मादीमा पौडी खेल्दा युवक बेपत्ता
तनहुँ। तनहुँको व्यास नगरपालिका–५ स्थित मादी नदीमा पौडी खेल्ने क्रममा शनिबार एक युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा स्याङ्जा घर भई हाल म्याग्दे गाउँपालिका–१ गुणादी बस्ने १८ वर्षीय रमेश विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
ट्र्याक्टरमा सहचालकको काम गर्ने विक बालुवा लिन मादीमा गएका बेला पौडी खेल्न नदीमा पुगेका थिए । विकसँगै पौडी खेल्दै गरेका अर्का एक युवक बाहिर निस्किए पनि विक धेरै बेरसम्म ननिस्किएको प्रत्यक्षदर्शीले बताएका छन् ।
व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (इ) सेनाको टोलीले बेपत्ता विकको खोजी कार्य गरे पनि फेला पार्न सकेन । गणबाट खटिएका पाँच नेपाली सेनाले मादीमा विकको खोजतलास गरिरहेका छन् । रासस
प्रतिक्रिया
Facebook Comment