एमाले नेपालपक्षद्वारा मोरङ जिल्ला समानान्तर कमिटी घोषणा

डिसी नेपाल
२७ चैत २०७७ १७:४९

मोरङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधवनेपाल पक्षले मोरङ जिल्ला र विराटनगर महानगरमा समानान्तर कमिटी घोषणा गरेका छन् । नेकपा (एमाले) मोरङ जिल्ला कमिटीद्वारा शुक्रबार विराटनगरमा आयोजित अगुवा कार्यकर्ता भेला पार्टी एवं पुनर्गठन कार्यक्रममा नेता माधवकुमार नेपालले चन्द्रवीर राईको अध्यक्षतामा ३२५ सदस्यीय मोरङ जिल्ला कमिटी र पारुल क्षेत्रको अध्यक्षमा १७५ सदस्यीय विराटनगर महानगर कमिटी पुनर्गठन गरेका हुन्।

कार्यक्रममा उनले वर्तमान पार्टी नेतृत्वले आफूखुशी कमिटी गठन, बैठक र विस्तार गर्ने गरेकाले यसलाई सच्याउनुपर्नेमा जोड दिए। उनले पार्टीका निर्वाचित पदाधिकारीलाई महाधिवेशनबाट मात्र हटाउन सकिने बताएका छन् ।

पूर्वप्रधानमन्त्री नेपालले नेतृत्वका कारण कार्यकर्ताहरुको मनोबल खस्केको आरोप लगाउँदै कम्युनिष्ट आन्दोलन जोगाउन पार्टी जिल्ला अभियानको दौडाहामा लागेको जानकारी दिए । उनले पार्टीका ६५ जिल्लामा कमिटी पुनर्गठन भइसकेको जानकारी दिँदै चाँडै ३२ भ्रातृ सङ्गठनको राष्ट्रिय भेलाको आयोजना गरी जनताको पार्टीप्रतिको आशा एवं विश्वास जगाउने कार्य भइरहेको बताए।

कार्यक्रममा युवा नेताहरु जगन्नाथ खतिवडा, जीवन घिमिरे, धनेन्द्र बस्नेत, डा देउमान सम्वाहाम्फे र महेश रेग्मीलगायतले पार्टी विधि, विधान र सिद्धान्तअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *