नयाँ सत्ता समिकरणको प्रयासः देउवाले बोलाए तीन दलको बैठक

डिसी नेपाल
२६ चैत २०७७ १९:०५

काठमाडौं। लामो समयदेखि नयाँ सत्ता समिकरणको जारी रहे पनि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अग्रसरता नलिँदा देखिएको राजनीतिक गतिरोधमा अब केही नयाँ दृश्य देखिने संकेत मिलेको छ। एक साता अघि नयाँ सत्ता समिकरणका लागि अग्रसरता लिने काँग्रेस केन्द्रीय समितिले निर्णय लिए पनि काँग्रेस सभापति शेरबहादुर देउवा सत्ता समिकरणका लागि अनइच्छुक देखिएका थिए। तर, अहिले सभापति देउवा ‘एक्सन’मा देखिएका छन्।

देउवाले शुक्रबारका लागि तीनवटै विपक्षी दल काँग्रेस, माओवादी र जनता समाजवादीको सँयुक्त बैठक बोलाएका छन्। सत्ता समिकरणबारे छलफल गर्न सबै विपक्षीहरुको सँयुक्त बैठक हुन लागेको यो पहिलो पटक हो। यसअघि दुई दलबीच छलफल भए पनि ती छलफलहरु निष्कर्षबिहीन बनेका थिए।

तर, तीन दलबीच नै सँयुक्त बैठक गर्न देउवाले अग्रसरता लिएसँगै राजनीतिक रंगमञ्चमा नयाँ दृश्य देखिने भएको हो। काँग्रेस सहमहामन्त्री डा. प्रकाशसरण महतले शुक्रबारका लागि तीन दलको बैठक बोलाएको पुष्टि गर्दै सत्ता समिकरणको विषयमा छलफल हुने बताए।

पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेदेखि नै काँग्रेसको एक समूह ओली सरकारलाई विस्थापित गर्नुपर्ने अडानमा लागेको थियो। त्यतिबेला काँग्रेसले संसद विघटनलाई असंवैधानिक भन्दै सडक आन्दोलन गरे पनि सभापति देउवा मध्यावधि चुनाव केन्द्रित अभिव्यक्ति दिन्थे भने वरिष्ठ नेता रामचन्द्र पौडेलले ओली सरकारको विस्थापन र संसद पुनःस्थापनामा जोड दिएका थिए।

आन्दोलन घोषणा गरे पनि ओली सरकारप्रति नरमदेखिएका देउवाले पार्टीको केन्द्रीय समितिबाटै सत्ता समिकरणका लागि पहल गर्ने निर्णय गराएका छन् भने सोही निर्णयअनुसार तीन दलको बैठक बोलाएका छन्। केन्द्रीय समितिले निर्णय गर्नुअघि र पछि पनि सरकारमा जान त्यति रुची नेखाएका देउवा सक्रिय हुनुले उनले अन्य विपक्षी दलको समर्थन पाउने संकेत प्राप्त गरेको रुपमा काँग्रेस नेताहरुले बुझेका छन्। हुन पनि काँग्रेसले ओली सरकारको विकल्पका लागि आफूहरुसँग संख्या नभएको बताउँदै आएको थियो। तर, अहिले सभापति देउवाले संख्या सम्भावना देखेको रुपमा काँग्रेस वृत्तमा चर्चा चलेको छ।

माओवादी केन्द्रबाट निर्वाचित ४ सांसदको पद बिहीबार खारेज ४ जना सांसद निलम्बनको अवस्थामा हुँदा अहिले प्रतिनिधिसभा सदस्यको संख्या २६७ पुगेको छ। यसअनुसार सरकार बनाउन १३४ सिट आवश्यक पर्छ। काँग्रेसको ६१, माओवादी केन्द्रको ५२ र जनता समाजवादीको ३२ सिट छ। ओली सरकारको विकल्पका लागि तीनै विपक्षी एकजुट हुनुपर्छ।

उता एमालेको १२१ सिट छ। ओली सरकारको निरन्तरताका लागि अब उसलाई १३ सिटमात्र भए पुग्छ। तर, एमालेमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले समानान्तर गतिविधि गरिरहेको छ। उसले ओली सरकारको निरन्तरता दिन सहयोग गर्छ वा फ्लोर क्रस गर्छ त्यो पनि शंकाकै विषय छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *