प्रदेश प्रमुख शेरचनलाई हटाउँदा मुख्यमन्त्री गुरुङले ‘चित्त’ दुखाए

डिसी नेपाल
२१ वैशाख २०७८ ९:२४

काठमाडौं। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई बर्खास्त गर्दै नयाँ प्रदेश प्रमख नियुक्त गरे। सोमबार बर्खास्तमा परेका दुवै प्रदेश प्रमुख माओवादी केन्द्र कोटामा नियुक्त भएका थिए।

२०७६ साल कात्तिकमा तत्कालीन नेकपा माओवादीतर्फबाट नियुक्त गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई हटाएर शेरचनको ठाउँमा सीता पौडेल र त्रिपाठीको ठाउँमा गंगाप्रसाद यादवलाई नियुक्त गरिएको छ।

गण्डकी प्रदेशमा शेरचनलाई हटाएर पौडेललाई नियुक्ती गरेको विषयमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘चित्त’ दुखाएका छन्। उनले प्रदेश प्रमुख शेरचनसँग आफ्नो सम्बन्ध राम्रो भएका कारण उनलाई नहटाउँदा पनि फरक नपर्ने बताएका छन्।

‘हाम्रो प्रदेशको प्रमुखलाई फेर्नुपर्ने कुनै कारण थिएन, उहाँसँग मेरो साह्रै राम्रो सम्बन्ध छ,’ मुख्यमन्त्री गुरुङले डिसी नेपालसँग भने, ‘तर अब मेरो पार्टीको अध्यक्ष तथा प्रधानमन्त्रीले उहाँलाई हटाएर अर्को प्रदेश प्रमुख नियुक्त गरेपछि मेरो भन्नु केही पनि छैन।’

मुख्यमन्त्री गुरुङ तीन दिन अगाडि काठमाडौं आएका थिए। उनले प्रधानमन्त्री ओलीसँग छलफल पनि गरेका थिए। उक्त छलफलमा प्रधानमन्त्री ओलीले गण्डकी प्रदेश प्रमुख हटाउने विषयमा मुख्यमन्त्री गुरुङलाई सोधेका पनि थिए। तर मुख्यमन्त्री गुरुङले प्रदेश प्रमुख शेरचनलाई हटाउनु पर्ने कारण नभएको भन्दै नहटाउन सुझाव दिएको स्रोतले जनाएको छ।

मुख्यमन्त्री निकट स्रोतका अनुसार प्रदेश प्रमुख शेरचन र मुख्यमन्त्री गुरुङबीचको सम्बन्ध असाध्यै राम्रो थियो। उनीहरुले भेट्दा अनौपचारिक रुपमा ‘माननीय’ भन्दा पनि दाइ भाइ भनेर सम्वोधन गर्थे। ‘उहाँसँग मुख्यमन्त्रीज्यूको असाध्यै राम्रो सम्बन्ध थियो,’ स्रोतले भन्यो, ‘उहाँलाई हठाउँदा मुख्यमन्त्रीको चित्त दुखेको छ।’

प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्री गुरुङलाई असहज हुने कुनै काम नगरेको मुख्यमन्त्री गुरुङको बुझाइ छ। पछिल्लो समयमा प्रदेश प्रमुख शेरचनले प्रदेशको राजनीतिक अन्योलता कम गर्न सर्वदलीय बैठक बोलाएर अभिभावकीय भूमिका निर्वाह नगरेको आरोप लाग्ने गरेको थियो।

‘उहाँ त अभिभावक पनि हो, उहाँले दलहरुको सर्वदलीय बैठक बोलाएर अहिले देखिएको राजनीतिक अन्योललाई समाधान गर्न भूमिका निर्वाह गर्न नसकेको कुरा सत्य हो,’ मुख्यमन्त्री निकट स्रोतले भन्यो, ‘तर यसको अर्थ उहाँलाई हटाउनुपर्छ भन्ने होइन।’

शेरचनको ठाउँमा आएकी नयाँ प्रदेश प्रमुखलाई धेरै कुरा बुझ्न समय लाग्ने भएकाले पनि मुख्यमन्त्री गुरुङ शेरचनकै निरन्तरताको पक्षमा थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *