देउवाको टोन चेन्ज, ‘अब कांग्रेस नेतृत्वमा सरकार बन्छ’

खेमराज थापा
८ वैशाख २०७८ १७:१०

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई विस्थापित गरेर आफ्नै नेतृत्वमा सरकार बनाउने पार्टीको केन्द्रीय कार्यसमितिबाटै निर्णय लिए पनि त्यसअनुसार पहल कदमी नगरेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको टोनमा पछिल्ला दिनहरुमा परिवर्तन आएको छ। अब उनी आफ्नै नेतृत्वमा सरकार बन्ने भन्न थालेका छन्।

कर्णाली प्रदेशमा एमाले सांसदहरुले फ्लोर क्रस गरेर माओवादी नेतृत्वको सरकार जोगाइदिएपछि सभापति देउवाको टोनमा चेन्ज आउन थालेको एक कांग्रेस नेताले डिसी नेपाललाई बताए।

बुधबार भएको पार्टीका वर्तमान तथा पूर्व पदाधिकारीको छलफलमा त सभापति देउवाले अब ओली सरकार विस्थापन गर्न वातावरण अनुकूल बन्दै गएको ब्रिफिङ गरेका छन्। बुढानिलकण्ठमा बुधबार पार्टीको केन्द्रीय निर्वाचन समितिको संयोजक चयनका विषयमा छलफल गर्न भन्दै वर्तमान तथा पूर्वपदाधिकारीको बैठक बोलाइएको थियो।

सो बैठकमा सभापति देउवाले कर्णाली प्रदेशमा एमालेका सांसदले गरेको फ्लोर क्रस, लुम्बिनीमा जसपा सांसदहरु मन्त्री बनेको विषय र बुधबार नै माओवादीले सरकारलाई दिएको समर्थनबारे निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको विषयले ओली सरकारलाई विस्थापन गर्न परिस्थिति अनुकूल बन्दै गएको रुपमा व्याख्या गरेका थिए।

कर्णालीमा एमाले सांसदले फ्लोर क्रस गरेपछि एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले एमालेका २७ जना प्रतिनिधिसभा सदस्यहरुलाई पदबाट किन नहटाउने भन्दै स्पष्टीकरण सोधेका छन्। उनीहरुलाई पदबाट हटाउने प्रक्रिया पूरा गर्न स्पष्टीकरण सोधिएको एमालेकै नेताहरुले बताउने गरेका छन्।

२७ जना मध्ये ७ जना समानुपातिक निर्वाचित हुन्। कानुनी व्यवस्थाअनुसार २०७४ को निर्वाचनमा निर्वाचन आयोगलाई बुझाइएको बन्दसूचीबाटै नयाँ निर्वाचित सांसदबाट पद पूर्ति गरिनेछ। अब पदपूर्ति हुँदा ७ जना ओली निकटका नै हुनेछन्। जसले गर्दा एमालेको सिट संख्या १०१ मा सीमित हुनेछ।

एमालेका अन्य २० जनाको पद रिक्त हुँदा प्रतिनिधिसभा २५१ सदस्यीय कायम हुनेछ। यस्तो अवस्थामा बहुमतका लागि १२६ सिट आवश्यक पर्नेछ। एमालेको १०१ सिटमा बहुमत पुर्याउन ओलीलाई थप २५ सिट आवश्यक पर्नेछ।

जसपाको महन्थ ठाकुर समूहले ओलीलाई समर्थन दिने लगभग पक्का भइसकेको छ। तर, उपेन्द्र यादव समूहले भने ओलीलाई कुनै पनि हालतमआ समर्थन दिन नसकिने भन्दै आएको छ। यसैको प्रभाव लुम्बिनी प्रदेशमा देखिएको हो।

महन्थ ठाकुरको निर्देशनमा जसपाका सांसदहरु मन्त्री बनेका हुन्। जसले जसपामा पनि विभाजनको विजारोपण भएको छ। महन्थ ठाकुर समूहसँग २५ जना प्रतिनिधिसभा सदस्य नहुने भएकाले अब उनीहरुले जोगाउँदैमा ओली सरकार नजोगिने विश्लेषण सभापति देउवाले बुधबार बुढानिलकण्ठमा गरेका हुन्।

बैठकमा सहभागी एक नेताले सभापति देउवाको भनाई उद्धृत गर्दै भने, ‘अब परिस्थिति अनुकूल बन्दै गएको छ। कांग्रेसकै नेतृत्वमा सरकार बन्ने परिस्थिति आउँदैछ। ओली सरकारबाट देशलाई केही फाइदा भएको छैन।’

बुढानिलकण्ठमा छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल निकट नेताहरुले ओली सरकारको विकल्पका लागि सभापति सक्रिय हुनुपर्ने बताएका थिए। त्यसपछि सभापति देउवाले राजनीतिक परिस्थितिबारे ब्रिफिङ गरेका हुन्।

देउवा निकट एक नेताले भने, ‘पार्टीको केन्द्रीय निर्वाचन समितिको संयोजक चयन गर्ने विषयमा बोलाइएको बैठक हो। सभापतिले वर्तमान राजनीतिबारे पनि कुरा गर्नुभएको हो। तर, अहिले नै ओली सरकारलाई विस्थापित गर्ने संख्या पुगिसकेको छैन। औपचारिक कुनै निर्णय भएको छैन। अनौपचारिक कुरा त धेरै हुन्छ नि।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *