नेपालसँग सीमा जोडिएका क्षेत्रमा कोरोनाभाइरस फैलिने दर भारतकै सबैभन्दा उच्च

डिसी नेपाल
३० चैत २०७७ १२:११

काठमाडौं। भारतमा कोरोनाभाइरस अत्यन्तै तीब्र रुपमा फैलिइरहेको छ । भारतमा भाइरस संक्रमणको दोस्रो लहर पहिलेभन्दा निकै भयानक छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा १ लाख ६९ हजार नयाँ संक्रमित थपिएका छन् ।

त्यसअघिको २४ घण्टामा भारतमा १ लाख ५२ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका थिए । सोमबार भारतले ब्राजिललाई उछिन्दै सबैभन्दा धेरै संक्रमित भएको देशको सूचीमा दोस्रो स्थानमा उक्लिएको छ । भारतभन्दा अगाडि अमेरिका मात्र छ ।

नेपालको लागि सबैभन्दा चिन्ताको विषय भारतमा सबैभन्दा तीब्र गतिमा संक्रमण फैलिएका राज्यहरु हुन् । भारतका राज्यहरुमध्ये सबैभन्दा छिटो संक्रमण बिहार, उत्तर प्रदेश र झारखण्डमा फैलिइरहेको छ ।

उत्तर प्रदेश र बिहार नेपालको पूर्व पश्चिम सीमासँग जोडिएका राज्यहरु भएको र भारत र नेपालबीच खुला सीमा भएकोले यो नेपालको लागि चिन्ताको विषय बनेको छ । सीमामा कडाइ गरिएको भए पनि खुला सीमा भएका कारण संक्रमितहरु लुकिछिपी नेपाल प्रवेश गर्ने जोखिम उच्च छ ।

कोरोनाभाइरसको फैलिने दर मापन गर्ने मापदण्ड अर्थात रिप्रोडक्सन नम्बर बिहार, उत्तर प्रदेश र झारखण्डमा सबैभन्दा उच्च भएको विशेषज्ञहरुले बताएका छन् । इण्डिया टुडेका अनुसार पछिल्लो २ हप्तासम्म कोरोनाको तथ्यांकको ट्रयाकिङ र विश्लेषणपछि उत्तर प्रदेशमा रिप्रोडक्सन नम्बर २.१४, झारखण्डमा २.१३ र बिहारमा २.०९ भएको पाइएको छ । सजिलो भाषामा बुझ्दा उत्तर प्रदेशमा १ जना संक्रमितले २.१४ जनालाई संक्रमित गरिरहेका छन् अर्थात १ सय जना संक्रमितले थप २ सय १४ जनालाई संक्रमित गरिरहेका छन् । रिप्रोडक्सन नम्बरलाई आर भ्यालु पनि भनिन्छ ।

यदि आर भ्यालु १ भन्दा बढी भएमा त्यो स्थितिलाई खतरा मानिन्छ किनकि त्यो अवस्थामा हरेक संक्रमितले कम्तीमा अर्का १ जनालाई संक्रमित गरिरहेका हुन्छन् । उत्तर प्रदेशमा त हरेक संक्रमितले थप २ जनाभन्दा बढीलाई संक्रमित गरिरहेका छन् । आर भ्यालु १ भन्दा कम भएको अवस्थामा भने महामारी नियन्त्रण गर्न सकिने विशेषज्ञ बताउँछन् । तथ्यांकका अनुसार अहिले पूरै आरतको आर भ्यालु भने १.३२ छ । उत्तर प्रदेश, बिहार र झारखण्डमा संक्रमण फैलिने दर राष्ट्रिय औसतभन्दा कैयौं बढी छ ।

चेन्नइको म्याथम्याटिकल साइन्स इन्स्टिच्युटका प्रोफेसर सिताभ्र सिन्हाका अनुसार भारतमा अहिले आर भ्यालु १.३ छ । यो अघिल्लो वर्षको मार्चको १.९२ र अप्रिल १.५३ को तुलनामा कम नै हो ।

अघिल्लो वर्ष अप्रिलमा भारतमा आर भ्यालु घटेर १.२९ सम्म झरेको थियो । साप्ताहिक औसतमा हेर्दा अहिले उत्तर प्रदेशमा हरेक दिन औसतमा १ हजार नयाँ संक्रमित थपिएका छन् । मार्चमा भने यहाँ दैनिक औसत १०५ नयाँ संक्रमित मात्रै भेटिन्थे ।

झारखण्डमा अहिले हरेक दिन औसतमा ८७० नयाँ संक्रमित थपिएका छन् । मार्चमा दैनिक औसत नयाँ संक्रमित थपिने दर ४५ मात्रै थियो । यस्तै बिहारमा अहिले दैनिक औसत ७३२ नयाँ संक्रमित थपिएका छन् । मार्चमा यहाँ दैनिक औसत ३१ नयाँ संक्रमित थपिएका थिए ।

अर्थात एक महिनामा नयाँ संक्रमित थपिने दर २४ गुणा बढेको छ । तथ्यांकका अनुसार यी तीनवटै राज्यको स्थिति अघिल्लो वर्ष लकडाउनको सुरुवातको समयमा पुगेको छ । अघिल्लो वर्ष लकडाउनको सुरुवातको बेला जसरी संक्रमण फैलिएको थियो अहिले स्थिति त्यस्तै छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *