काँग्रेस क्रियाशील सदस्यता विवरण केन्द्रमा पठाउने समय थपियो

डिसी नेपाल
६ वैशाख २०७८ १९:४७

काठमाडौं। चैत मशान्तसम्म काँग्रेस क्रियाशील सदस्यहरुको विवरण पार्टीको वेबसाइटमा इन्द्री गरिसक्नुपर्ने यसअघिको निर्णय कार्यान्वयन नभएपछि इन्ट्रीका लागि समय अवधि थपिएको छ। सोमबार बसेको काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले वैशाख १५ सम्म क्रियाशील सदस्यताको विवरण इन्ट्री गर्ने समय अवधि तोकेको हो।

काँग्रेसको १४ औं महाधिवेशन आगामी भदौ पहिलो साता काठमाडौंमा गर्ने तयारी भइरहेको छ। तर, कार्यतालिका अनुसार काम नहुँदा भदौको महाधिवेशन प्रभावित हुने काँग्रेस वृत्तमा चर्चा छ। यद्यपी महाधिवेशन जसरी पनि भदौमा गर्नुपर्ने संवैधानिक बाध्यता छ।

सोमबारको बैठकले वैशाख १७ सम्म जिल्लाको निर्णयको माइन्युट केन्द्रमा पठाइसक्नुपर्ने कार्यतालिका तोकिएको छ। केन्द्रीय सदस्य प्रदीप पौडेलका अनुसार अन्य पार्टीबाट काँग्रेसमा प्रवेश गरेकाहरुले यही वैशाख १२ गतेसम्म सदस्यता फार्म लिन पाउने भएका छन्। उनीहरुले वैशाख मशान्तसम्म क्रियाशील सदस्यता फार्म बुझाउनुपर्ने छ।

केन्द्रीय सदस्य पौडेलले सोमबारको बैठकमा क्रियाशील सदस्यतामात्र एजेण्डा रहेकाले अन्य विषयमा छलफल नभएको बताए। उनले भने, ‘सभापतिले आज क्रियाशील सदस्यताको विषयमात्र एजेण्डा हो, यसलाई टुंग्याउँ भन्नु भयो त्यतिमात्र भयो।’ उनले राजनीतिक विषयमा छलफल आगामी बैठकमा हुने बताए। तर अर्को बैठक कहिले बस्छ भन्ने टुंगो भने भएको छैन। सभापति देउवाले अर्को बैठक बुधबार बस्ने मौखिक जानकारी गराए पनि निर्णय भने नभएको पौडेलले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *