सम्पादकीयः मर्ने हामी नै हाैं, अति भयो लापरबाही
विश्व मानव जातिको अस्तित्वमाथि नै संकट निम्त्याएको कोरोना भाइरसको चपेटामा हामी पनि पर्दैछौं, परिसकेका छौं। हामीले कोरोनको पहिलो लहर झेलिसकेका छौं। दोस्रो लहर सन्निटक छ। दैनिक ३ हजारभन्दा धेरै संक्रमित थपिएका छन्। पछिल्लो एक हप्तामा १० हजारभन्दा धेरै संक्रमित भइसकेका छन्। मृत्यु दर पनि उच्च छ। चिकित्सकहरुले पटक पटक स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरिरहेका छन्। भारतसँग सीमा जोडिएको नेपालगञ्जमा त विरामीले बेड नपाएर पेटीमै बस्नुपरेको अवस्था छ।
चैतपछि नेपालमा कोरोना संक्रमण वृद्धि दर २४ज्ञ प्रतिशत रहेको विज्ञहरुले बताएका छन्। कोरोनाको पहिलो लहरभन्दा कयौं गुणा घातक र संक्रामक रहेको ‘बेलायती भेरिअन्ट’को कोरोना भाइरस नेपालमा पुष्टि भइसकेको छ। त्यसैले पहिलो लहरमाभन्दा यो दोस्रो लहरमा अझ धेरै क्षति व्यहोर्नुपर्ने देखिएको छ।
छिमेकी मुलुक भारतका अस्पतालहरुमा अक्सिजन नहुँदा विरामीहरुको मृत्यु भएको र मशान घाटमा जल्नका लागि शवले पनि पालो पर्खिनुपरेको हृदयविदारक संकट देखिएको छ। हाम्रोभन्दा राम्रो स्वास्थ्य संरचना भएको र आवश्यक पर्दा आयात गर्न सक्ने क्षमता रहेको भारतमा देखिएको मानवीय संकटले हाम्रो भविष्यतर्फ स्पष्ट संकेत गरेको छ। हामी गम्भीर संकटको सन्निटक छौं।
हो, हामी गम्भीर संकटको सन्निकट छौं। तर, हामीले यो संकटबाट पार पाउनुछ। आफू बच्नु छ, आफन्तलाई बचाउनु छ, र समग्र सबैलाई बचाउन योगदान दिनुछ। अब हामीले बच्नुपर्छ भनेर नहुने भएको छ। गरेरै देखाउनुपर्ने अवस्था आएको छ। अब स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्नुको विकल्प हाम्रा सामु छैन।
संक्रमित भएपछि अस्पतालसम्म पुग्नु र उपचार पाउनु दोस्रो कुरा हो। संक्रमण नै हुन नदिनु नै हाम्रो जिम्मेवारी हो। सरकारका निकायहरुले धमाधम विभिन्न जिल्लाहरुमा निशेधाज्ञा जारी गरिरहेका छन्। देशको राजधानी काठमाडौंमा आगामी बिहीबारबाट लागू हुनेगरी निशेधाज्ञा जारी भइसकेको छ। दलहरुले स्वास्थ्य मापदण्ड लागू गर्न अपील गरिसकेका छन्। अब जिम्मेवार बन्नुपर्ने हामी आफैले हो।
हामी आफैले स्वास्थ्य मापदण्ड पालना गरेनौं भने हामीले हाम्रै आफन्तमा कोरोनाको भाइरस उपहार दिने छौं। हुन सक्छ, हामीले क्षति व्यहोर्नुपर्ने। कामना गरौं यस्तो स्थिति नआओस। स्वास्थ्य मापदण्ड पालना गर्न प्रतिवद्ध भएनौं भने कामनाले कोरोनाको सामना गर्न सकिँदैन।
अमेरिकी एक संस्थका अनुसार नेपालमा आगामी तीन महिनामा २ लाख संक्रमित हुन सक्छन्। र दैनिक १५० जनाको मृत्यु हुन सक्छ। त्यो पनि अहिलेकै अवस्था रहे। अहिलेभन्दा अवस्था खराब भए यो प्रक्षेपणभन्दा धेरै संक्रमित हुनेछन्। यो प्रक्षेपणलाई गलत सावित गर्न हामी जिम्मेवार भएर स्वास्थ्य मापदण्डको कडा पालना गर्नुको विकल्प छैन। विज्ञहरुले मास्कको प्रयोग सबैभन्दा अचुक भनेका छन्। त्यसैले अब हामीले मास्कको प्रयोगलाई कडाइका साथ पालना गरेर जिम्मेवार बन्नुपर्ने बेला आएको छ।
नजिकका, चिनेका, आफन्त वा सहकर्मीप्रति देखाउने हाम्रो सानो लापरबाहीले उनीहरुबाट कोरोनाको भाइरस लिन पनि सक्छौं, दिन पनि सक्छौं। त्यसैले आफन्तहरुसँग भेट्दा पनि मास्क लगाउन नभुलौं।
हामी जिम्मेवार भए सरकारलाई पनि प्रश्न गर्न पाउने छौं। राजनीतिक दलहरुलाई पनि प्रश्न गर्न पाउने छौं। हालसम्मको अवस्था हेर्दा सरकार, दल, नेता कसैले पनि आ आफ्नो जिम्मेवारी पूरा गरेको देखिँदैन। तथापी हामीले पनि जिम्मेवारी पूरा गरेका छैनौं। अथवा ‘हामीलाई केही हुँदैन, जे हुने हो अरुलाई हुन्छ’ भन्ने गम्भीर धारणा हाम्रोमा जरा गाडेर बसेको छ। हामीले यो जरा काट्नैपर्छ। अनिमात्र हामी पनि बाच्ने छौं, हाम्रालाई पनि बचाउने छौं।
Facebook Comment