बुढानिलकण्ठ बैठक : जसपाले स्पष्ट बचन दिएन

डिसी नेपाल
२७ चैत २०७७ १७:२२

काठमाडौं। ओली सरकारको विकल्पक खोज्न भन्दै तीनवटा विपक्षी दलको शुक्रबार बसेको बैठकले ठोस निष्कर्ष निकाल्न सकेन। प्रमुख विपक्षी दल नेपाली काँग्रेसको अग्रसरतामा अन्य विपक्षी दलहरु माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) नेताहरुको बैठक काँग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको हो।

करिब १ घण्टा चलेको बैठकमा किङमेकरको भूमिकामा रहेको जसपाले स्पष्ट सहयोगको बचन नदिएको नेताहरुले बताएका छन्। बैठकमा कााग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्पका लागि तीन दलबीच सहमतिको प्रस्ताव राखेका थिए। देउवाको प्रस्तावमा माओवादी केन्द्रले समर्थन जनाए पनि जसपाले भने समर्थन गरिनसकेको एक नेताले जानकारी दिए।

बैठकबाट बाहिरिनेक्रममा बैठकबारे जानकारी दिँदै जसपा अध्यक्ष महन्थ ठाकुरले काँग्रेसबाट ओली सरकारको विकल्पको प्रस्ताव आएको बताए। उनले भने, ‘यो सरकारको विकल्पबारे काँग्रेस प्रस्ताव गरेको छ। तर हामीले हाम्रो पार्टीको बैठकबाट मात्र निर्णय दिन सकिने जानकारी गराएका छौं।’

जसपामा अहिले दुई लाइन छ। ठाकुर समूहले ओली सरकारलाई समर्थन दिने संकेत दिइरहेको छ भने उपेन्द्र यादव समूहले ओली सरकारको विकल्प खोज्नुपर्ने बताइरहेको छ। त्यसैले नयाँ सत्ता समिकरणमा जसपाले लिने निर्णय निर्णायक हुने अवस्था बनेको छ।

बैठकबारे जानकारी दिँदै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बैठक सकरात्मक भएको बताए। उनले काँग्रेसले ओली सरकारको विकल्पको प्रस्तव राखेको र त्यसमा माओवादीले समर्थन गरेको बताए। तर, जसपाले भने आफ्नो पार्टीको बैठकपछिमात्र निर्णय दिन सकिने बताएको जानकारी दिए।

त्यस्तै माओवादी केन्द्रका स्थायी कमिटी सदस्य नारायणकाजी श्रेष्ठले बैठकबारे जानकारी दिँदै जसपाको निर्णय कुर्नुपर्ने भएको बताए। उनले काँग्रेसको प्रस्तावमा आफ्नो पार्टी सकरात्मक रहेको भन्दै जसपाले लिने निर्णयपछिमात्र केही भन्न सकिने बताए।

संसद विघटनपछि तत्कालिन सत्तारुढ दलमै विभाजन भएको थियो। ओली इतर समूहले प्रधानमन्त्रीको राजीनामासमेत मागेको थियो। तर फागुन २३ मा सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि गठबन्धन सरकारमा परिणत भएको यो सरकारलाई माओवादीले दिएको समर्थन यथावतै छ। तर पनि माओवादीले प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने बताइरहेको छ। उता जसपाको ठाकुर समूहमा भने प्रधानमन्त्री ओलीसँग निरन्तर छलफलमा छ। र सो छलफल सकरात्मक रहेको दुबैतर्फका नेताहरुले बताउने गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *