कर्णालीमा फुट्यो एमाले, ४ सांसदले गरे फ्लोर क्रस

काठमाडौं। सत्तारुढ दल नेकपा केन्द्रमा विभाजित भए पनि प्रदेशमा एकजुट रहेको भन्दै कर्णाली प्रदेशमा एमालेले मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिएको थियो। र एमालेका तर्फबाट मन्त्री बनेकाहरुले सामूहिक राजीनामा दिएका थिए।
तर, शुक्रबार प्रदेशसभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राखेको विश्वासको मतमाथि मतदान हुँदा प्रदेशसभामा अनौठो र अनपेक्षित दृश्य देखियो। प्रस्तावको पक्षममा मतदान गर्ने भन्दै काँग्रेसले यसअघि नै प्रदेशसभामा नाटकीय घटनाक्रम अनुमान गरिएको थियो। भयो पनि त्यस्तै। एमालेका चारजना सांसदहरु विश्वासको मतको विपक्षमा मतदान गर्ने लाइनमा नलागी पक्षमा लाइन लागे। जसले शाहीको सरकारमात्र जोगाएन, एमाले कर्णालीमा विभाजित भएको पुष्टि गरिदिएको छ।
एमालेका प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थााप र *कुर्मराज शाहीले फ्लोर क्रस गर्दै शाहीले राखेको विश्वासको मतको पक्षमा मत दिए। उनीहरु चारैजना एमालेमा समानान्तर गतिविधि गर्दै आएको माधव नेपाल निकटका नेताहरु हुन्। ज्वाला र बुढा त यसअघि पनि मन्त्री थिए।
तर, उनीहरुले सामुहिक राजीनामा दिएका थिए। पद धरापमै राखेर उनीहरुले शुक्रबार फ्लोर क्रस गर्दा केन्द्रमा पनि केपी शर्मा ओलीविरुद्ध माधव समूहले फ्लोर क्रस गर्ने सम्भावना बढेको छ। ओली नेतृत्वको संघीय सरकारसँग हालसम्म बहुमत रहे पनि माओवादी केन्द्रले राजीनामा मागिरहेकाले अहिलेको बहुमत प्राविधिक मात्र बन्न पुगेको छ। प्रदेशमा माधव समूहले लिएको मुभले केन्द्रको राजनीतिमा पनि नयाँ परिदृश्य देखिने संकेत मिलेको छ। फ्लोर क्रसपछि उनीहरुमाथि एमालेले कारबाहीको डन्डा लचाउन सक्ने देखिएको छ।
*फ्लोर क्रस गर्ने सांसदको नाम कुर्मराज शाही हुनुपर्नेमा देवी ओली भएकोमा सच्याइएको छ। -सम्पादक
Facebook Comment