अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पका निजी वकिलको निवासमा छापा
वासिंगटन डिसी । अमेरिकाको संघीय सरकारका अनुसन्धानकर्ताहरुले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका अति विश्वासपात्र एवं उनका निजी वकिल रुडी जुलियानीको एउटा अपार्टमेण्टमा छापा मारेका छन् ।
विदेशीसंग खासगरी युक्रेनसंग नाजायज सम्बन्ध राखी आफ्नो मुलुकलाई हानी पुर्याएको आरोपमा अप्रिल २८ तारिक बुधबार उनको न्यूयोर्कको म्यानह्याटनमा रहेको एउटा निवास(अपार्टमेण्ट)मा छापा मारिएको हो । न्यूयोर्क टाइम्सले प्रकाशित गरेको समाचारअनुसार, सन् २०१९ मा युक्रेन र अमेरिकाको सम्बन्धमा उतार चढाव आएका बेला त्यहांका अधिकारीहरु र शासकहरुसंग देशको हितविपरीत गोप्यरुपमा सम्बन्ध कायम गरेको आरोप जुलियानीमाथि लागेको छ । युक्रेनको यो समूह अमेरिकामा तत्कालीन राष्टपति डोनल्ड ट्रम्पका विपक्षीहरुमाथि नभएका कुराहरु वाहिर ल्याई हिलो छ्याप्ने र बद्नाम गर्ने अभियानमा लागेका थिए । र, सो समूहको एउटा निशानामा बर्तमान राष्ट्रपति जो वाइडेन पनि थिए ।
समाचारअनुसार, न्यूयोर्कको एक अदालतले दिएको आदेशअनुसार, जुलियानीको निवासमा छापा मारिएको थियो । छापामार्ने क्रममा जुलियानीको निवासमा भएका इलेक्ट्रोनिक्स डिभाइसहरु जफत गरिएका छन् । तर, ती डिभाइसहरु के के हुन् र तिनमा के के कुरा छन् भन्नेबारे स्पष्ट भएको छैन ।
Facebook Comment