गरे के हुँदैन ? फोहोरको डङ्गुर हुने ठाउँमा सुन्दर पार्क
काठमाडौं। बाटोको बायाँ तिर राधाकृष्ण र गणेशको मूर्ति। दायाँ तर्फ ठूलो बुद्धको मूर्ति। बुद्धको मूर्तिको दायाँतर्फ मानव निर्मित झरना। बायाँतर्फ पहाड। ठूलो रुखको फेदमा रहेका बुद्धको पछाडितर्फ विद्युत प्राधिकरणको ट्रान्सफरमर।
बुद्ध बसेको स्थानभन्दा एक स्टेप तल हरियाली दुबो, विभिन्न फूलहरु, जंगली जनावरका आकृति पनि। छेउछाउमा फलामका बेञ्चहरु, चउरको बीचमा सडकजस्ता धर्साहरु, यस्तो लाग्छ कुनै ठूलै जंगलमा प्रवेश गरेका छौं, जहाँ बुद्धले ध्यान गरिरहेका छन् जंगली जनावरले उनको रक्षा।
नजिकैको चिया पलसमा चिया खानेहरुले पनि पार्कभित्रको दृष्यबाट आफ्नो आँखालाई हटाउन सकिरहेका थिएनन्। आउने जानेको आँखा पनि पार्क भित्र नै हुथ्यो। कतिपय त एकछिन आफू आएको सवारी रोकेर पार्कभित्र प्रवेश गर्दै थकानको भारी बेच्नमा बिसाउँथे। आफूसँग आएको थकान, तनाव र अन्य नकरात्मक उर्जा बुद्धको शरणमा छोडेपछि खुसी मुद्रामा बाहिरिन्थे।
माथि वर्णन गर्न खोजिएको दृष्य कुनै चलचित्रको होइन। यो दृष्य त बनेपा–धुलिखेलको २८ किलो चोकबाट काठमाडौं विश्वविद्यालय जाने बाटोमा पर्ने बखुण्डोल बुद्ध पार्क हो। नगरपालिकाको ‘पार्कैपार्कको शहर धुलिखेल’ बनाउने सपना अनुसार स्थानीयले सार्वजनिक जग्गा उपयोग गर्दै बनाएको पार्क हो यो।
राज्यसत्ता सञ्चालकहरुको दूरदृष्टिका कारण समाज कसरी रुपान्तरण हुन्छ भन्ने उदाहरण हो धुललिखेल नगरपालिका। ६५ वटा ठूला तथा साना पार्कहरुको अवधारणा ल्याएको नगरपालिकाले अहिल करिव ३५ जति पार्क निर्माण गरेको छ। धुलिखेल नगर भित्रका ठूला तथा साना पार्कहरुले त्यहाँ अन्तरिक तथा वाह्य पर्यटकलाई आर्कषण गरिरहेका छन्।
‘यहाँ फोहोरको डङ्गुर हुन्थ्यो हजुर। अहिले यो पार्क बनेको छ। हामीलाई पनि कहिले कतै अर्कै ठाउँ पो हो कि झैं लाग्छ,’ पार्र्कभित्र भेटिएका खैब लामाको मुहारमा कान्ति थियो, ‘अहिले मन शान्त छ। नसोचेका ठाउँमा पार्क निर्माण भएको छ। त्यो पनि यति राम्रो।’
नसोचेको ठाउँमा पार्क बनेको भनेपछि हामीले त्यसपछिको कथा बुझ्ने कोशिस गर्यौं। आफ्नो पारिवारिक कथासहित त्यो ठाउँको बारेमा पनि कथा सुनाउन थाले खैब लामाले। उनका अनुसार २०५० को दशकपछि काठमाडौं विश्वविद्यालय जाँदा दाइने तर्फ पर्ने उक्त पार्कको सेरोफेरामा बस्ती बसेको हो।
‘गएको लकडाउनमा अरुले के के गरे थाहा भएन,’ खैब लामाले भन्दै थिए, ‘हामीले पार्क बनायौं। यो बिजुलीको पोलमा फोहोरको डङ्गुर हुन्थ्यो। मेरो घर त उ त्यहाँ पर्छ, त्यति गन्हाएन, यहाँ वर पर बस्नेहरुले भनेको सुन्दा पनि अहिले कहानी सुनाए झैं लाग्छ। ट्रान्सफरमर बिग्रियो भने पनि बनाउन कोही आउँदैन थिए। यहाँको फाहोर देखेर। बाटो पनि त्यस्तै थियो। अहिले जति राम्रो बनेको छ नि त्यो त हामी आफैंले बनाएको हो।’
बाटो राम्रो नभएपछि नगरपालिकामा गएको उनले सुनाए। पहिला–पहिला पनि जाने गरेको तर, कसैले नसुनेको भन्दै लामाले भने, ‘अहिलेको मेयरसाबले बजेटमा बाटो बनाउन भन्नुुभयो। हुन त हामी उपभोक्ताले नै काम गर्दै जाँदा ६० प्रतिशतको बजेट बनायौं। नत्र नगरपालिकाले ६० प्रतिशत दिएर यो बाटो बनेको हो।’
बाटोको उद्घाटन गर्न आएका नगरप्रमुखले स्थानीयको काम देखेपछि खुसी भएर १० लाख रुपैयाँ बोनस दिएको लामाको भनाइ छ। लामाले भने, ‘बाटोको उद्घाटनमा बोलायौं। आउनु भयो। हाम्रो काम देखेर खुसी हुनुभयो र १० लाख दिने घोषणा गर्नु भयो।’ बाटोको दुबैतिर जग्गा खाली देखेपछि नगरप्रमुखले पार्क बनाउने सल्लाह पनि दिएको र उक्त सल्लाह अनुसार स्थानीयको सक्रियतामा पार्क निर्माण भएको लामाको भनाइ छ।
‘नगरपालिकाको अहिलेको टिम साह्रै राम्रो छ हजुर,’ लामाको कुरा सकिएको थिएन। ६० बसन्त पार गरेको बताउने लामा सानोमा पेन्टिङ गर्दा रहेछन्। पछि धुलिखेलमा होटल राखे जीवनका धेरै आरोह अवरोध पार गरेका लामाले धेरै सरकार पनि देखे। स्थानीय सरकारका प्रमुख र जिल्लामा प्रमुख भएर जानेसबैसँग राम्रै चिनजान भएको लामाको अनुभव छ।
‘म न एमाले पार्टीको मान्छे। न त कांग्रेस। हामी जतालाई विकास चाहिएको हुन्छ। शिक्षा, स्वास्थ्य, खानेपानी चाहिएको हुन्छ,’ लामाले जनताको तर्फबाट गरिएका अपेक्षा र शासकहरुको व्यवहारको फेहरिस्त सुनाए। ‘धुलिखेल नगरपालिकाको अहिलेको टिमले सबै काम गरेको छ। वडा अध्यक्ष, सदस्यदेखि नगरपालिकाको अहिलेको टिमलाई हामीले पार्टी नहेरी पुनः अर्को कार्यकाल दिनुपर्छ। अनि हेर्नुहोस् धुलिखेलको मुहार।’
Facebook Comment