बुढानिलकण्ठमा विपक्षी तीन दलको बैठक शुरु, सत्ता समिकरणबारे छलफल हुँदै
![बुढानिलकण्ठमा विपक्षी तीन दलको बैठक शुरु, सत्ता समिकरणबारे छलफल हुँदै](https://www.dcnepal.com/wp-content/uploads/2021/04/collage.jpg)
काठमाडौं। मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको तीन विपक्षी दलको बैठक शुरु भएको छ। देउवा निवास बुढानिलकण्ठमा ४ बजेपछि बैठक शुरु भएको हो।
३ बजेका लागि बोलाइएको बैठक जसपा नेताहरु बुढानिलकण्ठ नपुगेपछि बैठकमा ढिलाई भएको हो। जसपाका अध्यक्ष महन्थ ठाकुर, अध्यक्ष उपेन्द्र यादव, नेता राजेन्द्र महतो र अशोक राई बुढानिलकण्ठ पुगेपछि बैठक शुरु भएको हो।
यसअघि नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, स्थायी कमिटी सदस्य नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा तथा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ पुगिसकेका थिन्।
नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार मुलुकको समसामयिक परिस्थितिका बारेमा साझा धारणा बनाउन बैठकको आयोजना गरिएको हो।
सत्ता समिकरणबारे छलफल गर्न सबै विपक्षीहरुको सँयुक्त बैठक हुन लागेको यो पहिलो पटक हो। यसअघि दुई दलबीच छलफल भए पनि ती छलफलहरु निष्कर्षबिहीन बनेका थिए।
तर, तीन दलबीच नै सँयुक्त बैठक गर्न देउवाले अग्रसरता लिएसँगै राजनीतिक रंगमञ्चमा नयाँ दृश्य देखिने भएको हो। काँग्रेस सहमहामन्त्री डा। प्रकाशसरण महतले शुक्रबारका लागि तीन दलको बैठक बोलाएको पुष्टि गर्दै सत्ता समिकरणको विषयमा छलफल हुने बताए।
पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेदेखि नै काँग्रेसको एक समूह ओली सरकारलाई विस्थापित गर्नुपर्ने अडानमा लागेको थियो। त्यतिबेला काँग्रेसले संसद विघटनलाई असंवैधानिक भन्दै सडक आन्दोलन गरे पनि सभापति देउवा मध्यावधि चुनाव केन्द्रित अभिव्यक्ति दिन्थे भने वरिष्ठ नेता रामचन्द्र पौडेलले ओली सरकारको विस्थापन र संसद पुनःस्थापनामा जोड दिएका थिए।
आन्दोलन घोषणा गरे पनि ओली सरकारप्रति नरमदेखिएका देउवाले पार्टीको केन्द्रीय समितिबाटै सत्ता समिकरणका लागि पहल गर्ने निर्णय गराएका छन् भने सोही निर्णयअनुसार तीन दलको बैठक बोलाएका छन्।
केन्द्रीय समितिले निर्णय गर्नुअघि र पछि पनि सरकारमा जान त्यति रुची नेखाएका देउवा सक्रिय हुनुले उनले अन्य विपक्षी दलको समर्थन पाउने संकेत प्राप्त गरेको रुपमा काँग्रेस नेताहरुले बुझेका छन्। हुन पनि काँग्रेसले ओली सरकारको विकल्पका लागि आफूहरुसँग संख्या नभएको बताउँदै आएको थियो। तर, अहिले सभापति देउवाले संख्या सम्भावना देखेको रुपमा काँग्रेस वृत्तमा चर्चा चलेको छ।
माओवादी केन्द्रबाट निर्वाचित ४ सांसदको पद बिहीबार खारेज ४ जना सांसद निलम्बनको अवस्थामा हुँदा अहिले प्रतिनिधिसभा सदस्यको संख्या २६७ पुगेको छ। यसअनुसार सरकार बनाउन १३४ सिट आवश्यक पर्छ। काँग्रेसको ६१, माओवादी केन्द्रको ५२ र जनता समाजवादीको ३२ सिट छ। ओली सरकारको विकल्पका लागि तीनै विपक्षी एकजुट हुनुपर्छ।
Facebook Comment