कोरोनाका कारण विदेशमा २३ नेपालीको मृत्यु, भारतमा मात्रै २० को मृत्यु

डिसी नेपाल
१३ वैशाख २०७८ १५:४५

काठमाडौं । कोरोनाका कारण यो साता भारतमा २० जनासहित विदेशमा २३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ(एनआरएनए)अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता भारतमा २०, कुवेतमा दुई र कतारमा एक गरी २३ जना नेपालीको कोरोनाका कारण निधन भएको हो ।

एनआरएनएको स्वास्थ्य समितिका संयोजक डा.सन्जिव सापकोटाका अनुसार भारतलगायतका विभिन्न मुलुकमा बढ्दै गएको कोरोना भाइरस महामारीको प्रकोपका कारण मृत्युदर बढेको हो । भारतको नयाँ दिल्लीमा कार्यरत स्वास्थ्य समितिका सदस्य समेत रहेका अल इन्डिया इन्टिच्यूट अफ मेडिकल साइन्समा कार्यरत डा.सागर पौडेलका अनुसार भारतको नयाँ दिल्लीमा १० जना र भारतका अन्य क्षेत्रमा थप १० गरी कूल २० जना नेपालीको निधन भएको हो ।

निधन हुनेमा अधिकांश ५० वर्षभन्दा मुनिका रहेका छन् । योसँगै हालसम्म विश्वका विभिन्न २१ मुलुकमा संक्रमणका कारण तीन सय ७२ जना नेपालीको निधन भएको छ । हालसम्म मृत्यु भएकामध्ये दुई सय ४५ जना मध्यपूर्वका रहेका छन् ।

अहिलेसम्म विश्वका ५४ मुलुकमा कोभिड १९ का कारण संक्रमित हुने नेपालीको संख्या ६८ हजार ५ सय ६ जना पुगेको छ । कूल संक्रमितमध्ये ९४ दशमलव ६ प्रतिशत अर्थात ६४ हजार ७ सय ४४ जना संक्रमणमुक्त भएका छन् ।

यो साता भारत, कुवेत, कतार, युएई, रोमनीया, रुस, फिनल्याण्ड, डेनमार्क, चेक रिपब्लिक, पोल्याण्ड रहेका नेपालीमा थप कोरोना भाइरसको संक्रमण देखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *