रेल सञ्चालनको तयारी अन्तिम चरणमा

डिसी नेपाल
८ वैशाख २०७८ ६:१७

काठमाडौं। विगत ७ महीनादेखि पार्किङमा रहेका रेल सञ्चालन गर्न तयारी अन्तिम चरणमा पुगेको नेपाल रेल्वे कम्पनीले बताएको छ । वैशाख महीनाभित्रै रेल सञ्चालनमा ल्याउने तयारी भएको कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए

रेल सञ्चालनका लागि पुराना तथा अवकाश पाइसकेका र हाल कार्यरत कर्मचारीलाई कम्पनीले तालीम दिने भएको छ । १०० जना त्यस्ता कर्मचारी तथा प्राविधिकलाई तालीम दिन लागिएको महाप्रबन्धक भट्टराईले बताए ।

बुधवारदेखि रेल सञ्चालनको सेफ्टी वर्गका कर्मचारीलाई तालीम दिइने उनले जानकारी दिए । उनका अनुसार तालीम दिन भारतको कोंकण रेल्वे कर्पोरेशनका अधिकारी जनकपुर आइसकेका छन् ।

लोकसेवा आयोगले निकाल्ने भर्ना प्रक्रिया रद्द भएपछि कम्पनीले नै कर्मचारी तथा प्राविधिकको व्यवस्थापन गर्न लागेको हो । असोज १ गते जनकपुरमा आएका दुई रेल सञ्चालनका लागि कम्पनीले त्यसअघि भदौ अन्तिम साता १२९ जना कर्मचारीलाई करारमा नियुक्त गर्न विज्ञापन खुलाएको थियो ।

महाप्रबन्धक भट्टराईका अनुसार तालीम २ हप्तासम्म चल्नेछ । रेल सञ्चालनका लागि पटक–पटक मिति सारिँदै आएको छ ।नेपालले भारतीय कोंकण रेलवे कर्पोरेशन कम्पनीसँग भन्सारबाहेक ८५ करोड ६५ लाखमा पाँचओटा डिब्बासहितका दुई सेट रेल किनेको हो । आर्थिक अभियान दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *