कोभिडले दिएको पीडा : बेहुली लिन जाने दिनमा मलामी
![कोभिडले दिएको पीडा : बेहुली लिन जाने दिनमा मलामी](https://www.dcnepal.com/wp-content/uploads/2020/08/Corona-Death.jpg)
कपिलबस्तु। एकै दिन दिदी भाइ एउटै मण्डपबाट बिहे गर्ने गरी कपिलवस्तुको बाणगंगा नगरपालिका ४ जितपुरमा केसी परिवारको घरमा रमाइलो माहोल थियो । साँझ बत्तीको झिलिमिलीले चिटिक्क देखिएको थियो। बिहेको तयारी गर्दै टेण्ट लगाएर सजाइएको माहोलमा एकाएक मौनता छायो। शनिवार बिहान भव्य तयारीका साथ जन्ती जाने साइत थियो तर परिवारका सबै सदस्य अचानक काठमाडौंतर्फ लाग्नुपर्ने बाध्यता आयो।
उनीहरु काठमाडौं हिँडेपछि बिहेको तयारी एकाएक रोकिएको छ। बिहे घरमा लगाइएको टेन्ट उतारिएको छ। जन्ती जानेका मनमा पीडा थपिएको छ। बिहेको रमाइलो माहोल सुरु हुन लाग्दा लाग्दै गर्दा कोरोना सङ्क्रमण भइ काठमाडौं उपचारमा रहेका घरको सदस्य काकाको मृत्यु भएपछि परिवार शोकमग्न भएको छ। वर्ष ५२ का मृतक जितपुरमा व्यव्साय गर्दै आएका थिए। दीर्घरोग र अन्य कुनै रोगको समस्या थिएन।
स्थानीयका अनुसार केसी परिवारको घरमा ठूली छोरी र भाइको एक पटक बिहेको तयारी भएको थियो। कोरोना सङ्क्रमित रहेका काकाको स्वास्थ्य अवस्थामा सुधार नभएपछि छोरीलाई शुक्रवार राति नै विवाह गरी दिएका थिए। शनिवार छोराको जन्ती जाने कार्यक्रम थियो। तर बिहानै उपचारका क्रममा काठमाडौमा मृत्यु भएको खबरले जन्ती जानु अगाडि मृत्युको खवर आएपछि विवाहको काम रोकिएको छ।
वाणगंगा नगरपालिकामा कोभिडको दोस्रो पटकको लहरले स्वस्थ, हट्टाकट्टा मानिसले ज्यान गुमाउनुपरेको छ। शनिवार बिहान निधन भएका केसीलाई दीर्घरोग र अन्य रोगको समस्या थिएन । उहाँको अप्रत्याशित देहान्तले कोरोनाले स्वस्थ्य मानिसलाई पनी मृत्यु गराउन सक्ने रहेछ भन्ने तथ्य उजागर गरेको छ ।
सोही नगरपालिकाका वडा नं ४ राजापानीमा होटेल संचालन गरेका ३० वर्षीय हट्टाकट्टा युवक पनि कोरोनाको कारणले ज्यान गुमाउने परेको थियो। आँखा अगाडिका घटना बाहिर आउँदा पनि स्थानीय भने सचेत भएका छैनन् । हाल कपिलवस्तुमा १२० जना कोरोना सङ्क्रमित छन्।
तीमध्ये आठ जना भेन्टिलेटर र १० जना आइसीयुमा उपचारका क्रममा रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुमा हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेले बताए। कोरोना बढ्दै जाँदा सरोकारबाला निकायले ठोस कदम चाल्न सकेका छैनन्।
यता स्थानीय सरकारले भने विपतको जोखिम कम गर्नका लागि तत्परता देखाएका छैनन्। पालिकाका मुख्य स्थानमा हाटवजार संचालनमा छन्। विद्यालयसमेत परीक्षा गर्ने भनी संचालनमा छन्। मुख्य चोकमा र बैंकहरुमा भीडभाड छ । जसले गर्दा कपिलवस्तुमा दोस्रो लहरको कोरोना फैलिन सक्ने सम्भावना देखिन्छ। यो समाचार गोरखापत्र दैनिकमा छ ।
Facebook Comment