कोरोनाको ‘युके भेरिअन्ट’ अझ शक्तिशाली छ, विद्यालय बन्द गरेर बालबालिा बचाऔं

डिसी नेपाल
४ वैशाख २०७८ १८:११

काठमाडौं। सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले कोरोना भाइरसको नयाँ प्रजाती तीन गुणाबढी गतिमा फैलिन सक्ने क्षमता भएकोले लापर्वाही नगर्न सुझाव दिएका छन्। यूके भेरिअन्ट प्रजातिको कोरोना यसअघिको भाइरसभन्दा तेब्बर गतिमा फैलिन सक्ने भएको बताउँदै डा पुनले स्वास्थ्य मापदण्ड कडाईकासाथ पालना गर्न आग्रह गरे।

संवाद डबलीले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै डा पुनले भने, ‘यूके भेरियन्ट प्रजातिको कोरोना भाइरस पहिलेभन्दा तीब्र गतिमा फैलिन सक्ने क्षमता राख्छ । यसअघिका कमजोरीबाट शिक्षा लिँदै विशेष सतर्कता नपनाए नियन्त्रण बाहिर जान सक्छ।’ उनले नयाँ प्रजातिले बेलायतमा पहिलोको भाइरस एक वर्षमा फैलिएजति तीन महिनामै पुगेको बताए।

आफूहरुले केही समय पहिले काठमाडौँ कोरोनाका नयाँ हट स्पट बन्ने भन्दा विरोध भएको सम्झदै डा पुनले यस्तै अवस्था रहे अवस्था गम्भीर हुने बताए। भारतबाट र तराईबाट काठमाडौँ पसेका व्यक्तिहरु खुलमखुलारुपमा हिटडुल गरिरहनु खतराको घण्टी भएको बताउँदै डा पुनले भिडभाडमा नजान आग्रह गरे। स्वास्थ्य मापदण्डको पालना नगरी काठमाडौँ भित्रिनु नै नयाँ भाइरस प्रवेश गर्ने माध्यम बनेको पुनले बताए।

कोरोना संक्रमितको उपचार खटिरहेका डा पुनले कोरोनाको नयाँ प्रजातिले बालबालिका बढी जोखिममा रहेको बताए। उनले शैक्षिक संस्था नयाँ प्रजातिको कोरोना फैलिने माध्यम बन्न खतरा रहेको बताउँदै यसअघिका कमजोरीबाट शिक्षा लिँदै बालबालिकालाई नयाँ प्रजातिबाट जोगाउनु चुनौती रहेको बताए।

’नयाँ प्रजातिको कोरोना तीब्ररुपमा फैलिरहेको छ। अहिले देशभर भौतिकरुपमा शैक्षिक संस्था संचालन भइरहेका छन्। स्वास्थ्य मापदण्ड पालना बालबालिकामा निकै कम देखिन्छ। विद्यालय कोरोना फैलिन माध्यम बन्ने खतरा देखिन्छ’, डा पुनले भने।

उनले बालरोग विज्ञ र अस्पताल पनि कम भएको बताउँदै विद्यालयबाट कोरोना परिवार हुँदै समुदायमा पुग्ने खतरा रहेको बताए। बालबालिकालाई बचाउनेबारे सोच्ने बेला आइसकेको भन्दै पुनले अभिभावकलाई गम्भीर बन्नु आग्रह गरे। डा पुनले विद्यालय केही दिनको लागि बन्द गर्न सुझाव समेत दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *