२७ गतेका लागि बोलाइयो संसद अधिवेशन, प्रधानमन्त्रीले विश्वासको मत लिने

डिसी नेपाल
१९ वैशाख २०७८ २०:००

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गतेका लागि संसद अधिवेशन आव्हान गरेकी छन्। आइतबार बसेको मन्त्रिपरिषदको बैठकले सिफारिस गरेअनुसार आइतबार साँझ राष्ट्रपति भण्डारीले अधिवेशन आव्हान गरेकी हुन्।

वैशाख २७ गते दिउँसो १ बजेका लागि अधिवेशन आव्हान गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने प्रयोजनका लागि अधिवेशन आव्हान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग्ने भएका छन्। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वासको मत प्रयोजका लागि यही वैशाख २७ गतेका लागि संसद बैठक आव्हान गरेकी छन्।

एमाले र माओवादी छुट्टा छुट्टै रुपमा क्रियाशील भएसँगै प्रधानमन्त्री ओलीको सरकार गठबन्धन सरकारमा परिणत भइसकेको छ। र सरकारलाई समर्थन दिइरहेको माओवादी केन्द्रले राजीनामा मागिरहेको छ। तर, उसले समर्थन फिर्ताको पत्र भने लेखेको छैन।

यस्तो राजनीतिक गतिरोध कायम रहेका बेला प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत माग्ने भएका हुन्। २७५ सदस्यीय प्रतिनिधिसभामा हाल २७१ जनामात्र सांसद छन्। ती मध्ये पनि ४ जना निलम्बित अवस्थामा छन्। निलम्बित सांसदले मतदान गर्न पाउँदैनन्।

तर, कुल संख्यामा उनीहरुको पनि गणना भने हुन्छ। त्यसैले हाल प्रतिनिधिसभा २७१ सदस्यीय कायम छ। सरकारलाई बहुमतका लागि १३६ सिट आवश्यक पर्छ। हाल एमालेसँग १२१ सिट छ। काँग्रेस ६३, माओवादी ४९ र स्वतन्त्र ३ जना छन्।

त्यसैले बहुमतका लागि एमालेलाई अझै कम्तिमा १५ सिट आवश्यक पर्छ। जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षसँग सरकारले निरन्तर वार्ता गरिरहेको छ। त्यसैले सो समूहले प्रधानमन्त्री ओलीको विश्वासको मतको पक्षमा मतदान गर्ने सम्भावना छ।

तर, जसपाको अर्को समूह उपेन्द्र यादप पक्ष भने ओलीको जसरी पनि विकल्प खोज्नुपर्ने लाइनमा उभिएको छ। त्यसैले प्रधानमन्त्री ओलीले संसदमा राख्ने विश्वासको मत सफल वा असफल जे पनि हुन सक्ने वर्तमान अवस्था छ। त्यसमाथि एमालेमा समानान्तर गतिविधि गरिरहेको माधव नेपाल समूहको भूमिका झनै महत्वपूर्ण हुने देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *