बसुन्धरा–मान प्रज्ञा प्रतिष्ठानले बस्नेत र राणालाई पुरस्कृत गर्ने
काठमाडौं। बसुन्धरा–मान प्रज्ञा प्रतिष्ठानले वरिष्ठ गायक कुमार बस्नेतलाई २०७८ को बसुन्धराश्री पुरस्कार र चर्चित गायिका मीरा राणालाई २०७८ को मानश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। प्रतिष्ठानका कुलपति डा दुबसु क्षेत्रीको अध्यक्षतामा मंगलबार बसेको बैठकले मौलिक र उत्कृष्ट नेपाली लोकगीतको सङ्कलन, गायन र संरक्षणमा अतुलनीय योगदान गरेको भन्दै बस्नेतलाई रु ७५ हजार नगदसहित सम्मान गर्ने निर्णय गरेको हो ।
त्यसैगरी गायिका राणालले आधुनिक नेपाली गीत र सङ्गीतको सिर्जना एवं गायनद्वारा महत्वपूर्ण योगदान गरेकाले उनलाई रु ५० हजार नगदसहित सम्मान गर्ने निणर्य गरेको प्रतिष्ठानका सदस्यसचिव कृसु क्षेत्रीले जानकारी दिए। विसं २००० असार १७ गते काठमाडौँमा जन्मिएका वरिष्ठ लोकगायक बस्नेतले १७ वर्षको उमेरदेखि मौलिक नेपाली लोकगीतको सङ्कलन र गायन प्रारम्भ गरी हालसम्म नेपाली गीतिभण्डारमा ३०० भन्दा बढी गीत समर्पण गरेका छन्। उनले लोक कोशेली, नयाँ कोशेली, मादल घनघन, कुमार दाइ र बेस्ट अफ कुमार बस्नेतजस्ता लोकप्रिय साङ्गीतिक कृति सार्वजनिक गरेको सो प्रतिष्ठानका सदस्य सचिव कृसु क्षेत्रीले बताएका छन्।
विसं २००८ असोजमा काठमाडौँमा जन्मिएकी मीरा राणाले १४ वर्षको उमेरदेखि नेपाली सङ्गीत क्षेत्रमा प्रवेश गरी सयौँ गीत नेपाली सङ्गीत भण्डारमा समर्पण गरेकी छन्। राणाले लेकै फुल्यो लालीगुराँस, सदाबहार लोकगीत, मीरा राणका गीत, दुर्गाभजन र कृष्ण भजनजस्ता लोकप्रिय साङ्गीतिक कृति सार्वजनिक प्रतिष्ठानका सदस्य सचिव क्षेत्रीले जानकारी दिए।
यसअघि बसुन्धरा–मान प्रज्ञा प्रतिष्ठानले बसुन्धरा श्री पुरस्कारद्वारा कविवर माधवप्रसाद घिमिरे (विसं २०५७), वरिष्ठ उपन्यासकार दौलतविक्रम विष्ट (विसं २०५८), वरिष्ठ कथाकार तथा नाटककार गोविन्दबहादुर मल्ल ‘गोठाले’ (विसं २०५९) वरिष्ठ समालोचक यदुनाथ खनाल (विसं २०६०), वरिष्ठ आख्यानकार मदनमणि दीक्षित (विसं २०६१), वरिष्ठ उपन्यासकार डायमनशमशेर राणा (विसं २०६२), वरिष्ठ साहित्यकार इन्द्रबहादुर राई (विसं २०६३), वरिष्ठ कवि मोहन कोइराला (विसं २०६४), वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी (विसं २०६५), वरिष्ठ समालोचक कृष्णचन्द्रसिंह प्रधान (विसं २०६६), वरिष्ठ कवि वैरागी काइँला (विसं २०६७), वरिष्ठ कवि धर्मराज थापा (विसं २०६८), वरिष्ठ समालोचक प्राडा वासुदेव त्रिपाठी (विसं २०६९), वरिष्ठ चित्रकार शशी शाह (विसं २०७०), वरिष्ठ कलाकार हरिप्रसाद रिमाल (विसं २०७१), वरिष्ठ संगीतकार अम्वर गुरुङ्ग (विसं २०७२), वरिष्ठ आख्यानकार लीलबहादुर क्षेत्री (विसं २०७३), वरिष्ठ समालोचक प्राडा तारानाथ शर्मा (विसं २०७४), वरिष्ठ गायक प्रेमध्वज प्रधान (विसं २०७५) र वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ (२०७६) र वरिष्ठ साहित्यकार डा ध्रुवचन्द्र गौतम (२०७७) लाई प्रदान गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
Facebook Comment