राम नवमीका दिन माडीको अयोध्यापुरीमा राम सीताको मूर्ति प्रतिष्ठापन गरिँदै

तर्कबहादुर थापा
३ वैशाख २०७८ १२:२६

काठमाडौं। चितवनको माडीस्थित अयोध्यापुरीमा यही रामनवमीको दिन राम र सीताको मूर्ति प्रतिष्ठापन गरिने भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बनेको मूर्ति लिएर प्रतिष्ठापन गर्ने नगरपालिका प्रमुख ठाकुरप्रसाद ढकालले डिसी नेपाललाई जानकारी दिए।

ढकालका अनुसार यही बैशाख ७ गते मुर्ति चितवन पुर्याइने र ८ गते रामनवमीका दिन उक्त मूर्ति प्रतिष्ठापन गर्ने कार्यक्रम रहेको छ। डिसी नेपालसँग नगर प्रमुख ढकालले भने, ‘प्रधानमन्त्रीज्यूको चाहना अनुसार यही राम नवमीका दिन मूर्तिलाई प्रतिष्ठापन गरिने भएको छ। हामीले अन्य कामहरुलाई अगाडि बढाइ रहेका छौं। काठमाडौंबाट मूर्ति ७ गते ठोरीस्थित अयोध्यापुरीमा पुग्छ। र ८ गते राम नवमीका दिन प्रतिष्ठापन गरिनेछ।’

प्रधानमन्त्री ओलीले राम, सीता र लक्ष्मणको मूर्ति प्रतिष्ठापन गर्ने भने पनि अहिले हनुमान र लक्ष्मणको मूर्ति बन्ने क्रममा रहेकोले राम र सीताको मूर्तिमात्र प्रतिष्ठापन गरिने ढकालले बताए।

के हो अयोध्यापुरी निर्माणको कुरा ?

गएको असार २९ गते रामायणका नेपाली अनुवादक तथा आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तिका दिन प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा घोषणा गरे।

भारतको अयोध्यामा राम जन्मेको भन्ने कुरा भारतले नेपालको सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताए। भारतले नक्कली अयोध्या खडा गरेको भन्दै रामको जन्म माडी नगरपालिकाको ठोरीमा भएको प्रधानमन्त्री ओलीले बताएका थिए।

‘हामी अहिले पनि ठानिरहेका छौँ, हामीले ‘सीता’ भारतका राजकुमार रामलाई दियौँ। भारतका होइन अयोध्याकालाई दिएका हौँ,’ प्रधानमन्त्री ओलीले भनेका थिए, ‘अयोध्या भनेको वीरगञ्जभन्दा अलि पश्चिमपट्टिको गाउँ हो। अहिले खडा गरिएको अयोध्या होइन। अयोध्यामा भीषण विवाद छ है त्यहाँ। हाम्रोमा विवाद नै गर्नुपर्दैन।’

प्रधानमन्त्रीको उक्त कुराले राजनीतिमात्र नभएर इतिहास र संस्कृति जगतमा एक प्रकारको भूकम्प ल्यायो। राजनीतिकर्मी मात्र नभएर इतिहासकर्मी र संस्कृतिविद् पनि वैचारिक विवादमा परे। कसैले प्रधानमन्त्रीको खुलेर आलोचना गरे भने कतिले समर्थत पनि।

प्रक्रिया बढ्दै गएपछि २०७७ सालको श्रावण २४ गते माडी नगरपालिकाका जनप्रतिनिहरुसँग प्रधानमन्त्रीले भेटघाट गरे। यो रामनवमीका दिन ठोरीमा मेला लगाउन र अर्को राम नवमीका दिन राम सिता र लक्ष्मणको शालिक स्थापना गर्न निर्देशन दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर फर्किएका माडी नगरपालिकाका जनप्रतिनिधिहरुले उत्साहित हुँदै तत्कालै काम सुरु गर्ने बताए। उनीहरुले केहीसमयभित्र काम थालनि गर्ने बताए पनि अहिलेसम्म कुनै पनि काम हुन सकेको छैन।

अयोध्यापुरीलाई आवश्य पर्ने जग्गाका बारेमा पनि प्रधानमन्त्रीले वन मन्त्रालय र चितवन राष्ट्रिय निकुञ्जसँग आवश्यक समन्वय गरिदिने आश्वासन समेत दिएका थिए। प्रधानमन्त्रीलाई भेटेर फकिएपछि प्रवक्ता शिवहरि सुवेदीले डिसी नेपालसँग प्रतिक्रिया दिदैँ प्रधानमन्त्री आफै पनि राममन्दिर बनाउन आतुर रहेको जानकारी गराएका थिए।

उनले भनेका थिए, ‘प्रधानमन्त्री ज्यूले राममन्दिर निर्माण र्गन आवश्यक जग्गाको लागि सम्बन्धित मन्त्रालय, राष्ट्रिय निकुञ्ज र सरोकारवालासँग समन्वय र सहजिकरण गरिदिने विशवास दिलाउनु भएको छ।’

प्रधानमन्त्रीको आफ्नै खर्चमा बनेको हो मूर्ति

माडी नगरपालिकामा अयोध्याधाम बनाउनका लागि प्रधानमन्त्री केपी ओलीको व्यक्तिगत सहयोगमा भगवान राम र सीताको मूर्ति तयार भएको हो। प्रधानमन्त्री ओलीको सौजन्यमा झण्डै पाँच फिट अग्लो राम र सीताको मूर्ति तयार गरिएको हो। दुवै मूर्ति तयार गरेर बालुवाटारमा राखिएको छ।

प्रधानमन्त्री ओलीले माघ १७ गते भरतपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै अयोध्यापुरीमा अयोध्याधाम निर्माण गर्न बृहत् गुरुयोजना बनिसकेको र राम सीताको मूर्ति तयार भइसकेको पनि जानकारी दिएका थिए।

प्रधानमन्त्री ओलीले अयोध्यापुरीलाई विश्वभरका हिन्दू, संस्कृतिविद्, पुरातत्वविद्, सभ्यताविद्को गन्तव्यस्थान र पर्यटकीयस्थल बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

धेरै तीर्थालु भक्तजनको त्यहाँ गन्तव्यस्थल हुने भन्दै प्रधानमन्त्री ओलीले रिउ अर्थात सरियू नदी त्यसको व्यवस्थापन, पुलहरूको व्यवस्थापन, नदीहरूको तटबन्धको व्यवस्थापन गर्ने बताएका थिए। उनले माडीलाई भूमि असाधारण सम्भावना बोकेको भूमि भएको पनि बताएका थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *