हामी कोरोनाको दर्दनाक महामारीको नजिक छौं !
काठमाडौं। कोरोना महामारीले विश्व त्राहीत्राही भएको छ। भारतमा आएको दोश्रो लहरले जनजीवन अस्तव्यस्त भएको छ। संक्रमित भइसकेपछि बाँच्ने रहरले पनि स्थान पाएको छ। दिनभरी एम्बुलेन्सको घुमाइ, साँझ परेपछि स्वर्गतिरको यात्रा। सुन्दा जति अप्ठेरो छ, देख्दा र भोग्दाको पीडा अनुमान बाहेक गर्न सकिँदैन।
भारतमा रहेका धेरै नेपालीहरुले त्यो समस्या आफ्नै आँखाले देखेका छन्, भोगेका छन। भारतस्थित डिसी नेपाल प्रतिनिधि भरत पौडेलले त्यहाँको अस्पतालको अवस्थाबारे नर्ससँग कुराकानी गरेका छन्। हामीले बाहिरबाट देखेका दर्दनाक भिडियो र तस्वीरहरु वास्तविक कथा पूजा कार्कीले बताइन्।
सुदूरपश्चिमबाट भारत पुगेर अस्पतालमा काम गरिरहेकी पूजा नेपाल सरकारलाई कडाइका साथ लकडाउन गर्न अनुरोध गर्छिन्। भारतमा भएका नेपालीलाई घर नफर्किन पनि उनको अनुरोध छ। उनी भारतबाट नेपाल आउँदासम्म लामो समय लाग्ने र भारतमा गरेको पिसीआर रिपोर्टपछि पनि सामाजिक सम्पर्कमा आइने भएकाले नेपाल पुग्दासम्म संक्रमित हुनसक्ने बताउँछिन्।
‘अनिकालमा बिउ जोगाउनु, महामारीमा जिउ जोगाउनु’ यो कथन जस्तै यो महामारीमा आफ्नो र आफ्नाको जीवन रक्षाका लागि आवश्यक कदमहरु चाल्न सबैले सुरुवात गर्नु पर्छ।
पूजाका अनुसार भारतको हस्पिटलभित्र विरामी राख्ने ठाउँछैन, मसानघाटमा जलाउनका लागि लगिएका शवहरुले पालो पाएका छैनन्, एम्बुलेन्समा दिनभरी अस्पताल चाहर्दै घुमेको विरामीले साँझसम्म स्वर्गको यात्रा तयारी गरिसक्छन्, यस्ता दर्दनाक सूचनाहरु सुनाइँरहँदा नेपालको भविश्य आखाँमा आउँछन्।
पूजाले भने जस्तै हामीले आफू र आफ्नाका लागि बेलैमा सोच्नेबेला आएको छ। म सुरक्षित हुन्छ र सुरक्षित गराउँछु भन्ने दृढ संकल्पका साथ लागेको खण्डमा भारतको जस्तो तस्वीर नेपालमा देख्न र भोग्न पर्ने छैन। शवहरुले जल्नका लागि पालो कुर्नुपर्ने दिन आउने छैन। विरामीले दिनभरी एम्बेन्सको यात्रामा निस्केर अस्पतालको गेट चाहार्नु पर्ने छैन।
दिल्लीका मुख्यमन्त्री अरविन्द्र केजरीवालले पनि जनताको नाममा सन्देश जारी गरेका छन्। उनले सन्देशमात्र जारी गरेनन्, त्यहाँ सरकारको कार्यविधि पनि प्रस्तुत गरेका छन्। उनले जारी गरेको कार्यविधि लागु गरेको अवस्थामा नेपालले भारतको जस्तो दर्दनाक अवस्थाबाट अगाडी बढ्नु पर्दैन।
केजरीवालले सार्वजनिक रुपमै घरैमा बस्न भनेका छन्। उनले सबैलाई आस्वासन दिएका छन्, ‘यदी तपाईँहरु संक्रमित हुनु भयो भने घरमै बस्नुन्। सरकारले तपाईँलाई फोन गर्छ वा भेट्छ। अस्पताल ल्याउनै पर्ने अवस्था भए ल्याउछ सरकारले उपचार गर्छ होइन भने दिनमा दुई पटक सरकारको प्रतिनिधित्व गर्दै स्वास्थ्यकर्मी घरमै पुग्नेछन्। तपाईको केयर गर्ने छन्।’
नेपालमा पनि सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड अपनाउँन पटकपटक स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ। हामीले १ वर्षको लामो समयमा कोरोनाको अवस्थाको बारेमा बुझेका छौं अध्ययन गरेका छौं। जनस्वास्थ्यकर्मीहरुले पनि स्वास्थ्यमापदण्ड अपनाउन अनुरोध गरेका छन्।
जनस्वास्थ्यकर्मी टेकबहादुर थापा विशेषगरी स्वास्थ्यका मापदण्ड नअपनाए भारतको अवस्था नेपालमा आउँदैन भन्न नसकिने बताउँछन्। उनका अनुसार विश्वभरीनै स्वास्थ्यको मापदण्ड प्रभावकारी देखिएकोले यसको कुनै पनि विकल्प छैन।
‘हामीले कोरोनाको सुरुवातिदेखि नै अध्ययन गर्दै आएका छौं।’ थापाले भने, ‘सबै ठाउँमा स्वास्थ्यको मापदण्ड नै प्रभावकारी देखिएको छ। हामी सबैले स्वास्थ्यको मापदण्ड मेरो पहिलो कतव्र्य हो भन्ने तरिकाले बुझेको खण्डमा भयावह अवस्था नआउन सक्छ। अन्यथा भारत र अन्य देशहरुमा भएजस्तो दर्दनाक अवस्थाको लागि तत्पर रहे हुन्छ।’
भीडमा जाँदै नजाने, घर बाहिर हिँड्दा पनि मास्क अनिवार्य लगाउने, कुनै वस्तु हातले छोएपछि सेनिटाइजर गर्ने, समयसमयमा साबुन पानीले हातधुले लगायतका कुरालाई दैनिकी र बानीको रुपमा विकास गर्न सकेको अवस्थामा कोरोनाको दर्दनाक महामारीबाट बच्न सकिने थापाको भनाइ छ।
Facebook Comment