्मेवारी पनि पाएकाले सन् २००९, २०१० र २०१३ मा एकै याममा दुई पटक सगरमाथा चढेका थिए।
Facebook Comment