बाबुराम र उपेन्द्रको स्पष्टिकरणलाई लुम्बिनीका मन्त्रीले टेरेनन्

डिसी नेपाल
८ वैशाख २०७८ १२:१५

काठमाडौं। लुम्बिनी प्रदेशमा नाटकीय रुपमा जनता समाजवादी पार्टीका ४ जना सांसद मन्त्री बनेपछि केन्द्रमा उपेन्द्र यादवले अगुवाई गरेको समूहका नेता तथा आफूलाई पार्टीको लुम्बिनी प्रदेश समिति अध्यक्ष दावी गर्ने अशोक यादवले मन्त्रीहरुलाई २४ घण्टामा फिर्ता हुन भने।

यसरी २४ घण्टे अल्टिम दिएको बुधबार ४८ घण्टा भइसकेको छ, उनीहरुले राजीनामा दिएका छैनन्। बरु राजीनामा नदिने भन्दै उनीहरुले अशोक यादव पार्टीको लुम्बिनी प्रदेश अध्यक्ष नभएको बताएका छन्।

त्यसो त सोमबार जसपाका नेताहरु मन्त्री बनेपछि परस्पर विरोधी दुईवटा विज्ञप्ति जारी भएका थिए। एक समूहले नवनियुक्त मन्त्रीहरुलाई बधाइ दिएको थियो भने एक समूहले राजीनामा दिन भनेको थियो।

शंकर पोखरेल नेतृत्वको सरकारमा पार्टीका सांसद मन्त्री बनेपछि डिसी नेपालसँग कुरा गर्दै जसपा अध्यक्ष उपेन्द्र यादवले उनीहरुमाथि कारबाही हुने बताएका थिए। उनले भनेका थिए, ‘सरकारमा जाने हाम्रो पार्टीको निर्णय भएको होइन, पार्टीको निर्णय विपरित सरकारमा गएको विषयमा निर्णय हुन्छ।’

तर, बुधबारसम्म आइपुग्दा न त मन्त्रीहरु लुम्बिनी सरकारबाट फिर्ता भए, न त उनीहरुमाथि कुनै कारबाही। अरु उनीहरुले आफूलाई राजीनामा दिन निर्देशन दिने व्यक्तिको हैसियतमाथि नै प्रश्न उठाएका छन्। सोमबार मन्त्री बनेका विजय यादवले आफूहरुले पार्टी केन्द्रीय सदस्यको उपस्थितिमा सपथ ग्रहण गरेकाले पार्टीको निर्णण अनुसार नै मन्त्री बनेको रुपमा बुझ्न आग्रह गरे।

‘हामीले जसपका केन्द्रीय सदस्य मिलन यादवको उपस्थितिमा सपथग्रहण गरेका हौं,’ यादवले डिसी नेपालसँग भने, ‘हामी मन्त्री बनेपनि जसपाले स्वागत गरेको छ। अशोक यादवले विज्ञप्ति निकाले आफूले आफैंलाई धोका दिन काम गरेका छन्।’

उनले लुम्बिनी प्रदेशमा पूर्व राजपा र पूर्व समाजवादीबीच समायोजन नभएकाले प्रदेशमा पार्टीको कोही पनि अध्यक्ष नभएको दाबी गरे। सोमबार मन्त्री बनेका चारै जनाले स्पष्टिकरणको जवाफ नदिने बरु आफूलाई स्पष्टिकरण सोध्ने व्यक्तिको आधिकारिकतामाथि नै प्रश्न उठाएपछि जसपाभित्रको विवाद उत्कर्षमा पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *