पुरुष कर्मचारीले महिलाको कपडा लगाउँदा खिल्ली उडाएका हाकिमको जागिर चट !
काठमाडौं। अमेरिकामा एक समलिंगी जोडीको भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ । यी दुई युवा एक प्रोम पार्टीको लागि तयार हुँदै थिए यत्तिकैमा उनीहरुको खिल्ली उडाउनको लागि एक व्यक्ति पुगे । भिडियोमा टेलिमेडिसिन कम्पनी ’विश यु वेल’का सिइओ साम जोनसनले समलिंगी युवक डाल्टन स्टिभन्सलाई खिल्ली उडाएर हेरान पारिरहेका देखिन्छन् । युवक डाल्टन स्टिभन्स पनि विश यु वेलमै काम गर्छन् । भिडियो भाइरल भएपछि कम्पनीले सिइओ जोनसनलाई बर्खास्त गरिदिएको छ ।
स्टिभन्स आफ्ना ब्वाइफ्रेण्ड ज्याकब गिटम्यानसँग टेनेस सहरको हारपेथ होटलबाहिर फोटो खिच्दै थिए । यही क्रममा जोनसन त्यहाँ पुगेपछि उनले स्टिभन्सलाई कपडाका विषयमा खिल्ली उडाउन थालेका थिए । स्टिभन्सले पार्टीको लागि महिलाले लगाउने जस्तै रातो रंगको गाउन लगाएका थिए । यस क्रममा स्टिभन्सका ब्वाइफ्रेण्डले जोनसनलाई ‘आफ्नो राय आफूसँग नै राख्न’ भनेका थिए ।
फक्स ४० संग कुरा गर्दै स्टिभन्सले भने ‘यी व्यक्ति मेरो छेउमा आएर मैले के लगाउनु हुन्छ, के लगाउनु हुँदैन भन्दै ज्ञान दिन थाले । उनले मलाई म पुरुष भएकोले यस्ता कपडा लगाउन नहुने भन्न थाले । उनले मलाई म युवक होइन बेवकुफ देखिएको छु भन्दै गिज्याइरहेका थिए ।’ यो भिडियो सामाजिक संजालमा निकै भाइरल भइरहेको छ र बिली पोर्टर, क्याथी ग्रिफिनजस्ता स्टारले शेयर गरेका छन् । भिडियो भाइरल भएपछि विश यु अल कम्पनीले एक ट्वीट गर्दै कम्पनीको बोर्ड अफ डाइरेक्टरको निर्णयअनुसार जोनसनलाई बर्खास्त गरिएको बताएको छ ।
कम्पनीले ट््वीटमा साम जोनसनको व्यवहार कम्पनीको प्रगतिशील मूल्य र मान्यतासँग मेल नखाने बताएको छ । कम्पनीले एलजीबीटीयु समुदायलाई समर्थन गर्ने बताउँदै उनीहरुविरुद्ध भद्दा व्यवहार सहन नसकिने बताएको छ । उता साम जोनसनले पनि न्यूजविकसँग कुरा गर्दै भिडियोको आधारमा आफूमाथि लगाइएका आरोप आधारहीन भएको बताएका छन् । उनले आफूले स्टिभन्सको कपडाका विषयमा नभइ त्यहाँ रहेका बालबालिकाको गैर अनुशासित र आपत्तिजनक व्यवहारका विषयमा कुरा गरेको दावी गरेका छन् ।
Facebook Comment