दुई अध्यादेश पारित, दुई विधेयक टेबुल

कर्णाली। कर्णाली प्रदेशसभाको सातौँ अधिवेशनको दोस्रो बैठकबाट दुई अध्यादेश सर्वसम्मत पारित भएका छन् । दुईवटा विधेयक भने प्रदेशसभामा टेबुल गरिएको छ ।
प्रदेशसभाको सोमबार बसेको बैठकमा सभामुख राजबहादुर शाहीले अनुमति दिएसँगै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले प्रशासकीय कार्यविधि नियमित गर्ने पहिलो संशोधन अध्यादेश, २०७७ र प्रदेश लोकसेवा आयोग दोस्रो संशोधन अध्यादेश २०७७, स्वीकृत गरियोस् भनी सभासमक्ष प्रस्ताव गरेका थिए। प्रस्तावित दुवै अध्यादेश सभाबाट सर्वसम्मत पारित भएका छन् ।
कानूनमन्त्री भण्डारीले प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७ सभासमक्ष टेबुल गरे। सामाजिक विकासमन्त्री विमला केसीले पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालयसम्बन्धी स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक, २०७६ सभासमक्ष टेबुल गरिन्।
त्यस्तै, सामाजिक विकास समितिका अध्यक्ष देवी ओलीले कर्णाली प्रदेशको स्वास्थ्य सेवा प्रवाह सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ माथि संशोधन प्रस्ताव पारित भएको छलफलको प्रतिवेदन पेश गरेकी थिइन्।
बैठकको विशेष समयमा नेकपा एमाले प्रदेशसभा दलका नेता यामलाल कँडेलले सरकारलाई जनभावनाअनुरुप अगाडि बढाउने मामिलामा सहयोग रहने बताए। वैशाख ३ गतेको घटनालाई स्मरण गर्दै उनले कतिपय प्रदूषित कुराले नेकपा एमाले राष्ट्रव्यापी चर्चाको विषय बनेको र कर्णालीमा घटित घटना राजनीतिक अपराध भएको टिप्पणी गरे।
प्रदेशसभा काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कर्णालीमा कोभिडको भयावह अवस्था देखापरेको जनाउँदै यसको व्यवस्थापनमा सरकारले ढिला गर्न नहुनेमा जोड दिए।
त्यसैगरी, प्रदेशसभा सदस्यद्वय ठम्मर विष्ट र पद्मा खड्काले कोरोनासँग सम्बन्धित चिकित्सकहरुको अभाव रहेको औँल्याउँदै प्रदेश सरकारले समन्वयको भूमिकालाई प्रभावकारी बनाएर लैजानुपर्ने सुझाव दिएका थिए। रासस
Facebook Comment