एमालेका २७ जना सांसदको पद रिक्त भए ओली सरकारमाथि झन संकट !

डिसी नेपाल
७ वैशाख २०७८ १६:५९

काठमाडौं। सत्तारुढ दल नेकपामा चर्केको विवादकाका बीच सो दलका २७ जना प्रतिनिधिसभा सदस्यहरुलाई सांसदबाट हटाउने प्रक्रिया शुरु भएको छ। एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल समूहमा लागेका २७ जना प्रतिनिधिसभा सदस्यहरुलाई सांसद पदबाट किन नहटाउने भनी स्पष्टीकरण सोधेका छन्।

उनीहरुलाई पद मुक्त गर्नका लागि यो प्रक्रिया शुरु गरिएको कसैबाट लुकेको छैन। यदि यी २७ जना पद मुक्त भए २७५ सदस्यीय प्रतिनिधिसभामा ३१ जना सदस्यको पद रिक्त हुनेछ। यसरी रिक्त भएका स्थानमा जुन विधिबाट निर्वाचित भएका हुन् सोही विधिबाट पदपूर्ति गर्नुपर्ने कानुनी व्यवस्था छ।

प्रतिनिधिसभा २४४ सदस्यीय कायम हुँदा सरकार बनाउनका लागि आवश्यक संख्या १२३ हुन्छ। एमालेका हाल १२१ सदस्य छन्। ती मध्ये २७ जनाको पद रिक्त भए प्रतिनिधिसभामा एमालेको सिट संख्या ९४ हुनेछ। उसलाई सरकार टिकाउन थप २९ सिट आवश्यक पर्नेछ।

अहिले ओली सरकार ४९ सिट रहेको माओवादी केन्द्रको समर्थनमा टिकेको छ। तर, माओवादी केन्द्रले समर्थन फिर्ता नलिए पनि प्रधानमन्त्रीको राजीनामा मागिरहेकाले उसले प्रधानमन्त्री ओलीलाई हटाउन अनुकुल वातावरण बनेपछि समर्थन फिर्ता लिनेछ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिस्थिति अनुकुल बने समर्थन फिर्ता लिइने बताइसकेका छन्।

माओवादीले समर्थन फिर्ता लिने तर ३२ सिट रहेको जनता समाजवादीले समर्थन गर्ने देखिएपछि माओवादीले समर्थन फिर्ता लिएको छैन। उता जसपा पनि विभाजनको संघारमा छ। महन्थ ठाकुर समूह ओली सरकारलाई समर्थन दिने निर्णयमा पुगिसकेको छ भने उपेन्द्र यादव समूह जसरी पनि ओलीको विकल्प खोज्नुपर्ने नीतिमा छ। जसपाकै कारण ओली सरकार जोगिने देखिएपछि माओवादीले समर्थन फिर्ता लिएको छैन।

तर, अब माओवादीले समर्थन फिर्ता लिन वातावरण अनुकुल बन्दै गएको छ। वातावरण अनुकुल बनाउने काम स्वयम प्रधानमन्त्री ओलीले गरेका छन्। अब माओवादीले समर्थन फिर्ता लिने र जसपाका ४ जनालेमात्र ओलीलाई समर्थन नगर्ने हो भने ओली सरकार ढल्ने देखिन्छ।

तर, राजनीति यति सजिलो भने छैन। ओलीले पद मुक्त गर्न लागेका आफ्ना दलका २७ सांसद मध्ये धेरैजसो समानुपातिक सांसद छन्। समानुपातिक सांसदको पद रिक्त भएपछि २०७४ को बन्द सूचीमा रहेको नामबाटै पदपूर्ति हुनेछ। यसरी पदपूर्ति गर्दा ओलीले आफू निकटका व्यक्तिलाई सांसद बनाउने छन्।

यदि ओलीले यसरी समानुपातिक सांसदहरुको संख्या आफू अनुकुल हुने गरी पुर्याउन सके भने जसपाको एक समूहले सहयोग गर्दा पनि उनको सरकार जोगिन सक्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *