कोरोना जोखिमः विद्यालय बन्द गर्न सीसीएमसीको सिफारिस

डिसी नेपाल
२८ चैत २०७७ १९:५४

काठमाडौं। कोरोनाको दोस्रो लहरको जोखिम बढेपछि कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले तीन हप्ता विद्यालय बन्द गर्न सिफारिस गरेको छ। शनिबार बसेको सीसीएमसीले कोरोनाको दोस्रो लहरको जोखिम बढेपछि अपनाउनुपर्ने मापदण्डबारे प्रस्तावसमेत तयार पारेको छ।

सो प्रस्तावमा कोरोना बढेको स्थानका विद्यालयहरु तीन हप्ता बन्द गर्नुपर्ने सिफारिस गरिएको छ। मन्त्रिपरिषदले सीसीएमसीका प्रस्ताव पारित गरेपछि लागू हुनेछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै नेपालमा कोरोनोको बेलायती भेरिएन्ट फैलिएको भन्दै कडाइ गर्न सुझाव दिइसकेको थियो। काठमाडौं, पोखरालगायतका क्षेत्रमा विद्यार्थीहरुमा बेलायती भेरिएन्टको कोरोना भाइरस देखिएको पुष्टि भइसकेको छ।

अब बस्ने मन्त्रिपरिषद बैठकले सीसीएमसीका प्रस्तावहरु पारित गर्नेछ। सीसीएमसीले पनि स्वास्थ्य मन्त्रालयले गरेको आग्रहअनुसारका प्रस्तावहरु तयार पारेको जनाइएको छ। शनिबार विज्ञसहित सीसीएमसीको बैठक बसेको थियो।

छिमेकी मुलुक भारतमा कोरोनाको दोस्रो लहर तिब्र रुपमा बढिरहेको छ। नेपालमा पनि पछिल्ला दिनहरुमा संक्रमितको संख्या बढिरहेको छ। सरकारले रात्रिकालीन व्यवसाय बन्द गर्न, भीडभाड हुने कार्यक्रम आयोजना नगर्न, मास्क अनिवार्य, विदेशबाट आउनेले क्वारेन्टिन बस्नुपर्नेलगायतका मापदण्ड बनाइसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *