भुजेलको साढे दुई करोड उपचार खर्च साउदीको एक अपस्तालद्वारा मिनाहा
काठमाडौं । मोरङ हरैँचाका बेदबहादुर भुजेलको उपचारमा खर्च भएको साढे दुई करोड रुपैयाँ साउदीको एक अस्पतालले मिनाहा गरिदिएको छ । उपचार खर्च तिर्न नसकेर साउदीस्थित नेपाली दूतावासको सेल्टरमा अढाई वर्षदेखि रहँदै आएका भुजेलको उपचाररत खर्च अस्पतालले मिनाहा गरिदिएको हो ।
उपचार खर्च मिनाहा भएसँगै उनी बिहीबार नेपाल आइपुगेका छन् । साउदीमा रहेको नेपाली दूतावासका अनुसार वैदेशिक रोजगारीको सिलसिलामा साउदीको रियादमा एउटा कम्पनीमा काम गर्दागर्दै साढे दुई वर्ष पहिले भुजेल दुर्घटनामा परेका थिए । दुर्घटनामा परेर तीन महिना उनी अचेत अवस्थामा थिए ।
‘फ्यामिली केयर हस्पिटल’मा नियमित उपचारपछि उनको स्वास्थ्यमा सुधार आएको थियो । तर उपचार खर्च तिर्न नसक्दा उनीविरुद्ध अस्पतालले मुद्दा हालेको थियो । दूतावासका अनुसार लामो समयसम्म अस्पतालको बसाइ र उपचार गरेर भुजेलको खर्च आठ लाख साउदी रियाल अर्थात् दुई करोड ५० लाखभन्दा बढी नेपाली रुपैयाँ खर्च भएको थियो ।
उनी एउटा कम्पनी छोडेर अर्को कम्पनीमा काम गरिरहेको अवस्थामा दुर्घटना परेका कारण कसैले पनि उपचार खर्च तिर्ने जिम्मा लिएको थिएन ।
पछिल्लो समय साउदीले आफ्नो कानुनमा सुधार ल्याउँदै कामदारले सजिलै कम्पनी परिवर्तन गर्न पाउने नियम लागू गरेको छ । तर, भुजेल गएको समयमा योे नियम लागू थिएन । यसरी एक कम्पनी छोडेर अर्को कम्पनीमा काम गर्नु त्यतिबेला अवैधानिक मानिन्थ्यो ।
उनको उपचार खर्चको बिल कसैले तिर्न नमानेपछि अस्पतालले उनीविरुद्ध मुद्दा दायर गरी नेपाली दूतावासको जिम्मा लगाएको थियो । साउदीको कानुनअनुसार कुनै पनि विदेशी नागरिकमाथि कुनै मुद्दा लागेको छ भने मुद्दा फर्छ्यौट नभएसम्म साउदी छोडेर जान पाइँदैन । त्यही भएर लामो समयसम्म भुजेल दूतावासकै सेल्टरमा बसेका थिए ।
दूतावासका अनुसार अस्पतालको बिल निकै ठूलो रकम भएको र भुजेल गैरकानुनी रुपमा त्यहाँ बसेको हुँदा त्यतिबेला रकम कसैले पनि तिर्ने अवस्था रहेको थिएन । तर बेदबहादुरलाई नेपाल पठाउने म्यानपावर कम्पनी र पहिले काम गर्ने कम्पनीसँग भनेर २५–२५ हजार साउदी रियाल बेहोर्ने गरी दूतावासले भुजेलको तर्फबाट वकिल पनि राखिदिएको थियो । त्यति गर्दा पनि दुई वर्षसम्म कुनै पनि कानुनी प्रगति भएन ।
परदेशका आफ्नो नागरिक यसरी उपचार खर्च तिर्न नसकेर एक प्रकारको ‘बन्दी’ जस्तै भएर बसेको अवस्था थियो । दूतावासले भुजेललाई नेपाल पठाउन साउदीका धेरै सरकारी निकाय धाउने काम पनि गर्यो तर केही सम्भावना देखिएन । केही नलागेपछि अस्पतालसँगै कुरा गरेर भुजेलको मुद्दा फिर्ता लगाउनुको विकल्प नदेखेपछि दूतावासले त्यही कदम अगाडि बढायो ।
‘अस्पताल व्यवस्थापनसँग निरन्तर सम्पर्कमा रही पटकपटकको भेटवार्ता र पत्राचारमार्फत भुजेलविरुद्धको मुद्दा फिर्ता लिएर नेपाल फर्काउन अनुरोध गर्यौं । अन्ततः दूतावासको अथक प्रयासको परिणामस्वरुप अस्पतालले गएको दुई हप्ताअघि अदालतमा रहेको भुजेलको मुद्दा फिर्ता लियो । त्योसँगै भुजेललाई नेपाल पठाउने बाटो खुल्यो ।’, दूतावासको सूचनामा उल्लेख छ ।
साथै, साउदीस्थित नेपाली दूतावासले त्यति ठूलो रकम मिनाहा गरी भुजेलविरुद्धको मुद्दा फिर्ता लिइ दिएकोमा ‘फ्यामिली केयर हस्पिटल’प्रति आभार व्यक्त गरेको छ ।
Facebook Comment