उद्धारमा खटिएर स्वार्थीहरुको निगरानी गर्दा
अहिले धरहरा थपक्कै उठेको छ, जस्ताको त्यस्तै भएर। उठेको धरहरालाई हेरेर जीवनमा रहरहरु जागेका छन्, अव जस्तो सुकै समस्या र महामारी पार गर्न सकिन्छ भन्ने विश्वास बढेको छ।
त्यो बेलाको कुरा अर्कै थियो, अचानक भूकम्प आएको थियो, को कता के भए, को कता परे केही पत्तो थिएन। यसबीचमा देशी विदेशी स्वार्थीहरुको खेला उत्तिकै र पत्तै नहुने गरी नेपाली भूमिमा एक्कासी बढेका थिए। म उद्धारमा खटिएको थिएँ र सँगसँगै विदेशी र स्वदेशी स्वार्थी तत्वहरुको निगरानी र नियन्त्रण पनि उस्तै तदारुकतासाथ गर्नुपर्ने थियो।
धरहरा ढलेर जमिनभरि असरल्ल पोखिँदा २०७२ सालको भूकम्पमा सवा ३ करोड नेपालीहरुको स्वभिमान भाँच्चिएको थियो। नजिकैको कार्यालय र सरकारी निवास शशिभवन पूर्णरुपमा क्षतिग्रस्त हुँदासमेत धरहराको मायाले छटपटाइरहेका थिए तत्कालीन प्रधानसेनापति । विदेशमा बस्ने नेपालीहरुले स्वदेशीभन्दा धेरै पीर गरेको मनोविज्ञान बुझाउँथ्यो।
सोसियल मिडियको पोष्ट र प्रयोगले नेपालकै अनगिन्ती दुरदराजमा बसोबास गर्ने र काठमाडौं पुगेर धरहरा हेर्ने प्रबल सदिक्षा सोचेर राख्ने दुर्गमभेगीहरुले त्यो पुरानो धरहरा देख्नै पाएनन्। सपना अधुरो रह्यो। एकदिन फुर्सदमा धरहरामाथि चढेर सहर र वरिपरिको हरियो प्रकृति हेरौँला भन्ने पंक्तिकारको चाहनासमेत अधुरै रह्यो।
पुरानो ऐतिहासिक सुन्दर धरहरा जंगीअड्डा अगाडि पर्वतजस्तो थुप्रिएर बसेको छ। मानिसहरुले भत्किएर थुपारिएको धरहराको पर्वतभित्र हिरा सुन चाँदी पाइन्छ भनेर धुइपत्ताल खोतलेर खनतलास गरे। नेपाली इतिहास र संस्कृतिको प्रतिक धरहराको इटा धरी छाडेनन्।
आफन्त बितेका छन्, बास भत्किएको छ। परिवार सम्पर्कबिहिन छन्। तर सबैको मुखमा ‘ला धरहरा भत्कियो’ भन्ने त्रास, पराजय र गहिरो पीडाको मनोविज्ञान देखिन्थ्यो। पंक्तिकारको सरुवा जंगीअड्डामा थियो। भूकम्पसँग होइन शनिबारसँग चित्त दुख्यो। लाग्यो—अरु बार भइदिएको भए जंगी अड्डाका हामी सकल दर्जा गएर नजिकैको धरहरलाई चारैतिबाट टेको दिने थियौँ।
गर्लम्मै ढल्नबाट सायद जोगाउने थियौँ। अग्लो धरहराको टुप्पाबाट हाम फाल्ने मान्छेहरुलाई ठूलो तन्ना थापेर जिउने अवसर भगवानसँग मागिदिने थियौँ। त्यो हाम्रो प्यारासुट नखुलेको मानिसलाई भुईंमा कपडा थापेर बचाउने अन्तिम उपाय हो। तर यी सबै एउटा सचेत र चनाखो उद्दारकर्मीको मनको योजना मात्र हो।
अरुको उद्धारमा जुट्ने नेपाली सेनाको एउटा पोष्ट लाङटाङ भ्यालीमा हातहतियारसहित पुरिएको आजसम्म फेला परेको छैन। हिमालको उपद्रव र क्षति अनुमान लगाउन यो एउटा दह्रो प्रमाण हो। रसुवागढीमा भन्सार कार्यालय पहिरोले दिएन। गणपति लक्ष्मण थापाको निषेधाज्ञा तोड्दै मिनेटमिनेटमा ओइरिरहेको ठूलाठूला पत्थरै पत्थरको पहिरा छल्दै आफू सिमानामा पुग्दा पुरिएका कर्मचारीहरुलाई जीवित फेला पार्न सकिनँ।
व्यबहारमा गर्न सक्ने काम ज्यादै थोरै र सीमित हुँदो हो। कठिन र जोखिमपूर्ण घडीको त्यही प्रतिकात्मक र निर्णायात्मक क्षमताले उद्धारकर्मीहरुलाई पराक्रमी बनाउने हो त्यसैले असल र सफल उद्धारकर्मी हुन हामीले यस्तै दुर्लभ अवसरहरुको खोजी गरिरहनुपर्छ।
१३ गते आइतबार जंगी अड्डाले मेसिनभन्दा छिटो काम गरिरहेको थियो। आफ्नो ऐतिहासिक प्राचीन हेडक्वार्टर चिराचिरा परेर भत्किएपछि प्रधानसेनापतिको निर्देशनमा बिना विलम्ब पालहरु खडा गरेर हेडक्वार्टर सारिसकिएको थियो।
सबै पालभित्र क्षतिको विवरण, उद्धारको आवश्यकता, उद्धारलाई प्राथमिकता, उद्धार सामग्री र उद्धारकर्मीलाई स्ट्यण्डबाई राख्ने कामको पसारोले थिचेको देखिन्थ्यो। कार्यालय र निवास दुवै गुमाएका प्रधानसेनापतिको मनोविज्ञानमा आफ्नो होइन राष्ट्रिय उद्धारको चिन्ता र दृढ इच्छाशक्ति मडारिएको देख्न सकिन्थ्यो। छिनछिनमा उद्धारको नतिजा र परिणम खोज्ने उहाँको हुटहुटीले कसैको ज्यान नजाओस भन्ने पुकारलाई जाहेर गरिरहन्थ्यो।
धरहरा ढलेको नपत्याउनेहरु उतैतर्फ कुदिरहेको देखिन्थ्यो। सबैले घरको चौर बगैचाबाट हेरेर खोई धरहरा भनेको सुनिन्थ्यो। तर घरको बरण्डा र कौसीमा धरहरा हेर्न र ढलेको यकीन गर्न जानसक्ने अनुकुल स्थिति थिएन। पराकम्पनका धक्काहरुले मानिसलाई खुल्ला चौरमा बन्दी बनाएको थियो। धरहरा ढाल्ने महाभूकम्पले चाहिनेभन्दा बढी त्रसित तुल्याएको थियो।
शक्तिशाली आक्रमणकारीसँग नडराउने बहादुर नेपालीलाई ढलेको धरहरासँगै पराजित मनोबिज्ञानले गाँजेर शिथिल बनाएको थियो। एकदिन पछारिएको धरहरालाई लामबद्ध सिपाहीहरुले ढोगेको देखेँ। सायद त्यही माया र सम्मान गरे होलान धेरै नेपाली सम्पदाप्रेमी जनताहरुले। नेपाल र नेपालीको मन र मुटुमा खडा धरहरा लैजाने त्यो महाभूकम्प त्यसैले गर्दा अविस्मरणीय हुन गयो।
सखाप पारेको हिमालमा उद्धार
संयोगले दुर्लभ अवसर जुरायो। आफू ‘केन्द्रीय उद्धार इन्चार्ज’ तोकिएँ। उद्धारको प्राथमिकता स्वभावत हिमालले पायो। हामीले भत्किएको धरहरा अरुलाई बुझाएर गगनचुम्बी अग्ला हिमालभित्र पस्यौँ।
एकदिन प्रधानसेनापतिसँग पाल बाहिर जम्काभेट भयो। पंक्तिकारले जाहेर गरेँ‘ महाभूकम्प अग्ला हिमालमा आएको हो। काठमाडौंलाई केवल हिमालको धक्काले छोएको मात्र हो।’
एकदिन क्याप्टेन टपेन्द्र रावल आफूसमक्ष आए र हिम्मत देखाउँदै भने ‘सर, मलाई सबैभन्दा कठिन र जोखिमपूर्ण उद्धारकार्य दिनुहोस्। सबैभन्दा धेरै पीडितहरुको उद्धार गर्न पाऊँ।’
मनास्लु, लामटाङ, गौरीशंकर अत्याधिक प्रभावित थिए। भूकम्पको धार उत्तर दक्षिणभन्दा पनि पूर्वपश्चिम हिमालै हिमाल दगुरेको देखेर आफूलाई आश्चार्य लागेको थियो। पश्चिममा धौलागिरि हिमालको हिउँ टकटकाएर भूकम्प सगरमाथा हुँदै मकालुबरुण हिमालमा एटमबमले जस्तो बिशाल हिउँको मसरुमहरु आकाशभरी सृजना गर्ने खालको शक्तिशाली थियो।
मकालुबरुण हिमालमा फसेका भारतीय र इटालियन पर्वतारोहीहरुको उद्धार गर्न धेरै समय लागेको थियो। उनै पर्वतारोहिहरुको मुखारबिन्दुबाट सुनेको वर्णन हो यो।
धनजनको ठूलो क्षति सुन्दर र आकर्षक लामटाङ हिमालमा हुन पुग्यो। अरुको उद्धारमा जुट्ने नेपाली सेनाको एउटा पोष्ट लाङटाङ भ्यालीमा हातहतियारसहित पुरिएको आजसम्म फेला परेको छैन। हिमालको उपद्रव र क्षति अनुमान लगाउन यो एउटा दह्रो प्रमाण हो। रसुवागढीमा भन्सार कार्यालय पुग्न बाढीले दिएन।
गणपति लक्ष्मण थापाको निषेधाज्ञा तोड्दै मिनेटमिनेटमा ओइरिरहेको ठूलाठूला पत्थरै पत्थरको पहिरा छल्दै आफू सीमानामा पुग्दा पुरिएका कर्मचारीहरुलाई जीवित फेला पार्न सकिनँ। हिमपहिरो र सुख्खा पहिरो धेरै दिनसम्म अनवरत चलिरह्यो। उद्धारमा चुनौती सामना गरिरहनुपर्यो।
एकदिन क्याप्टेन टपेन्द्र रावल आफूसमक्ष आए र हिम्मत देखाउँदै भने ‘सर, मलाई सबैभन्दा कठिन र जोखिमपूर्ण उद्धारकार्य दिनुहोस्। सबैभन्दा धेरै पीडितहरुको उद्धार गर्न पाऊँ।’ सर्पको खुट्टा देखेजस्तै लाग्यो। आफू स्पेशल फोर्सको उही आत्मा र भावना भएको कमाण्डर भएकोले रावलको त्यो उद्धारभाव बुझिहालेँ।
त्यस्तो होनहार सुरो क्याप्टेन चढेको हेलिकप्टर दुर्घटनाग्रस्त भयो। प्राकृतिक प्रकोपग्रस्त बिरामी धर्तीलाई बर्षेनी धेरै बर्ष चाहिने उद्धार हिरो क्याप्टेनको देहावसानले आफूलाई आजसम्म अपूरणीय क्षतिको गहिरो घाउ लगाएको छ।
उद्धारको चरण सकिँदा नसकिदै राहत वितरणको चरण शुरु भयो। उद्धार र राहत दुवैलाई शीघ्र अनुगमन नियमन र नियन्त्रण गर्न आफ्नो अस्थायी कार्यालय एयरपोर्टमा स्थापना भयो। खुसी र हर्षको कुरा करिब एक महिना गुमनाम भूमिगत अवस्थामा रहेको सरकार, मन्त्रीगण र जनप्रतिनिधिहरुलाई बल्लबल्ल राहतले आकर्षण गर्यो।
ससानो राहत लिएर भोट ब्यांकसमक्ष अनुहार देखाउने रहर जाग्यो। राहत सामग्रीमाथि सबैको आँखा लाग्यो। हवाइ साधन कब्जाका प्रयासहरु भए। हामीले हवाइ साधनको सदुपयोग र एकद्वार प्रणलीको आवश्यकता र प्रथमिकताका आधारमा राहत सामग्री वितरणमा कडाइका साथ जोड दियौँ। न प्रधानसेनापति, न रक्षा, न गृह र प्रधानमन्त्री न त राष्ट्रपति कोहीबाट पनि हवाइसाधनको दुरुपयोग भएन।
त्यसैले उद्धार र राहतलाई शीघ्र र सफलतापूर्वक पूरा गर्न ठूलो मद्दत पुग्यो। क्षतिग्रस्त हिमालतर्फ उडान गर्ने हवाइसाधनले औषधि र राहत सामग्रीको पूरा लोड लिएरमात्र जाने र फर्कदा घाइते बिरामी लिएरमात्र फर्कने नीति ब्यवहारिक, मितव्ययी र असरदार थियो। अग्ला हिमशिखरको उद्धार राहत प्राथमिकताले आफूले धरहराको पीडा र माग देख्न र सुन्न धेरै समय पाइनँ।
धरहरा उठेको दिन
धरहरा उठाउने राष्ट्रिय प्रण र संकल्प ज्यादै लोकप्रिय थियो। आफ्नो धरहरा आफैँ बनाउने राष्ट्रिय नाराले राष्ट्रिय प्रतिबद्धता, राष्ट्रिय आत्मनिर्भरता, राष्ट्रिय आत्मविश्वास र राष्ट्रिय समृद्धिको मर्म र भावना बोकेको थियो। हरेक अग्लो टावरको इण्टिलिजेन्स र प्रतिरक्षा महत्व हुन्छ।
टावरको त्यो संवेदनशिलतालाई ध्यानमा राखेर धरहरालाई हामी आफैँले ठड्याउन जरुरी थियो। शुरुमा धेरैले खिसीटिउरी र अपत्यार गरेको धरहरा झन मजबुत, बिशाल र सुन्दर भएर खडा भएको छ। धरहरासँगै राष्ट्रिय स्वाभिमान , गौरव र इज्जत माथि उठेको छ।
करिब एक महिना गुमनाम भूमिगत अवस्थामा रहेको सरकार, मन्त्रीगण र जनप्रतिनिधिहरुलाई बल्लबल्ल राहतले आकर्षण गर्यो। ससानो राहत लिएर भोट ब्यांकसमक्ष अनुहार देखाउने रहर जाग्यो। राहत सामग्रीमाथि सबैको आँखा लाग्यो। हवाइ साधन कब्जाका प्रयासहरु भए।
नेपाल र नेपालीहरुको शिर ठाडो भएको छ। सम्पदा संरक्षणभाव उजागर भएको छ। हाम्रो बचन र कर्म सफल भएको छ। नेपाली जनताको मन मस्तिष्कमा समृद्धि र उज्वल भविष्यको सपना भरिएको छ।
धरहराको कार्य सम्पन्न हुन धेरै काम बाँकी होला। धरहरा नेपालको गौरव र सो पिस भएको हुनाले त्यसको निर्माण सम्पन्न, गुणस्तर हासिल र श्रृङगारमा कहिल्यै कुनै सम्झौता हुनुहुँदैन। जुनसुकै दलको जेसुकै सरकार होस धरहराले सबैको माया सम्मान संरक्षण पाईराख्नुपर्छ।
नेपालको आर्थिक नियम, ठेकेदारहरुको मिलेमतो छलछाम र कामठगी व्यवहार, कोरोना कहर र शिलान्यास उद्घाटन परिणामको रिसको बाबजुद धरहरालाई छिटो खडा भएको मान्नुपर्छ। राष्ट्रिय पुननिर्माण प्राधिकरण प्रशंसा र धन्यवादको पात्र भएको छ।
पुननिर्माण कति छिटो र राम्रो गर्न सकिन्छ भन्ने बाटो देखाउने र सरकारलाई उद्धार राहतपछि हरेक पहिलो पाइलामा पुननिर्माणमा इमान्दार सहयोग गर्ने नेपाली सेना पनि धन्यवादको अर्को पात्र हो। आफ्नो जंगी अड्डा फ्याक्ने र नयाँ आधुनिक कार्यालय भवन शीध्रातिशीघ्र खडा गर्ने काममा नेपाली सेनाले राखेको रेकर्ड सायद सबैका लागि अनुकरणीय हुनुपर्छ।
१२ पुष ०७५ मा शिलान्यास भएको धरहराको पूर्ण कदको खाका ११ बैसाख ०७८ मा खडा र उद्घाटन भएको छ। कामको यो तीव्रगति र भाषण, बाचा, संकल्पको यस्तै कार्यान्वयन हरेक क्षेत्रको हरकाममा मातृभूमिले अपेक्षा गरेकी छिन्। विकासको फलको आशा गर्ने नेपाली जनताको गहिरो चाहना, प्रार्थना र अपेक्षा पनि त्यही हो।
उद्धारका नाममा उत्तरको मिसन
एक्कासी र अनायास ढलेको धरहरा पुनः उही ठाउँ उही निशानामा जुरुक्क उठेको छ। राष्ट्रिय विपत्तिमा अन्तर्राष्ट्रिय उद्धारकर्मीहरुको ओइरो लागेको थियो। कतिपय इन्टेलिजेन्स मिसनहरु थिए। सबैलाई उत्तरी सीमाना जाने हतारो। कति आकर्षक र सुन्दर हाम्रो उत्तरी सिमाना।
दुर्घटनाग्रस्त हेलिकोप्टर हामीले पठाएको ठाउँमा नगएर अन्यत्रै आफूखुशी उडिरहेको थियो। धन्य, पुरानो धरहराले त्यो लाजको पसारो देख्न परेन। नयाँ धरहराले पटक्कै देख्न नचाहेको एउटा महत्वपूर्ण कुरा त्यही हुनुपर्दछ।
हामी शीघ्र आत्मनिर्भर हुनुपर्दछ। राष्ट्रिय विपत्तिको ह्याण्डल, व्यवस्थापन, राहत, पुनर्निर्माण आफैले गर्न सक्ने तयारीमा बस्नु पर्दछ। उद्धार क्षमता अभिवृद्धि गर्नुपर्दछ। बरु विश्वलाई सानो चुस्त उद्धार टिम पठाएर उद्धार सहयोग गर्नु तयारी अवस्थामा बस्नु राष्ट्रिय स्वभिमानको रक्षा गर्ने सानदार कुरा हुनेछ।
नेपाली सेनाले जनहितको कामका नाममा जनताको मन्दिर, स्कुल, घर आँगन बढार्ने र लिपपोत गर्ने गरेर बानी बिगारेको छ। घरको फोहोर उठाउनसमेत सेना आओस भन्ने आम बुझाइ छ। जनप्रतिनिधिहरुको बुझाइ र विश्वास पनि उस्तै छ।
यसले जिम्मेवारीबाट पन्छिने र भाग्ने विकृति विकास भएको छ। व्यक्तिगत, सामुहिक र राष्ट्रिय स्वाभिमान र आत्मनिर्भरताको भावनालाई कुठाराघात गरेको छ। त्यो दुर्भाग्यपूर्ण अवस्था महाभूकम्पमा हामीले भोग्यौ।
उद्धार अभियानको नेतृत्व सरकारले लिनुपर्दछ। सरकार र जनप्रतिनिधिहरुले मार्गनिर्देशन, संयोजन र सहजीकरण गरिदिने हो। सुरक्षा निकायहरुले सरकारको निर्देशन पालना गर्ने हो। तर महाभूकम्पमा सुरक्षा निकायहरु एक्लै परेको दृष्य दुर्लभ र अनौठो थियो। भविष्यमा राजनीतिक दलहरुलाई कार्यकर्तासँग जोडिने, परिचालन गर्ने र परिणाम निकाल्ने कामको लागि विपद् एउटा अपूर्व अवसर हो ।
मौकामा चौका
नेपालको इतिहास र वर्तमान पशुपतिनाथले धानिदिएको किम्बदन्तीमा सत्यता होला। तर पशुपतिनाथलाई कति बोझ थोपर्ने ? कि हामी आफै मौकामा चौका हान्न तयार हुने? २०७२ सालको महाभूकम्पमा नेपाली सेनाले गरेको त्याग अकल्पनीय थियो। त्यसको श्रेय अन्य सबै सुरक्षा निकायहरुलाई पनि दिन चाहन्छु।
नेपालका सुरक्षा निकायहरु उद्धारका भोका छन्। त्याग र बलिदानीको भावना कणकणमा छ। जुन पंक्तिकारले कथित द्वन्द्वमा होइन महाभूकम्पको समयमा प्रत्यक्ष देख्न पाएँ। २०७४ को भीषण बाढी र डुबानमा सो भावना फेरि यकिन गर्न पाएँ।
मानौ यो धरहरा अब ढल्ने छैन। तर यसले आफूसँगै सबैलाई आफ्ना खुट्टामा दरो उभिन पुकार गरिरहेको छ। स्वाभिमान र आत्मनिर्भरताको भविष्य पक्रिन प्रार्थना गरिरहेको छ।
अन्त्यमा, धरहराको शीघ्र र गुणस्तरीय निर्माण नयाँ नेपालको अन्तिम होइन प्रारम्भ बिन्दु होस। यही मति, गति र प्रगतिमा भावी पूर्वाधारहरु खडा हुँदै जाउन्।
आपतकालीन शासनको बागडोर सेनाले होइन जनप्रतिनिधिको संवैधानिक सरकारले तदारुकता र आत्मविश्वासको साथ संचालन गरिरहोस्। मुलुकमा राष्ट्रिय एकता, राष्ट्रिय स्वाभिमान शान्ति र सम्वृद्धि देखेर नयाँ धरहरा सधैँ मुस्कुराई रहोस।
(लेखक उद्धारकर्मी र संरक्षणविद् हुन्)
Facebook Comment