प्रतिनिधिसभा बैठक : विषयगत समिति प्रतिनिधित्व सङ्ख्याका आधारमा हेरफेर गर्न एमालेकाे माग

डिसी नेपाल
२६ चैत २०७७ १५:१२

काठमाडाैं। नेकपा (एमाले) ले सर्वाेच्च अदालतको पछिल्लो फैसलाका आधारमा उत्पन्न परिस्थितिलाई दृष्टिगत गरी प्रतिनिधिसभाका विषयगत समितिमा दलीय प्रतिनिधित्वको हैसियत र सङ्ख्याका आधारमा सदस्य रहने गरी हेरफेर गर्न माग गरेको छ।

प्रतिनिधिसभाको बिहीबारकाे बैठकको प्रारम्भमा सभामुखसँग समय लिएर नेकपा (एमाले) का सांसद खगराज अधिकारीले अदालतको फैसलापछि सदनमा एमाले र नेकपा (माओवादी केन्द्र)को उपस्थिति बेग्लैरूपमा रहे पनि संसदीय समितिमा अझै नेकपाकै हैसियतमा रहनुपर्ने स्थितिलाई छिटो अन्त्य गर्न आवश्यक रहेकाे बताए।

उनले भने, “अदालतको फैसलापछि सदनमा एमाले र माओवादी केन्द्र नजिक भएर पनि बेग्लाबेग्लै बसाइको स्थितिमा छ, तर विषयगत समिति जाँदा अझै हामी पनि नेकपा बन्न बाध्य छाैं, यस्तो स्थिति संविधान, कानून, नियमावलीविपरीत छ, अब तत्काल सुधार गरियोस्।”

सदनमा एउटा र समितिमा अर्काे पार्टी हुने असंवैधानिक काम गर्न कसैले उक्साउन नहुने बताउँदै सांसद अधिकारीले भने, “हामी संविधानसम्मत हुन चाहन्छाैं, संसदीय व्यवस्थाअनुसार दलको शक्तिको आधारमा समितिमा प्रतिनिधित्व हुँदै आएको छ, हामी अहिले अलग भइसकेकाले अब हामी एमाले भएर समितिमा रहन चाहन्छाैं।”

उनले भने, “सत्तापक्षलाई बाध्य पारेर दबाब दिन पाइँदैन, प्रतिनिधित्वअनुरुप समितिमा रहने व्यवस्था होस्, समितिका कामकारवाहीलाई संविधान, कानूनअनुसार अघि बढाउन आजकै बैठकबाट समितिमा सांसद रहने व्यवस्था गरियोस्, अन्यथा हामी गैरकानूनी कामको साक्षीको फड्केकिनारा हुन सक्दैनौँ ।”

जवाफमा सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिमा दलीय छलफल र सहमतिका आधारमा नामावली प्राप्त भएपछि समितिमा रहने सदस्यको फेरबदल गरिने बताएका थिए।

यसैबीच प्रतिनिधसभा बैठकमा सांसदहरुले समसामयिक राजनीति र क्षेत्रगत समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको विहिबारको बैठकको शून्य समयमा बोल्दै सांसद लालकाजी गुरुङले प्रतिनिधिसभालाई व्यवस्था गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले राजा महाराजा भन्दा महान ठान्ने गरेको आरोप लगाए।

सांसद लालबहादुर थापाले गत साउन ४, २५ र भाद्र २ गतेको बाढी र पहिरोले बाजुरा जिल्लाका विभिन्न नगरपालिकाका वडाहरुमा खेतीयोग्य भूमि बगाएको र कयौ विस्थापित भएको भन्दै विस्थापित परिवारलाई पुर्नस्थापना गरि उचित राहतको व्यवस्था गर्न माग गरे।

सांसद शान्ता चौधरीले विकासप्रेमीहरु खुसीले गद्गद् भएको भन्दै सरकारका कामहरुको प्रसंसा गरिन्। सांसद सत्यनारायण शर्मा खनालले बास र गाँस नभएको जात चेपाङ बस्तीहरु चलाउने र भत्काउने काम गरेको भन्दै विराेध जनाए।

सांसद  सरलाकुमारी यादवले नेपालबाट दैनिक बालबालिका हराउने क्रम बढ्दै गएको भन्दै आफ्ना नागरिकको जीवनको सुरक्षा गर्नु राज्यको दायित्व भएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइन्।

सरिता कुमारी गिरीले बालबिकास केन्द्रहरुमा कार्यरत शिक्षकहरुले श्रम ऐन अनुसार पारिश्रमिक नपाएको भन्दै आगामी बजेटमा ती शिक्षकका लागि उचित पारिश्रमिकको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन्।

सांसद सिता देवी यादवले शान्ति सम्झौताको १४ बर्ष भईसक्दा पनि द्धन्द्धकालिन समयमा वेपत्ता पारिएका व्यक्ति र द्धन्द्ध पीडीतले न्याय नपाएको भन्दै उनीहरुलाई न्याय गरि आत्मसम्मानका साथ बाँच्न पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *