जसपा शीर्ष नेताहरु सत्ता समीकरणबारे छलफलमा जुटे

डिसी नेपाल
२९ चैत २०७७ १८:०६

काठमाडौं। सत्ता समीकरणको साँचो हातमा लिएर बसेको जनता समाजवादी पार्टीमा सत्ता समीकरणबारे छलफल शुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग निरन्तर छलफलमा रहे पनि जसपा नेताहरुले ती छलफलहरु आफ्ना मागहरु पूरा गराउने विषयमा केन्द्रित भएका र सत्ताबारे कुनै छलफल नभएको बताउने गरेका थिए। अध्यक्ष महन्थ ठाकुर, अर्का अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् संयोजक बाबुराम भट्टराई, नेताहरु राजेन्द्र महतो र अशोक राईबीच छलफल भएको हो।

आइतबार मात्र जसपामा सत्ता समीकरणबारे छलफल शुरु भएको हो। जसपा नेता केशव झाले आइतबार पार्टीका शीर्ष नेताहरुबीच सत्ता समीकरणबारे छलफल भएको जानकारी दिए। उनले डिसी नेपालसँग भने, ‘शीर्ष नेताहरुबीच सत्ता समीकरणबारे छलफल शुरु भएको छ। केही दिन यो छलफल चल्छ होला।’

प्रतिनिधिसभामा ३४ सिट रहेको जसपा वर्तमान सत्तारुढ दल एमाले र अन्य सबै विपक्षीको तानातानमा छ। शुक्रबारमात्र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारको विकल्पमा काँग्रेसलाई सघाउन जसपासँग प्रस्ताव गरेका थिए। बुढानिलकण्ठमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई साँक्षी राखेर देउवाले जसपासँग सरकार बनाउनका लागि सहयोग मागेका थिए। तर, त्यो दिन जसपा नेताहरुले स्पष्ट जवाफ नदिई फर्केका थिए। उनीहरुले आफ्नो पार्टीमा सत्ता समीकरणबारे छलफल नै नभएकाले छलफल गरेरमात्र जवाफ दिने बताएका थिए।

जसपाले स्पष्ट रुपमा विपक्षीहरुको गठबन्धनलाई सहयोग गर्ने बचन नदिएपछि ओली सरकारको विकल्प खोजिरहेका काँग्रेस र माओवादीले जसपाको निर्णय कुर्ने बताउँदै आएका छन्। जसपामा सत्ता समीकरणबारे छलफल शुरु भएपछि अब वर्तमान राजनीतिक गरितरोधको अन्त्य हुने संकेतहरु देखा परेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *