मनाङेको फड्कोः अपराध कर्मदेखि मन्त्रीसम्म

डिसी नेपाल
१६ वैशाख २०७८ २१:४७

काठमाडौं। अपराधिक पृष्ठभूमिबाट राजनीतिमा लागेको व्यक्ति हुन कोलम्बीयाका पाब्लो एस्कोबार। उनी लागुऔषध कारोबारबाटै राज्य सत्तामा पुगेका व्यक्ति हुन्। उनको अपराधिक सत्ता यति लामो रह्यो कि जब उनी मारिए त्यसपछि पनि अपराधी जत्थाले राजनीतिमा लामो समयसम्म सोझो पहुँच बनाइरहे।

आपराधिक क्रियाकलापबाट धन र शक्ति आर्जन गरेका एस्कोबार कोलम्बियाको सत्तामा पकड बनाउन सफल मात्रै भएनन् राजनीतिको नशामै पुगेर आफूलाई शक्तिशाली बनाइरहे। कोकिन कारोबारबाट विश्वका धनाढ्यहरूको सूचीमा आठौ नम्बरमा रहेका विश्वकै सबैभन्दा धनाढ्य अपराधीका रूपमा आफूलाई परिचय दिए।

भनिन्छ उनी सांसद भएपछि कोलम्बीया कसलाई राष्ट्रपति बनाउने भन्नेबारेमा उनी निर्णायक बन्थे। कालन्तरमा एस्कोबार जस्ता अपराधी राजनीतिमा हावी हुँदा कोलम्बियाको राजनीति नै संकटमा पर्यो।

राजनीतिमा अपराधीहरूको सोझो प्रवेशले समाजमा नकारात्मक असर परेको उदाहरण छिमेकी मुलुक भारतलाई पनि लिन सकिन्छ। कुनै बेला भारतको बिहारमा राजनीतिमा अपराधीहरूको प्रभाव कतिसम्म बढ्यो भने हत्या, लुटपाट र अपहरणमा संलग्नहरू मन्त्री हुन्थे। अहिले त्यसको प्रभाव नेपालमा विस्तारै परिरहेको छ। राजनीतिमा गुण्डाहरुले आफूलाई सुरक्षित राख्ने थलोको रुपमा विकास गर्दै लगेको देखिन्छ। नेपालमा पनि यस्तो उदाहरण बन्दै गएको छ।

दीपक मनाङेका परिचित राजीव गुरुङ प्रदेश मन्त्री बनिसके। विजय गच्छदारको पार्टीबाट गणेश लामा दुई पटक निर्वाचनमा भाग लिए, अहिले नेपाली कांग्रेसमा छन्। मिनकृष्ण महर्जन परशुराम बस्नेतहरु अहिले क्रमशः नेपाली कांग्रेस र नेकपा एमालेको राजनीतिमा छन्। दिनेश अधिकारी चरी एमालेमा थिए। राधे भण्डारी तरुण दलतिर छन्। अन्य गुण्डाहरु पनि राजनीतिकै छहारीमा छन्।

कुनै बेला प्रहरी अधिकारीको नजर गुन्डागर्दीका नाइके रहेका दीपक मनाङेको गतिविधिमाथि पर्थ्यो। अहिले अवकाश पाइसकेका दर्जन भन्दा बढी प्रहरी अधिकारीहरुले उनलाई पक्राउ गरेर अपराधका दर्जनौ मुद्दा लगाए। सार्वजनिक अपराध, कुटपीट, हत्या, कर्तव्य ज्यान, तथा ज्यान मार्ने उद्योग जस्ता मुद्दा खेपेका मनाङे विहीबार गण्डकी प्रदेशको युवा खेलकुद मन्त्री नियुक्त भएका छन्।

दर्जनौ मुद्दा खेपेका र फौजदारी अभियोगमा जेल सजाय भोगेका दीपक मनाङेलाई गण्डकी प्रदेशको एमाले नेतृत्वको सरकारले युवा खेलकुद मन्त्री बनाएको छ। मनाङको प्रदेश (ख)बाट प्रदेशसभामा एक हजार चार सय १० मत ल्याएर स्वतन्त्र उम्मेदवारमा विजयी भएका मनाङेलाई विहीबार प्रदेश मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो मन्त्रिपरिषदमा मन्त्री नियुक्त गरेका हुन्।

लामो समय गुण्डागर्दीमा संलग्न रहेका मनाङेलाई गत २०७४ सालको प्रदेश सभाका लागि शुरुमा एमालेबाट निर्वाचन लड्न खोजेका थिए। तर एमालेभित्र व्यापक विरोध भएपछि उनी स्वतन्त्र रुपमै निर्वाचनमा भाग लिए। त्यसबेला उनले प्रतिस्पर्धी कर्म गुरुङलाई हराएका थिए। कर्म गुरुङको एक हजार २० मत आएको थियो। मनाङेलाई २०७६ असारमा मुख्यमन्त्री गुरुङले पार्टीमा स्वागत गरेका थिए।

गुण्डागर्दीमै चर्चा कमाएका मनाङेको अपराधकर्मको यात्रा ठमेलबाट सुरु भएको थियो। ठमेलका दुई गुण्डाहरु चक्रे मिलन र मनाङे आफ्नो आफ्नोतर्फबाट फरक फरक क्षेत्रबाट गुण्डागर्दीमा संलग्न भए। चक्रे मिलन शुरुदेखिनै एमालेसँग निकट थिए भने मनाङे कांग्रेस, राजावादी, संघीय समाजवादी हुँदै एमाले प्रवेश गरेका हुन्।

०६० साल पुस ११ गते चक्रे मिलनलाई धारिलो हतियार प्रयोग गरेको अभियोगमा मनाङे पक्राउ परेका थिए। त्यसयता जेल बसेर छुटेपछि उनी ०६५ साल फागुन र ०७० साल फागुनमा पक्राउ परेका थिए। ०७० सालमा सेनाका मेजरलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका मनाङेलाई तत्कालीन काठमाडौंका प्रमुख जिल्ला अधिकारीले ६ महिना कैद सुनाएपछि अदालतमा मुद्दा चल्दा एक वर्ष थप कैद सजाय सुनाएको थियो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७० जेठ ५ गते मनाङेसहित पाँच गुन्डाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा चलाएको थियो।

विभागले मनाङेसँग अवैध रुपमा कमाएको १४ करोड ७३ लाख ३१ हजार रुपैयाँ सम्पत्ति रहेको दाबी गरेको भए पनि उनको सबै सम्पत्ति वैध बनाइदिएको थियो। ०५०/५१ सालतिर ठमेलमा मनाङका मानिसले होटल तथा रेस्टुरेन्ट खोल्न थालेपछि ठमेलमा उनले शुरु गरेको गुण्डागर्दीलाई प्रदेश सांसद रहेकै बेला २०७६ माघमा एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेपछि पक्राउ परेका थिए। गुरुङलाई कुटपीट गरेको आरोपमा पक्राउ परेर ६ हजार धरौटीमा छुटेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *