पर्सामा १६ करोडको गहुँ उत्पादन

डिसी नेपाल
१० वैशाख २०७८ २२:०८

पर्सा। पर्सामा यस वर्ष गहुँ उत्पादनमा वृद्धि भएको छ। जिल्लाको कूल खेतीयोग्य जग्गामध्ये २६ हजार ५०० हेक्टर क्षेत्रफलमा गहुँबाली लगाइएकामा प्रतिहेक्टर तीन दशमलब ३ मेट्रिकटनका दरले ८५ हजार ९६५ मेट्रिकटन गहुँ उत्पादन भएकोे कृषि ज्ञान केन्द्र वीरगञ्जले जनाएको छ ।

केन्द्रका अघिल्लो वर्षको तुलनामा यसवर्ष जिल्लामा रु १६ करोड २० लाख ८३ हजार १०० मूल्य बराबरको पाँच हजार २१० मेट्रिकटन बढी गहंँु उत्पादन भएको छ । किसानहरुले गहँुखेती गर्दा उन्नत जातको बीउ प्रयोग गरेको, समयमै सिँचाइ सुविधा उपलब्ध भएको र समयमै मल खाद्य उपलब्ध भएकाले गत वर्षभन्दा यसवर्ष पाँच हजार २१० मेट्रिकटन बढी गहँु उत्पादन भएको बाली विकास अधिकृत सुरेशकुमार चौरसियाले राससलाई बताए।

अघिल्लो आर्थिक वर्षमा जिल्लाका किसानले २६ हजार हेक्टर क्षेत्रफलमा गहँुखेती गरेकोमा ८० हजार ६०० मेट्रिकटन गहुँ उत्पादन गरेको थियो । सो आर्थिक वर्षमा प्रति हेक्टर तीन दशमलव एक मेट्रिकटनले गहुँ उत्पादन भएको थियो । धानखेती भन्दा बढी आम्दानी गहँुखेती गरेर लिने गरेकाले पर्सामा ८५ प्रतिशत किसान गहुँ खेतीमा संलग्न भई आर्थिक लाभ लिन थालेका छन् ।

जिल्लामा यसवर्ष किसानले विजय, एनएल ९७१ र श्रीराम ३०३ जस्ता उन्नत जातका गहुँ बाली गरेका छन् । उनीहरुले उत्पादन गरेका गहुँमध्ये ५० प्रतिशत विक्री गर्ने गरेको र बाँकी वर्षभरी आफैँ खानको लागि राख्ने गरेको बताइएको छ । जिल्लाका किसानले यसवर्ष दलहन बालीतर्फ तीन हजार ६१० हेक्टरमा मसुरो खेती गरी पाँच हजार ७७६ मेट्रिकटन उत्पादन गरेको छ भने ९० हेक्टर क्षेत्रफलमा खेसारीको खेतीगरी १६२ मेट्रिकटन उत्पादन गरेको छ ।

यसैगरी पाँच हेक्टर क्षेत्रफलमा गरिएको राजमा १४ मेट्रिकटन उत्पादन भएको छ भने १५ हेक्टर क्षेत्रफलमा गरिएको रहरखेतीबाट १५ मेट्रिकटन उत्पादन भएको केन्द्रले जनाएको छ । किसानले उत्पादन गरेको गहुँ सङ्घीय सरकारले प्रति क्वीन्टल तीन हजार १११ समर्थन मूल्यमा खरिद गर्न थालेपछि यहाँका किसान आर्थिक लाभ लिन थालेका छन् । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *