देउवाले प्रधानमन्त्रीलाई भनेः विश्वासको मतमा सहयोग गर्दैनौं

डिसी नेपाल
२२ वैशाख २०७८ १८:२९

काठमाडौं। संसदबाट विश्वासको मत लिने प्रस्ताव राखेका प्रधानमन्त्री केपी शर्मा ओली पार्टी तथा सरकारका उच्च नेताहरुलाई लिएर बुधबार बुढानिलकण्ठ पुगे। उनी विश्वासको मतमा सहयोग माग्न प्रमुख विपक्षी दल काँग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्न उनकै निवास पुगेका थिए।

तर बुढानिलकण्ठले प्रधानमन्त्री ओलीलाई रातोबत्ति देखाएको छ। छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस सहमहामन्त्री डा. प्रकाशसरण महतले प्रधानमन्त्रीले विश्वासको मतमा सहयोग मागेको तर, सभापति देउवाले सहयोग गर्न नसकिने स्पष्ट पारेको जानकारी दिए।

उनका अनुसार छलफलका क्रममा काँग्रेस नेताहरुले सरकारका गतिविधिहरुको आलोचनासमेत गरेका थिए। डा. महतले भने, ‘सरकारका क्रियाकलापका विषयमा पनि हामीले स्पष्ट रुपमा भन्यौं। तपाईहरु लोकतन्त्रका लागि लडेको पार्टी भए पनि सुधारिएर आउनुपर्छ भन्ने हाम्रो स्पष्ट कुरा रह्यो।’

तर, कुनै पनि हालतमा विश्वासको मतको पक्षमा भने काँग्रेस नरहेको जवाफ दिइएको उनले बताए। उनले भने, ‘सरकारले राखेको विश्वासको मतको प्रस्तावलाई विफल पार्ने हाम्रो निर्णय छ। त्यसैले विश्वासको मतमा सहयोग गर्ने त कुरा नै भएन।’

छलफलमा एमालेका तर्फबाट अध्यक्ष तथा प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी थिए। काँग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधी, महामन्त्रीद्वोय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का तथा सहमहमन्त्री डा. प्रकाशसरण महत सहभागी थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *