यौनको मामलामा मान्छे कम्मल ओढेर घिउ खान्छ : खेमराज पोखरेल, साहित्यकार
सन २०१८ मा कथाकार नारायण तिवारीमार्फत सामाजिक सञ्जालमा भेट भयो आख्यानकार खेमराज पोखरेलसँग। फेसबुके साथी बनियो। मनु ब्राजाकीसँगको अन्तरवार्ता तथा छोटा कथाको पनि विश्लेषण गर्नुभएको रहेछ उहाँले।
पछि महेशविक्रम शाहको भुइँखाट कथासङ्ग्रहबारे समीक्षा गरी पोस्टगर्नु भयो। पढ्दै गएँ। परिचित भएपछि लघुकथा/कथाहरू पनि पढ्न थालेँ मैले। नजिकका साहित्यिक मित्र बनायो भर्चुअल संसारले। समय क्रमसँगै खेमराजले टेक्ससबाट मेरो कोलोराडोको ठेगानामा सरकारी हुलाकमार्फत उहाँका आठ पुस्तक कृति पठाइदिनु भयो। पढेपछि एक कथासङ्ग्रहबारे केही लेख्ने सोच थियो।
पहिलो पुस्तकाकार कृति त लेखहरूको सङ्ग्रह रहेछ। कविता, लघुकथा, कथा, संस्मरण एवं समीक्षा विधामा विगत आठ दस वर्षदेखि सक्रिय खेमराज इतिहासका प्राध्यापक भएर पनि नेपाली साहित्यको सेवामा एकोहोरिएको पाएँ। उहाँ जस्तो प्रतिभा–अभ्यासका सर्जककाबारेमा केही लेख्नपाउनु मेरा लागि ठूलो कुरा भयो। क्रमैले उहाँका सम्पूर्ण पुस्तकाकार कृतिहरूको अध्ययन गरी समीक्षा गरेँ।
विगत लामो समयदेखि अमेरिकाको टेक्सस बस्दै आउनुभएका प्रतिभाशाली आख्यान–स्रष्टा खेमराज पोखरेलका सम्पूर्ण प्रकाशित कृतिको अध्ययन गरिसकेपछि एक अन्तार्वाता लिन मन लाग्यो। कथाकार खेमराज पोखरेलसँग केही लिखित प्रश्न लिखित जवाफ:
तपाईँको सङ्क्षिप्त परिचय : न्वारानको नाम, पुख्र्यौलाी थलो र जन्मस्थान ?
खेमराज पोखरेल। तर आमाबुवाले बोलाउने नाम कृष्ण। पुख्र्यौली थलो खोटाङ जिल्लाको सिम्पानी। जन्मस्थान सप्तरी जिल्लाको कञ्चनरूप नगरपालिका वडा नं. १२, गाउँ बस्तीपुर।
वाल्यकाल ?
मेरो वाल्यकाल जन्मस्थानमै आमाबुवा/हजुरबुवा हजुरआमाको काखमा बित्यो।
स्कुले जीवन एवं शिक्षा ?
बच्चाकक्षा, एक र दुई कक्षा गाउँकै राष्ट्रिय प्रा.वि.मा अध्ययन गरेको। कक्षा ३ देखि १० सम्म सप्तरी जिल्लाकै सर्वोदय उच्च विद्यालय कञ्चनपुरमा अध्ययन गरेको।
सर्टिफिकेट लेभेल र डिप्लोमा लेभेल (आइ.ए र बीए) सप्तरी जिल्लाको राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा भएको। इतिहासमा त्रिविबाट प्राइभेट एमए गरेको। त्रिविबाटै बीएड पनि। विद्यावारिधि गर्दागर्दै हापेर अमेरिका आएको।
पेसा ?
२०३७/३८ सालमा खोटाङको दुर्छिम डाँडा हाइस्कुलको हेडमास्टर भई केही समय अध्यापन गरेको। २०३९÷४० मा काठमाडौँमा महेशकुमार अग्रवालको व्यापारिक फर्ममा काम गरेको।
२०४१ सालदेखि त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरू २०४१ सालदेखि २०४३ सम्म वीरेन्द्र बहुमुखी क्याम्पसमा, २०४३ देखि २०४७ सम्म पृथ्वीनारायण क्याम्पस पोखरा, २०४७ देखि २०५७ सम्म महेन्द्र मोरङ बहुमुखी क्याम्पसमा, २०५७ देखि २०७४ को असारसम्म पद्मकन्या बहुमुखी क्याम्पस बागबजार काठमाडौँमा प्राध्यापन गरेको। अहिले सबै कामबाट रिटायर्ड।
भ्रमण ?
नेपालका करिब ६६ जिल्ला। विदेशमा अमेरिका।
पुरस्कार सम्मान ?
गोरखापत्र संस्थानले आयोजना गरेको लघुकथा प्रतियोगितामा तृतीय भै प्रमाणपत्र र नगद प्राप्त गरेको। त्यसो त राजविराज कलेजमा पढ्दा कलेज तथा राजविराजका विभिन्न संस्थाले गराउने साहित्यिक प्रतियोगितामा एउटा न एउटा पुरस्कार विस्तुर जाँदैनथ्यो। प्रमाणपत्र र नगद पुरस्कार वा प्रमाणपत्र र साहित्यिक पुस्तक पुरस्कार पाएको थिएँ।
सङ्ख्याका हिसाबमा ८/१० हुँदो हो। तर मेरो दुर्भाग्य, अहिले जागिरे जीवनको सहर सराइ, डेरा सराइ, देश सराइ र आफ्नै सङ्कलन अचेतनाका कारणले तिनका प्रमाण पनि मसँग छैनन्।
पारिवारिक अवस्था ?
आमाबुवा। ५ जना भाइ, एक बहिनी। श्रीमती र तीन छोरी।
साहित्य प्रेरणाका स्रोत
सानैदेखिको रुचि। साहित्य पढ्दा पढ्दै लागेको। खासै त्यस्तो प्रेरणाको व्यक्ति वा घटना केही छैन।
साहित्यमा लाग्नुका कारण : यदि साहित्य एवं प्राध्यापनमा नलागेको भए के बन्नु हुन्थ्यो?
थाहा छैन, हावाले कहाँ पुर्याउँथ्यो। प्राध्यापन पनि रोजेर खाएको/पाएको होइन। अप्सन थिएन। त्यही पाइयो, त्यही खाइयो। नपाएको भए जे पाइन्थ्यो त्यही खाइन्थ्यो, त्यही बनिन्थ्यो। पुलिस बन्न काठमाडौँ आएको प्राध्यापनमा लागियो–काकताली। जता लागेको भए पनि साहित्यले त किन छोड्थ्यो होला र!
इतिहासको प्राध्यापक भएर पनि नेपाली साहित्यमा गहिरो रुचि राख्नु हुन्छ। कहिले काहिँ लाग्र्दैन, म नेपाली भाषा साहित्यको प्राध्यापक हुनुपर्ने?
त्यो बेलाको मेरा भौतिक तथा चेतीय परिवेशीय बुताको परिधिमा इतिहास पढ्नु मेरो बाध्यात्मक मात्र होइन, निकै ठूलो उपलब्धि थियो। इतिहास नै भए पनि उच्च शिक्षा प्राप्त गर्नपाउनु मेरो ठूलो र दुृर्लभ भाग्य थियो।
तिनताक दार्जिलिङबाट आउने नेपाली र हिन्दीका मनोरञ्जनात्मक उपन्यास खुव पढ्ने गर्थेँ। त्यसकै प्रभावमा टिनेजर स्वभावको उपन्यास एउटा मोटो कपीमा लेखेको थिएँ।
त्यो बेला म पढ्ने कलेजमा नेपाली मेजर थिएन। अहिले नेपाली साहित्यको फाँटमा आफ्नो गोहो बनाउँदा नेपाली साहित्यका सिद्धान्त र हिज्जेले भने सताएका छन् । एउटा कल्पना दिमागमा आउँछ। त्यो बेला नेपाली विषय पढ्न अनुकुल नपरेकोमा एउटा नमजा त पक्का लाग्छ।
तर त्यसको के अर्थ हुन्छ र ! माग र आपूर्तिको इक्विलिब्रियम नै जीवन हो मान्छेको। मैले जे पाएँ त्यसमा म निकै खुसी छु। फेच्चाबोध छैन।
प्रथम रचना कुन हो? कति सालमा कुन पत्रिकामा छापिएको थियो?
राजविराजको कलेजमा पढ्दाताका राष्ट्रिय वा स्थानीय पत्रिकाहरूमा ससाना कविता प्रकाशित भएको सम्झना आउँछ। तर ती अहिले न मसँग छन्, न पत्रिका नै भन्न सक्छु। कलेजबाट निस्किएको छिन्नमस्ता जरनल भोलम १ मा २०३५ सालमा ‘कञ्चनगढ एक परिचय’ नै अहिले मसँग भएको छापावाल पहिलो लेख हो। अरू त उडेका सातु पितृका नाममा भनेझैँ हो।
१२ प्रथम रचना प्रकाशित हुँदा कस्तो अनुभव भयो ?
इनोसेन्ट थिएँ। मतलब पनि थिएन। महत्त्व थाहा पनि थिएन। तर कलेजका सरहरू खासगरी प्रा.डा. केशवप्रसाद उपाध्याय र गङ्गा प्रसाद उप्रेतीले ‘तिम्रो साहित्यिक लेखाइ निकै राम्रो छ’ भन्दा फुर्किएको भने सम्झना छ।
छँदा छँदैको प्राध्यापकको जागिर छोडेर डलरको सपना बोकी केही समय विदेशिनुको मूल कारण के थियो ?
मेरो अन्तिममा जागिर त्रिभुवन विश्वविद्यालयको पद्मकन्या बहुमुखी क्याम्पसमा थियो। सह–प्राध्यापक थिएँ इतिहासको। म दुईपल्ट विदेशिएँ। पहिलोपल्ट म सन २००२ को डिसेम्बरदेखि २००७ को जुनसम्म अमेरिकाको टेक्सस राज्यको डालस, अर्लिङ्गटन, गारल्याण्ड, कोर्सिकाना र अन्त्यमा लागोभिस्तामा बसेँ।
यो विदेशिनुको प्रयोजन पैसा कमाउनु थियो। किनकि मेरो नेपालको जीवन आर्थिक रूपले निकै सङ्कटमा पुगेको थियो। त्यसैले करिब ५ वर्ष अमेरिका बसेर पैसा कमाएर एउटा मध्यमवर्गको हैसियत बनाएर म नेपाल फर्केको थिएँ।
दोस्रोपल्ट म सन २०१७ को जुलाइमा जागिरबाट राजीनामा दिएर अमेरिका छिरेँ। यसको प्रयोजन भने पैसा कमाउनु होइन। आफ्ना सन्तानसँग बुढारी बिताउने अभिध्येय थियो । छ। त्यसैले म कुनै उपार्जनको काम नगरी साहित्य सिर्जनातिर लागेर अमेरिकामा बसिरहेको छु। यो पल्टको अमेरिका बसाइ भने डलर–मोह वा डलर–सपना होइन। विश्वास गर्नुस्, पक्का होइन।
पुन नेपाल फर्कनुको कारण ?
विमलजी यो कुरा पत्याउनुहोस् कि २००७ मा म नेपाल फर्कँदा अमेरिकामा पाइरहेको ठूलो आर्थिक अवसरलाई चटक्कै छोडेको थिएँ। यसरी नेपाल फर्कँनु पर्ने कारण मूलभूतरूपमा होमसिक थियो। होमसिकको केन्द्र भागमा देश थियो। राष्ट्र थियो। समाज थियो। आफन्त थिए। परिवार थियो। आमाबुवा हुनुहुन्थ्यो। श्रीमती थिइन्। छोरीहरू थिए। जागिर थियो। समग्र नेपाली परिवेश थियो।
त्रिविले मेरो जागिर थामिदिएको थियो। होमसिक भनेको कस्तो हुनेरहेछ भने नेपाल छँदा नगुदानेका पहाड, हिमाल र तराइका गह्राहरूसमेत आएर चिमोट्दा रहेछन्। तिनले रातरातभर सुत्न नै नदिने रहेछ। म त्यो बेला अमेरिकाबाट नेपाल नफर्र्किको भए बहुलाउने थिएँ।
म अमेरिकामा मानसिक रूपमा दोस्रो दर्जाको मान्छे हुन्थेँ। नेपाल पुगेपछि म पहिलो दर्जाको सम्मानित मान्छे हुन्थेँ। यो प्रश्न नेपाल फिर्ने बित्तिकै मलाई त्रिवि अनुसन्धान महाशाखामा कार्यरत मेरा मित्र प्राडा निलमकुमार शर्माले सोध्नुभएको थियो – तपाईँ अमेरिका पुगेको मान्छे किन फर्केको ?
मैले व्यङ्ग्यात्मक उत्तर दिएको थिएँ -अमेरिकामा काम नगरी खान पाइन्न । यहाँ काम नगरी खानका लागि आएको।
१५ कति वर्ष त्रिविमा सेवा गर्नु भयो ?
२०४१ सालको माघ १५ गतेदेखि २०७४ असार मसान्तसम्म जम्मा ३३ वर्ष। ४ वर्षको विदा कटाएर भन्ने हो भने २९ वर्ष।
१६ त्रिविलाई केही भन्नु छ ?
मलाई त्रिविलाई नराम्रो भनेर असन्तुष्ट हुनुपर्ने कुनै कुरा छैन। मैले इनोसेन्ट रूपमै त्रिविमै पढेँ । त्रिविले नै पत्यायो । जागिर दियो । खाएँ । बालबच्चा पालेँ । मेरा नसानसामा त्रिविले हालिदिएको अन्नपानीले बनेको रगत कुदिरहेको छ। म अहिले जुन भौतिक, अभौतिक वा प्राज्ञिक हैसियतमा छु वा म जे छु, वा संसारले मलाई हेर्ने थलोको निर्माण त्रिविले नै बनाएको हो।
म आफू रमाउन मात्र लेख्छु । जे लेख्दा म खुसी हुन्छु, त्यही लेख्छु । मभित्र भएको छटपटी लेख्छु ।
म शतत अनुगृहीत छु त्रिविप्रति। त्यसैले अहिले अमेरिकाका विशिष्ट विश्वविद्यालयको स्तरीयतासँग तुलना गरेर म त्रिविलाई हियाउने पक्षमा छुइनँ। कहिले पनि हियाउँदिनँ। तर पनि मेरो विश्वविद्यालय राजनीतिक भागबण्डाबाट मुक्त भएर यस्तै प्राज्ञिक भएको भए हुने थियो भन्ने लोभचाहिँ लाग्दो रहेछ।
१७ तपाईँ क्षमता भएका सर्जक हुँदाहुँदै यतिका वर्ष साहित्यमा नदेखिनुको कारण ? २०७० देखि मात्र प्रकाशनका क्षेत्रमा देखिनु भयो नि !
मैले माथि पनि भने कि मेरो साहित्यिक अनुराग वाल्यकालदेखि नै थियो । हरेक कपीका पहिलो पानामा कविता लेखेर कपीमा लेखनको सुरुवात गर्थेँ । श्री गणेशाय नमः जस्तै । एसएलसी दिएर घर बसेका बेला एउटा उपन्यास लेखेको थिएँ।
तिनताक दार्जिलिङबाट आउने नेपाली र हिन्दीका मनोरञ्जनात्मक उपन्यास खुव पढ्ने गर्थेँ । त्यसकै प्रभावमा टिनेजर स्वभावको उपन्यास एउटा मोटो कपीमा लेखेको थिएँ । तर त्यो बुझिहाल्नु भयो, हरायो, च्यातियो, नासियो ।
२०३१ देखि २०३६ सम्म कलेज पढ्दाताका लेखिएका कविता र लेख पनि पत्रिकामा छापिए पनि मसँग सङ्ग्रहमा नभएको कुरा अवगत गराएको छु ।
२०४१ सालदेखिको भने कविताहरू विभिन्न डायरीका पानामा रहेछन्। किनभने म आक्कलझुक्कल कविता लेख्दै थिएँ। ती कविता कवितासङ्ग्रह ‘सडक र बूढो सिमल’ छापेको छु। सघन रूपमा साहित्यमा उपस्थित हुन नसकेको कारण चाहिँ अवसर, उत्प्रेरणा, अवस्था र अलमस्तता हुन् जस्तो लाग्छ । सोचेर जीवन हिँडेकै होइन ।
तर ७० को दशकमा आइपुगेपछि भने जीवनका दायित्वका हाँगाहरू अलिकति छिमिलिए होला । जागिरे जीवनको पनि अन्तिम मोडमा थियो। मनका कुरा मजाले भन्न पाइन्छ भन्ने लालसाले म साहित्यमा लागेको छु। यो पनि योजनाबद्ध भने होइन।
१८ तपाइँको रुचि साहित्य लेखन बाहेक अरू के के छन् ?
खोइ जीवनमा के के रुचि थिए, मेलै पाइएन । अगाडि आइलागेको खोरिया फँडानी गरेको मात्र हो । जीवन त्यसै बित्दैछ रुचि थाहै नपाइ । तर अहिले मलाई लाग्दैछ कि सेन्टिमेण्टल गीत र सिनेमा मन पर्दा रहेछन् मलाई।
खासगरी आफूले गुनगुनाएको पूर्वेली लोकभाका मन पर्दा रहेछन् । पर्यटन भनेपछि कुम्लो बाँधूँ र हिँडिहालूँ भनेझैँ लाग्दो रहेछ । अलिकति आफ्नो संसारबाट अलग भएर समाजतिर फर्किन आनन्द लाग्दो रहेछ । खोइ यो रुचि हो कि सनक हो, त्यो पनि थाहा छैन ।
१९ जीवनको उत्तरार्धमा साहित्यसेवामा बेजोड लाग्नुभएको छ । समयले नेटो काटेझैँ हुन्न र ?
हाहाहा विमलजी । म साहित्यमा बेजोड लागेकै छैन । मन र मुड भएका बेला रमाउन मात्र साहित्य लेख्छु । बेजोड लाग्नु र नलाग्नुले जीवनमा केही असर पर्दैन । लागे पनि नलागे पनि कहीँ पुगिँदैन । कही नपुगिने यात्रामा मनमौजी जति हिँडे पनि भयो । नहिँडे पनि भयो ।
बिसाए पनि भयो । कुदे पनि भयो । अब प्रश्न छ समयको नेटो । म यही २०७८ सालको भदौ ३ गते ६५ वर्ष पुग्छु । म यो गल्छेँडोमा पुगेर उभिएर हेर्दैछु कि निकै पाका मान्छेहरू अझै सक्रिय जीवन बाँचिरहेका छन् ।
यसैगरी निकै कान्छा मान्छेहरू जीवनसँग थाकेर पलायन भएका छन् । पाका बाँचेका पनि छन्, कान्छा मरेका पनि छन् । किनकि मृत्युले जेठो कान्छो भन्दैन भन्ने आहान नै छ । त्यसैले समयले कहिल्यै नेटो काट्दैन ।
भनिन्छ कुनै काम गर्नका लागि कहिल्यै ढिलो हुँदैन । हिँडिरहने हो पटाक्षेप नहुञ्जेल । पटाक्षेप भएपछि त खिसा खत्तम भइहाल्छ । यो बेला नेटो काट्नु र नकाट्नुले के फरक पर्छ र !
यत्ति छोटो समयमा नै नेपाली साहत्यिक वृत्तमा स्थापित हुन भयो नि ! यसको श्रेय कसलाई जान्छ ?
स्थापित भनिनु भ्रम हो विमल सर । तपाईँले मलाई चिन्नु भयो । मेरा कृति पढ्नु भयो । लेख, कथा, लघुकथा पढ्नु भयो, नियात्रा पढ्नु भयो र तपाईँलाई लाग्यो कि म स्थापित भएको छु । यसका लागि तपाईँप्रति कृतज्ञ छु । आभारी छु ।
संसारको साहित्यको कुरा होइन, नेपालकै साहित्य संसारमा पनि धेरै मान्छे हुनुहुन्छ, जसले मेरो कृति पढ्नु त परै जाओस् मेरो नाम पनि सुन्नु भएको छैन होला । श्रेयको कुरा छ । म सामाजिक सञ्जालमा पोस्ट गरेर रमाउने मध्येमा छु ।म अहिले जे अवस्थामा छु त्यसको श्रेय सामाजिक सञ्जाल खासगरी लघुकथा कुनो, कथा समुह तथा अन्य अनलाइन पत्रिकाका सञ्जाललाई जान्छ ।
मेरा कथाले टाउकाको याने दिमागको, हृदयको, पेटको र पेटमुनिको याने यौनका विषयमा प्रगतिशील धारणा बनाउँछन् ।
त्यसकारण सामाजिक सञ्जालमा पढेर, मनपराएर, लाइक गरेर, कमेण्ट गरेर, समीक्षा लेखेर, वाचन गरेर, युट्युबमा राखेर मैले व्यक्तिगत रूपमा चिनेका, कम चिनेका वा नचिनेका सबै साथीभाइ, अग्रज, अनुज, आफन्त, पाठक र शुभेच्छुकले मलाई हौस्याएका हुन् । यी सबैलाई मेरो यो अवस्थाको श्रेय दिन चाहन्छु ।
हालसम्म प्रकाशित पुस्तकाकार कृतिहरू कुन कुन हुन र तिनका विवरण पनि खुलाइ दिनु होला
मैले इतिहासका १० थान पुस्तकहरू लेखेँ ।
१. आधुनिक भारतको संक्षिप्त इतिहास, काठमाडौँ : आठराइ प्रकाशन, १९९८
२. पर्यटन र विकास, वाराणसी : अनुराग प्रकाशन, १९९९
३. आधुनिक भारतको इतिहास, काठमाडौँ : मोलुङ फाउण्डेसन, २०७० बिसं
४. नेपालमा पर्यटन व्यवस्थापन, काठमाडौँ : मोलुङ फाउण्डेसन, विसं २०६९
५. सुुदूर पूर्वको चिनजापानको इतिहास, भक्तपुर : हेडलाइन पब्लिकेसन, २०७० विसं
६. आधुनिक नेपालको इतिहास, भक्तपुर : हेडलाइन पब्लिकेसन, २०७० विसं
७. पञ्चायतको इतिहास, सप्तरी : पञ्चकन्या विकास प्रतिष्ठान २०७०
८. संविधानसभाको इतिहास, भक्तपुर : हेडलाइन पब्लिकेसन, २०७० विसं
९. गणतन्त्रको इतिहास, मोलुङ फाउण्डेसन, विसं २०७०
१०. नेपाली धर्म र संस्कृति, पञ्चकन्या विकास प्रतिष्ठान २०७०
अहिलेसम्म प्रकाशित भएका साहित्यका पुस्तकहरू
१. सबैथोक छ केही छैन (निबन्ध), काठमाडौँ : मोलुङ पब्लिकेसन, बिसं २०६६
२. पछ्यौरीको आइसक्रिम लघुकथासङ्ग्रह, काठमाडौँ : मोलुङ पब्लिकेसन २०७३
३. दह्रो लौरो लघुकथासङ्ग्रह, काठमाडौँ : मोलुङ पब्लिकेसन २०७३
४. ऊनको डल्लो कथासङ्ग्रह, काठमाडौँ : मोलुङ पब्लिकेसन २०७३
५. सडक र बुढो सिमल कवितासङ्ग्रह, मोलुङ पब्लिकेसन २०७३
६. सम्पादन, मोलुंग लघुकथा सङ्ग्रह, काठमाडौँ : मोलुङ पब्लिकेसन २०७३
७. सिमानामा आमा लघुकथासङ्ग्रह, बिएन पुस्तक संसार २०७५
८. राम शाहको चौतारो, लघुकथासङ्ग्रह, बिएन पुस्तक संसार २०७५
९. पगाहा, कथासङ्ग्रह, बिएन पुस्तक संसार २०७५
१०. ईश्वरको मृत्यु, लघुकथासङ्ग्रह, स्वदेश प्रकाशन २०७६
११. सम्पादन ः मदुस, लघुकथासङ्ग्रह, स्वदेश प्रकाशन २०७५
१२. यायावर पाइला, नियात्रासङ्ग्रह, सुशीला पोखरेल २०७७
साहित्य केका लागि लेखिन्छ ?
अरू साहित्यकारले के अभिप्रायले लेख्छन्, त्यो मलाई थाहा छैन । यस विषयमा अन्त्यहीन बहस पनि हुनसक्ला । कोही पत्रिकाका लागि लेख्लान् । कोही राजनीति साध्न लेख्लान् । कोही बौद्धिक खुराक पस्कन लेख्लान् । कोही वाद चलाउन लेख्लान् । कोही आक्रोस पोख्न लेख्लान्।
तर म आफू रमाउन मात्र लेख्छु । जे लेख्दा म खुसी हुन्छु, त्यही लेख्छु। मभित्र भएको छटपटी लेख्छु । मेरो आफ्नो दृष्टिकोण जे हो त्यही लेख्छु। जे देख्छु, त्यही लेख्छु । र आफैँ पढ्छु । आफ्ना सन्तान हेरेर आमाबाबु दङ्ग परेझैँ खुसी हुन्छु । कसैले छापे पनि छाप्लान्, नछापे नछाप्लान्।
समाजमा परिवर्तनको विषय बने पनि बन्ला, नबने पनि नबन्ला । कसैले स्यावासीको पुरस्कार दिए पनि देलान्, नदिए पनि नदेलान् । त्यो मेरो सरोकार र इच्छित विषय होइन । तर म पनि समाजको एउटा सदस्य भएकाले समाजका विसङ्गति, असङ्गति नै त लेख्छु होला !
म बाँचेको संसारका पीडा पनि आम मान्छेकै पीडा हुने भएकाले मेरो साहित्य लेखनले समाजमा अग्रगामी परिवर्तनको कुरा उठायो भने पुलकित चाहिँ हुन्छु । पाठकदीर्घाले मनपराएको थाहा पाएँ भने म हर्षले विभोर हुन्छु र पाठकदीर्घालाई आभार टक्य्राउँछु ।
साहित्य के हो ?
प्रश्न जटिल हो मेरा लागि । सामाजिक, राजनीतिक, आर्थिक, भौतिक, पराभौतिक तथा मानवीय/अमानवीय सङ्गति/विसङ्गति/असङ्गतिबाट, पीडा र तृष्णाबाट, स्वार्थी दुनियाबाट दिग्दार भएका बेला मन बहलाउने सुमधुर कलात्मक पाटी हो साहित्य मेरा लागि, जहाँबाट सुन्दर सन्सारको कल्पना गर्छु । यसोगर्दा सुन्दर सन्सारमा बाँचेको अनुभूति हुन्छ मलाई ।
जीवन के हो ?
विमलजी, यो प्रश्न झन जटिल छ मेरा लागि । किनकि संसारमा धेरै वादमा, विचारमा, दर्शनमा, धर्ममा, कर्ममा, रिसर्चमा र लेखौटमा आएको विषयबस्तु हो जीवन । सबैले भोगेको र जानेको छु भन्ने विषय हो जीवन । तर मेरा विचारमा यो जीवन भन्ने विषय अनसोलभ्ड छ ।
यसको गहिराइ मापन अनुत्तरित छ । असम्भव पनि छ । मान्छे आफूले भोगेको, देखेको, सुनेको, लागेको, पढेको अद्र्धसत्यलाई जीवन भनिठान्छन् होला । तर जीवन त पूर्ण सत्य हो, जो कसैका वशमा छैन । जो कसैले भेटेका छैनन् । भेटेँ भन्नु वा चिनेँ भन्नु अन्धाले हात्ती छामेझैँ मात्र हो । भ्रम हो ।
जीवनदृष्टिबारे तपाईँकै शब्दमा ?
मान्छेको आफ्नो परिवेशले उब्जाएको चेत तथा चैतन्यको परिधिले जीवनदृष्टि निर्धारण हुन्छ होला । सायद म कसरी बाँचूँ भन्ने कुरा नै जीवनदृष्टि होला । यसबाहेक अनेकन कारण पनि हुन सक्छन् ।
मेरो आफ्नो जीवनदृष्टिकाबारेमा सोच्दा मेरी हजुरआमाले मलाई भन्नु भएको एउटा आहान सम्झन्छु । हजुरआमा भन्नु हुन्थ्यो – बुझेर ल्याउँदा काठको महत्त्व श्रीखण्डभन्दा बढी हुन्छ, बाबु । त्यो काठ हुन पाएको अनुभूति पाएँ भने मेरो जीवन सार्थक भएको ठान्ने छु ।
धर्म के हो ?
विमल सर, यो प्रश्न मलाई नसोधी दिनुभएको भए हुन्थ्यो । किनकि यो निकै जटिल छ । मेरो उत्तरलाई कठमुल्ला समाजले मन पराउँदैन । म भन्छु दुइटा मान्यता छन् यसका । देवताले मान्छे बनायो कि मान्छेले देवता बनायो ? देवताले मान्छे बनायो भन्ने कुरा मान्दा धर्मको अर्थ सजिलो छ।
राम्रा/नराम्रा, दया/निर्दया, धनी/गरिब वा जुनसुकै विषय वा घटनालाई प्रभुको लीला भनिदियो भने यो व्याख्याभित्र समग्र कुरा अटाउँछ।
तर म मान्छेले देवता बनायो भन्ने मान्यता राख्छु । किनभने, जुन देशमा जस्ता मान्छे छन्, त्यसै रूपका भगवानको निर्माण भएको छ ।
मान्छेले जे खान्छन्, भगवान पनि त्यही खान्छन् । बाहुनका लागि गणेश भगवान मासु खाँदैनन्, तर नेवारका लागि गणेश मासु खान्छन् । मान्छेले बनाएको हुनाले धर्मलाई तीन रूपमा बनाएका छन् । धर्मको पहिलो रूप अफिमको लतजस्तो देख्छु म । अफिमको नसा नलिई बाँच्न सक्तैन र त्यो नसाबाहेक उसले संसारमा केही देख्दैन।
त्यसका लागि ऊ जे गर्न पनि तयार हुन्छ । धर्म/धर्मका काटमार, धर्मयुद्ध आदि यसका उदाहरण हुन् । एक धमावलम्वीले अर्को धर्मावलम्वीलाई घृणा गर्ने यसै कारणले हो । धर्मको दोस्रो रूप अन्धविश्वासको रूपमा छ । यसलाई म बार्टर ट्रेड भन्न रुचाउँछु । उदाहरणको रूपमा भाकल प्रथालाई लिन सकिन्छ।
म यो ब्रत लिन्छु, तिमी मलाई यो कुरा देऊ भगवान्, म यो कुरा चढाउँछु भगवान् मेरो छोरो डाक्टर बनोस्, आदि । धर्मको तेस्रो रूप भनेको शान्ति, समर्पण, सत्कर्म, सहयोग, समन्वय, सह–अस्तित्व, त्याग, प्रेम, शुद्धता, सहृदय, समानता, मानवता, विश्वबन्धुत्व आदि हुन् ।
यी तीन प्रभेद मध्ये म तेस्रो रूपलाई मन पराउँछु । र पनि म बिनाहिच्किचाहट भन्छु कि यदि कसैले साँच्चै हृदयदेखि नै भगवान् र धर्मलाई मानेको छ भने यसले समारात्मक मनोविज्ञान दिन्छ, जसले जीवनमा मधुमास ल्याउँछ ।
तपाईँका कृतिहरू मध्ये मूलतः आख्यान कथामा प्राय पूर्वी तराइको जनजीवन पाइन्छ नि त्यसको कारण ?
म जन्मेको, हुर्केको, बढेको, पढेको ठाउँ नेपालको सप्तरी जिल्लाको रूपनगरको बस्तीपुर भन्ने गाउँ हो । त्यसैले मेरा दिमागमा त्यही परिवेश आइरहन्छ । त्यहीँको सभ्यता, संस्कृति, भाषा, भूगोल, सङ्गति/विसङ्गति, विश्वास÷अन्धविश्वास आदि जेजे छन् ती आइरहन्छन्। र लेख्छु ।
त्यसैले त्यस्तो लागेको होला । तर मैले डोटीको पृष्टभूमिदेखि लिएर ताप्लेजुङसम्मका हरेक प्रतिनिधि भूगोलमा कथा लेखेको छु । विदेश पनि लेखेको छु । पूर्वी तराईका विषयवस्तुमा मात्र म सीमित भएको भने छुइनँ ।
कथा लेखनतर्फ बढी रुचि हुनुको कारण ?
म लघुकथा लेख्छु । लघुकथा लेख्न निकै सिमाभित्र बस्नु पर्छ । बाँधिनु पर्छ । तर कथा लेख्न अलि खुल्न, कुद्न, र उफ्रन पाइन्छ । सीमा त छ कथाको पनि । तर कथाको सीमा यति फराकिलो छ कि मेरो चेतका र शिपका लागि पर्याप्त छ ।
लघुकथा लेख्दा जुन स्वाद आउँछ, त्यो भन्दा अलग खालको मजा कथा लेखनमा आउँछ । धौ फुकाएर लेख्न पाइन्छ, त्यसैले आख्यानको कथा लेखन क्षेत्रमा अलि बढी रुचि बढेको हुनसक्छ । त्यसो त लघुकथा, समीक्षा, निबन्ध आदि पनि मन पर्ने विधा हुन् ।
तपाईँका पात्रहरू निरीह, कमजोर छन् त्यसले नयाँ समाजको स्थापना होला र ?
मैले लेख्ने कथामा कथानकले मागेका ठाउँमा निरीह, कमजोर तथा विवस पात्रहरू छन् । तर कथाको मूल उद्देश्य समाज परिवर्तनको प्रगतिशील धारमा हुन्छन् । तत्काल अहिलेको अहिले हठात परिवर्तन गर्न हतियार उठाउने क्रान्तिकारी धारका कथा भने सायद छैनन् मेरा ।
प्रगतिशील धार भनेको राजनीतिक प्रगतिशील नबुझिदिनु होला । राजनीतिक प्रगतिशील धारले भुँडीका कुरा याने भोकका कुराको वकालत गर्छ भने मेरा कथाले टाउकाको याने दिमागको, हृदयको, पेटको र पेटमुनिको याने यौनका विषयमा प्रगतिशील धारणा बनाउँछन् ।
अग्रगामी सुधार खोज्छन् । मैले माथि पनि भनेँ कि म आफैँ खुसी हुन साहित्य लेख्छु । समाज परिवर्तनको कुनै पनि राजनीतिक धारलाई केन्द्रमा राखेर साहित्य लेख्दिनँ । तर समग्रमा म समाजमा सकारात्मक र अग्रगामी परिवर्तन चाहन्छु । मेरो यो चाहनाले नयाँ समाजको स्थापनामा अलिकति पनि सहयोग भयो भने म पुलकित भने हुन्छु ।
तपाईँका कथाहरू संवादात्मक आञ्चलिकता हुनछन् । मैथिली संवाद पनि बेजोड हुन्छ । त्यसको कारण ? अनुवाद गरेर संवाद राखिदिनु हुन्छ नि त्यसको कारण ?
पहाडे मूलको भए पनि मूलतः म तराईको मान्छे हुँ । मेरा ५ पुस्ता सप्तरीको रूपनगरमा बसिनै रहेका छौँ । तराई मेरो हृदयाञ्चल हो । म कथ्य मैथिली पनि जान्दछु । बोल्छु । त्यसैले मेरा कथामा तराईका सम्वाद आए भने त्यो लेख्छु र मैथिली नबुझ्ने पाठकका लागि नेपालीमा अनुवाद पनि गरिदिन्छु । खास कारण चाहिँ पाठकलाई पठन दुरुहता नहोस् भन्ने अभिप्राय हो । सम्प्रेषणीय होस् भन्ने चाहना राख्छु ।
तपाईँको विचारमा लघुकथा र कथा के हो ?
म लघुकथा र कथा दुबै लेख्छु । दुबै आफ्ना बगालमा पूर्ण आख्यान हुन् । कथा र लघुकथा दुबैका तत्त्व पात्र, घटना, शैली, प्रयोजन, थिम, पोइन्ट अफ भिउ आदि समान हुन्। दुबै पूर्ण हुन् । कथांश लघुकथा होइन । न त लघुकथाको विस्तारीकरण कथा हो । यो विन्दुबाट विचार गर्दा लघुकथा आख्यान साहित्यमा भँगेरो हो भने कथा गरुड हो ।
तुलनात्मक रूपमा लघुकथा कथाभन्दा छोटो हुने भो । तर ख्याल गर्नुपर्ने कुरा छोटो हुँदैमा कथांश र उपन्यासांश लघुकथा बन्न सक्दैनन् । लघुकथा बन्न कथावस्तुको विशिष्टता र बुनौटमा चुस्तता, प्रतिध्वन्यात्मकता, समापनमा चातुर्य र विपरीत भाव, कौतुहल आदि आवश्यक हुन्छ । कथा लामो हुने भएकाले कथाकारले खेल्न पाउँछ । लघुकथा छोटो हुने भएकाले सूत्रतातिर जानुपर्ने हुन्छ ।
मनपर्ने साहित्यकारहरू ?
मैले साहित्यका धेरै पुस्तक पढेको छैन । इतिहास पढेर÷पढाएर उर्बर जीवन बितेको हुनाले यो कमी भएको हो । मैले जति पढेँ त्यसमा म्याक्सिम गोर्की, टल्सटोय, रवीन्द्रनाथ टैगोरलाई सम्झिरहेको छु । नेपाली साहित्यको कुरा गर्दा पुराना सबै साहित्यकार मलाई मनपर्ने साहित्यकार हुन् ।
जति स्वाद आयो भूपिको घुम्ने मेचमाथि अन्धो मान्छे, त्यति नै मजा आयो देवकोटाको शाकुन्तल र बालकृष्ण समको मुकुन्द इन्दिरा । त्यसैले नाम नै लिन सकिन्न । अँ यताका भने सबै पुस्तक पढ्न पाएको÷भ्याएको÷जुरेको छैन । नयाँ पुराना जुरेकामा मलाई मनपर्ने साहित्यकार रमेश विकल, मन्दिरा मधुश्री, अुनपम रोशी, सानु शर्मा, नारायण तिवारी, किशोर पहाडी, माया ठकुरी, भागीरथी श्रेष्ठ, नारायण वाग्ले आदि प्रतिनिधि हुन् ।
जीवनमा बढी प्रभाव पारेका पुस्तकहरू ?
जीवनमा धेरै पुस्तकहरूले प्रभाव पारेका छन् । रजनिसका पुस्तक पढ्दा तार्किकतामा वल पुगेको छ । उनको ‘सम्भोग से समाधि तक’ पुस्तकले यौनकोबारेमा गरेको तार्किक व्याख्याले अहिलेसम्म प्रभाव पारेको छ । टल्सटोयको युद्ध र शान्तिका ४ भोलम उपन्यास पढ्दा अचम्म लागेको थियो ।
लागेको थियो यस्तो पुस्तक कसरी लेख्न सकिन्छ ! वामपन्थी विचार लिएर हिँडिरहँदा म्याक्सीम गोर्कीको आमा उपन्यासले दीर्घकालीन प्रभाव छोडेको छ । तसलीमा नसरिनको ‘लज्जा’ पढेर ब्रोड विचारकालागि निकै सहयोगी भएको छ । नेपाली साहित्यका पुस्तकमा भूपिको घुम्ने मेचमाथि अन्धो मान्छे पढ्दा आएको आनन्दको म बयान गर्न सक्तिनँ ।
नेपालीहरू वीर छन्, तर बुद्धु छन् । बुद्धु छन् त्यसैले वीर छन् । यो हरफले त वर्तमान नेपाललाई नै खर्लप्प बोकेको छ । वामपन्थी विचार लिएर हिँडिरहँदा प्रश्रितको देवासुर सङ्ग्रामले दिमागै हल्लाएको थियो त्यो बेला । देवकोटाको मुनामदन पढेर कैयौँपल्ट रोएको संस्मरण अहिले पनि आउँछ । वालकृष्ण समको ‘नियमित आकस्मिकता’ पढ्दा त्योभित्रको दर्शन प्रस्तुतिले दिमाग हल्लाएको थियो । धेरै छन् विमल सर, नाम कसरी दिऊँ !
साहित्य र इतिहासमा के फरक छ ? तपाईँ इतिहासको विद्यार्थी प्राध्यापक र अध्येता भएकाले सोधेको हुँ ।
कस्तो दमदार प्रश्न सोधिदिनु भयो । यो प्रश्न अहिलेसम्म मलाई कसैले सोधेको थिएन । मैले त्रिभुवन विश्वविद्यालयमा ३३ वर्ष इतिहास पढाएँ । इतिहासका १० थान पुस्तक लेखेँ । साहित्य पनि लेख्दैछु । त्यो अनुभवका आधारमा भन्ने हो भने इतिहास र साहित्य दुबैले समाजका घटना लेख्छन् ।
दुबैले मानवीय जटिलता लेख्छन् । तर इतिहास र साहित्यमा आकासपातालको फरक छ । पहिलो फरक भनेको इतिहास लेख्न कठिन छ । साहित्य लेख्न सकिन्छ । यो भनेको के हो भने इतिहास शतप्रतिशत तथ्यमा लेखिनु पर्छ । प्रमाणमा लेखिनु पर्छ । तथ्य भएन भने मिथक बन्छ । इतिहास विज्ञान हो, त्यो विज्ञान प्रस्तुति गर्दा थोरै कला चाहिन्छ ।
सही इतिहासको कुनै राजनीतिक वाद हुँदैन । अन्तर्राष्ट्रिय हुन्छ । तर इतिहास लेख्न थाल्यो भने अनेकन पूर्वमान्यताहरू अगाडि आउँछन् । ती पूर्वमान्यताले इतिहास लेख्न दिँदैन । तर साहित्यमा मजाले लेख्न सकिन्छ ।
आफूले चाहेअनुसार बुझेअनुसार लेख्न सकिन्छ । समाजका सबै सत्यलाई लेख्न सकिन्छ । किनकि साहित्य कला हो । यसमा बिम्ब, प्रतीक, भाषा, शैली आदिको कलात्मक प्रयोग गरेर लेख्न सकिन्छ । अब साहित्यकार नै कुनै कुराबाट परिचालित छ भने त अर्कै कुरा भयो ।
नेपाली साहित्य अन्तर्राष्ट्रिय स्तरमा पुग्न सकेको छ ? तपाईँको विचारमा । यसको थप विकासमा के गर्नु पर्ला ?
समग्र नेपाली साहित्यलाई हेर्ने हो भने धेरै नेपाली साहित्य अन्तर्राष्ट्रिय स्तरमा पुग्ने खालका छन् । तर त्यति धेरै नेपाली साहित्य अन्तर्राष्ट्रिय क्षेत्रमा पुगेको भने छैन । म लघुकथाको एउटा दृष्टान्ट दिन्छु है – नर्टन एण्ड नर्टनले प्रकाशन गरेको ‘फ्ल्यास फिक्सन इन्टरनेसनल : भेरी सर्ट सटोरिज फ्रम अराउण्ड द वल्र्ड’ भन्ने पुस्तकमा संसारभरिबाट १०००० लघुकथा सङ्कलन गरी ८६ वटा लघुकथाको सङ्ग्रह प्रकाशन गरिएको छ। जसमा भारत, बङ्गलादेश तथा आफगानिस्तान छन् । नेपाल छैन । यो उदाहरणबाट नेपाली साहित्यको अन्तर्राष्ट्रिय अवस्था थाहा हुन्छ ।
यसबाट प्रष्ट भएको कुरा के हो भने नेपालमा लेखिने साहित्य नेपाललाई मात्र मध्यनजर गरेर लेखिन्छ । जो विश्वमा पुगेपछि परिवेश र मान्यताका फरकका कारणले सम्वेदनाहीन बन्न पुग्छ । अर्को राम्रा साहित्य कृतिको अनुवाद पनि भएको छैन ।
किनकि नेपालमा राम्रा भन्दा हाम्रा भन्ने पद्दति छ । साहित्यकारका राजनीति जस्तै गुट छन् । ती गुट आफ्नो साहित्यिक सत्ता अन्त नजाओस् भन्ने चाहन्छन् । त्यसकारण पहिलो कुरो विश्वजनीन साहित्य लेखिनु पर्यो । स्तरीय अनुवाद हुनुपर्यो । विश्वमा पुर्याउनु पर्यो । प्रचारप्रसार गर्नु पर्यो । अनि पो नेपाली साहित्य अन्तर्राष्ट्रियस्तरमा देखिन्छ त । नत्र कामना गरेर मात्र कसरी पुग्ने हो र !
भ्रमणशील, यायावर, अस्थिर स्वभावका स्रष्टा खेमराजका संस्मरण उपन्यासका कृति आउने सम्भावना कत्तिको छ ? डायस्पोरा साहत्यिकार पनि भन्छन् तपाईँलाई । वास्तवमा डायस्पोरा भनेको के हो ?
वास्तवमा म भ्रमण गर्न रुचाउने मान्छे हुँ । मौका पायो कि एउटा झोला टिपेर हिँडिहालूँ जस्तो लाग्छ । त्यसकारण मलाई यायावर भनिएको होला । यद्दपि यायावर र मेरो घुमाइ फरक कुरा हुन् । संस्मरण लेखिरहेको छु । तर संस्मरण प्रकाशित गर्ने अहिले बेला भएको छैन भन्ने लाग्छ । बाँचिएछ भने आफ्नै जीवनकालमा संस्मरण प्रकाशन गरौँला नत्र सन्तानलाई भनेको छु, उनीहरूले प्रकाशन गर्छन् ।
उपन्यास लेख्दैछु । चाँडै निस्कियोस् भन्ने कामनासहित वल पनि गर्दैछु । हेरौँ कहिले समय जुर्छ । हाल म अमेरिकामा बस्दै आएको र सन २००२–२००७ सम्म आफैँले ग्यास स्टोरमा काम गरेको हुनाले डायस्पोरिक पीडासँग थोरबहुत प्रत्यक्ष परिचित छु । जे बुझेको छु, भोगेको छु र अनुभूत गरेको छु, त्यही लेख्ने हुनाले सायद डायस्पोरिक पीडा पनि लेखियो होला ।
त्यसैले डायस्पोरिक साहित्यको मान्छे भनियो भने म आश्चर्य ठान्दिनँ । यद्दपि डायस्पोरा शब्दको अर्थ अलि निकृष्ट छ । कुनै ठाउँ वा देशबाट बलात अर्को देशमा पुर्याएर जवर्जस्ती काममा लगाउने अर्थ बोकेको छ ।
तर त्यो अर्थमा उत्कर्ष भएर नेपाली साहित्यमा डायस्पोरा भएको छ । यसअनुसार विदेशमा आफ्नो देश कुनै पनि कारणले छोडेर अर्काको देशमा बस्न जाँदाका पीडा लेख्नु डायस्पोरिक साहित्य हो । तर विदेशमा बसेर नेपालका पीडा लेख्नु डायस्पोरिक होइन ।
तपाईँ समीक्षा लेखनमा पनि सशक्त कलम चलेको पाइन्छ । कत्तिको सैद्धान्तिक ज्ञान लिनेगर्नु हुन्छ ? राम्रो समीक्षक बन्नुभएको छ। यसको श्रेय कसलाई जान्छ ?
विमलजी प्रष्टाप्रष्टी भन्नु पर्दा म समालोचक वा समीक्षक होइन । मैले इतिहासमा एमए गरेको हुनाले पश्चिमा तथा पूर्वीय साहित्य समालोचनाको विषयमा मसँग गुढ र यथेष्ट ज्ञान नहुनु स्वाभाविक हो ।
म खासमा समीक्षा वा समालोचनाको अत्याधुनिक ‘न्यू क्रिटिसिज्म’को अवधारणा मन पराउँछु । त्यो भनेको कृतिले मात्र होइन, समीक्षाले पाठकको मनलाई छुनुपर्छ भन्ने सिद्धान्त हो । त्यसैले एउटा पाठक भएर पुस्तकभित्र रहेको विषयवस्तुलाई गवेषण गरी पाठकीय नजरिया पस्किने गर्छु । अब त्यसलाई द्रष्टाहरूले समालोचना वा समीक्षा भनिदिनु भयो भने त्यो द्रष्टाको सार्वभौम अधिकार हो । यसमा मेरो आनाकानीको कुनै अर्थ हुन्न । पाठकीय नजरिया पस्कनुको ध्येय म एउटा पाठक भएको प्रमाण मात्र हो । समीक्षकको श्रेय पाएँ भने मेरो भाग्य हो ।
आफूलाई के वादी भन्न रुचाउनु हुन्छ ?
राजनीतिमा म केटाकेटीदेखि नै वामपन्थी रुझान राख्दैआएको छु । त्यसै पक्षलाई भोट हालिरहेको छु । यो अर्थमा मलाई वामपन्थी भनिदिनु भयो भने पनि म केही भन्दिनँ । यदि तपाईँको आशय साहित्य हो भने म वामपन्थीले भनेको साहित्यिक घेराभित्र अटाउँदिन् ।
म स्वतन्त्र र स्फूर्त हुन खोज्छु । कुनै वादमा आधारित भएर साहित्य सिर्जना गर्दिनँ । उन्मुक्त हुन चाहन्छु । तर मैले लेखेका साहित्य काकतालीले कुनै वादसँग मिल्यो भनियो भने पनि मलाई केही फरक पर्दैन ।
भर्चुअल संसारमार्फत देखिनु हुन्छ नि त्यसको कारण ?
भर्चुअल संसार मेरो निर्माणस्तम्भ हो । सुरुसुरुका दिनमा मात्र होइन, अहिले पनि राष्ट्रिय पत्रिकामा मेरो र मजस्ता लपसिक्खाका लागि प्रकाशनको बाटो दुरुह छ । म कसैलाई चिन्दिनँ । चिनेकालाई पनि भन्दिनँ । सरल, सहज र सुखद रह्यो भने छाप्न नदिने भन्ने पनि कुरा होइन । खुसामद गरेर के छाप्न लगाउनु भन्ने गलत विचारले मेरो मनमा जरा गाडेको छ ।
त्यसकारण सामाजिक सञ्जालमा आफ्ना साहित्य सिर्जना पोस्ट गर्न सजिलो छ । अझ मजस्तो लपसिक्खा र सनकसिङलाई त झन् वरदानै छ । त्यसकारण म सामाजिक सञ्जालमा पोस्ट गर्छु । अनलाइन पत्रिकामा छापिन्छन् । पाठकलाई मन परे तत्काल लाइक, कमेण्ट सेयर पाउँछु । नपरे गाली त छँदैछ ।
साहित्यलाई अनुत्पादक मान्नेहरू पनि छन् । अनुत्पादक क्षेत्र भए किन प्रवासमा बसेर एकोहोरो भएर लागेको ?
खासमा भन्ने हो भने साहित्य भौतिक रूपले अनुत्पादक नै हो । तर अहिलेको वैश्य युगमा संसारमा मान्छेले उत्पादक पनि बनाएका छन् । लेखाइ प्रकाशक र पत्रिकाले भनेअनुसार लेख्ने र उत्पादक बनाउने क्रम पनि छ ।
यसलाई पनि म एकदम नाजायज भन्दिनँ । तर म आफू रमाउन लेख्ने भएकाले मेरो लागि साहित्य लेखन आर्थिक रूपमा अनुत्पादक नै हो । मेरा कृति कुनै प्रकाशकले छापेर मलाई पाल्ने रोयल्टी दिए भने नलिने भन्ने प्रश्न पनि हुँदैन । प्रवाशमा बसेर बुढारी व्यतीत गर्दैछु । घरपरिवार, नातिनासँगबाट उब्रेको समय मन बहलाउन प्रयोग मात्र गरेको हो । एकोहोरिएको भने होइन ।
तर पनि सामाजिक सम्बन्ध तथा मनोवैज्ञानिक तबरमा हेर्ने हो भने मेरो लागि साहित्य उर्जाशील हो । उत्पादनशील हो । किनभने ३३ वर्ष इतिहास पढाउँदा नपाएको सामाजिक सन्तुष्टि यो १० वर्षको साहित्यसाधनाका दौरान पाठकको मायाले पाएको छु । चुर्लुम्म डुबेको छु ।
व्यस्त संसारमा सबैले काम गर्नुपर्छ । तर तपाईँ रातदिन नेपाली साहित्यको चिन्तनमा घोरिनु भएको पाइन्छ नि ?
जाहेर छ, अमेरिका व्यस्त मान्छे बस्ने देश हो । काम नगरी खान नपाइने देश हो । मेरो दोस्रोपल्टको यो अमेरिका प्रवाश बुढारी व्यतीत मात्र हो । यतिबेला म जीविकोपार्जनका लागि अमेरिकामा बसेको होइन ।
बुढेशकालमा सन्तानको छहारीको सिँयाल ताप्न मात्र अमेरिकामा बसेको हुँ । त्यसैले म परिवारलाई दिएर उब्रेको समयमा मनलाई दाइँमा नार्न साहित्य सिर्जनामा हुन्छु । एकदम चिन्तनशील भएर रातदिन घोरिएको पनि होइन ।
प्राय कथाहरू यौनविषयक हुने गर्छन् नि यसले तपाईँलाई यौनवादी आख्यानकार भनी टिप्पणी गर्ने सम्भावना छ । यसबारे केही भन्नु छ ?
एकदम सान्दर्भिक प्रश्न सोध्नु भयो विमल सर । तर मेरा सबै कथाहरू यौनविषयक हुने गर्छन् भन्ने कुरा होइन । मान्छेको जीवनभित्र जम्मा ४ थरि मूल विषयवस्तु हुन्छ । पहिलो हो टाउको याने गिदी याने दिमाग । बुद्धि, तर्क, वादविवाद, राजनीति लगायतका विषयहरू यही टाउकासँग सम्बन्धित विषय हुन् । दोस्रो हो हृदय । याने कि दया, माया, त्याग, धर्म, सहनशीलता आदि यसै फाँटमा पर्छन् ।
यसमा दिमागको गौण भूमिका हुन्छ । तेस्रो हो पेट । याने कि भोक । उत्पादनसँग जोडिएका कुरा र भोकले उब्जाएको परिवेशको चित्रण यो सिद्धान्त अन्तरगत पर्छ । र त्यसपछि आउँछ पेटमुनिको कुरा याने यौनको कुरा । हरेक मान्छेको जीवन यही चारवटा आवश्यकताभित्र घुमेको हुन्छ । संसारभरिका साहित्य पनि यही चार विचारका उत्पादन हुन् ।
यी चारैवटाको चौबाटो जोडिएको ठाउँमा हुन्छ जीवन । समाजले पहिला ३ वटाका बारेमा कुरा गर्न, भोग्न, साहित्य लेख्न कुनै बाधा व्यवधान गर्दैन । तर जब उत्तिकै महत्त्वको यौनको कुरा आउँछ अनि समाज वा मान्छे लुकाउँछन् र लुकिलुकी त्यो भोग गर्छन् ।
मैले यसलाई यसरी भन्ने गरेको छु कि यौनको मामलामा मान्छे कम्मल ओढेर घिउ खान्छ र त्यही कम्मलले चिल्लो ओठ पुछेर बाहिर आउँछ र साखुल्ले बन्छ र यौनलाई गाली गर्छ । यस्तो अवस्थामा म यौनको विषयलाई पनि उत्तिकै महत्त्व दिने भएकाले कसैले मलाई यौनवादी आख्यानकार भनिदियो भने मैले किन पो टाउको दुखाउँछु र ! मलाई यौनवादी आख्यानकार भन्ने परिवेश पनि मझैँ स्वतन्त्र छ नि !
पाको तर उत्तर आधुनिक नेपाली साहित्यका वर्तमानका सक्रिय सर्जक भनी टिप्पणी गर्दा कस्तो होला तपाईँलाई ? यसबारे तपाईँको जबाफ ?
मेरो सानैदेखि साहित्यमा रुचि भए पनि फाट्टफुट्ट प्रकाशन भए पनि ७० को दशकदेखि नै अलि सघन साहित्यमा लागेको हुँ । यो कुरा साँचो हो कि म झण्डैझण्डै जागिरे जीवनबाट निवृत्त हुने बेलामा लागेको हुँ ।
अब मलाई मेरा पाठक वा मेरो परिवेशले पाको तर उत्तर आधुनिक नेपाली साहित्यका वर्तमानका सक्रिय सर्जक भनी टिप्पणी गर्नुभयो भने मैले प्रत्युत्तर दिनै पर्दैन । किनकि पाठक त्यो सार्वभौम अधिकार लिएर बसेको हुन्छ ।
अहिले बालसाहित्यमार्फÞत राष्ट्रिय स्तरका पत्रिकामा बेलाबेला देखिनुभएको छ ? खÞासमा बालसाहित्यमा बढी रुचि देखाएको पाइयो नि ?
तपाईं खासमा कथाकार, समीक्षक, संस्मरणकार, इतिहास विश्लेषक के हो ? के भनी चिनिदेओस भन्नुहुन्छ? र, निकै छोटो अवधिमा साहित्यमा स्थापित भएर चर्चाको शिखरमा पुग्नुभएको छ। करिब दर्जन पुस्तकाकार कृति प्रकाशित गरी नेपाली साहित्यका लागि गुन लगाउनुभएको छ। कृति प्रकाशन जटिल कुरा हो नि यो कसरी सम्भव भयो ? बताइदिनुहोस न!
राष्ट्रिय पत्रिका नागरिक अनलाइनमा मेरा केही बालआलेखहरू आएका छन् । म अमेरिकामा नातिनी स्याहार्दै बसेकाले अमेरिकामा बालबालिकाको हुर्काइ र नेपालमा बालबालिकाको हुर्काइकाबारेमा तुलना गरी केही लेखिदिनुहोस् न भन्ने अनुरोध नागरिक अनलाइनका मित्र श्रीराम राईबाट आएकाले बाल–साहित्य लेखेको हुँ । तर म बालसाहित्यकार हुँ भनेर दाबी गर्दिनँ ।
इतिहास मेरो पहिलेको जीवन थियो, अहिले इतिहास/राजनीतिको विश्लेषण मेरो प्राथमिकतामा पर्दैन । म समीक्षक पनि होइन, यो कुरा मैले माथि पनि भनिसकेको छु । म खासमा नेपाली भाषा साहित्यको आख्यान फाँटमा रमाएको छु । लघुकथा, कथा, संस्मरण, नियात्रा, उपन्यास आदि ।
मलाई के भनेर चिनाइयोस् भन्ने कुरामा मेरो केही आग्रह छैन । आग्रह भएर हुने कुरा पनि होइन । देवकोटाले दर्बिला कथा, निबन्ध आदि लेखे तर उनलाई महाकवि भनियो । महासाहित्यकार भनिएन । जे जे लेखे पनि पाठकका विचारमा के लाग्छ त्यही भनिने हो । यो पाठकको विषय हो ।
म एकदम चर्चाको शिखरमा पुगेको पनि छैन । किनकि यो यात्राको कुनै जेनिथ छैन भन्ने लाग्छ मलाई । कुनै चुली छैन । चुलीमा पुगेको भनेको व्यक्तिको इल्युजन हो । मैले नेपाली साहित्यलाई गुन लाउने प्रयोजनमा पनि कृति लेखेको होइन ।
मेरो रञ्जन मात्र हो । अब मेरो रञ्जनले नेपाली साहित्यमा केही गरेको ठानियो भने त त्यो दिन मेरो जीवनको जेनिथ उपलब्धियुक्त क्षण हुनेछ । मेरा कृति प्रकाशन कसरी सम्भव भयो भन्ने कुरामा मेरो रहरले हुटहुटी लगायो । शुभेच्छुक साथीभाइ र प्रियजनका माया र आशीर्वचनले सम्भव भयो ।
परदेशको जीवन र नेपाली जनजीवनमा के भिन्नता पाउनु भयो ?
परदेश भन्नु भएको तात्पर्य अमेरिका भन्नुभएको होला । अमेरिकाबाहेक अन्यत्र परदेशको अनुभव छैन मलाई । अमेरिकी जनजीवन र नेपाली जनजीवनमा आकाश पातालको भेद छ । भारतीय आमा र जमाइकाका बाबु भएकी अमेरिकी महिला अमेरिकाको उपराष्ट्रपति छिन् ।
नेपालमा शताब्दीदेखि बसेका मान्छे अधिकार खोज्दैछन् । अमेरिकामा बिबाह व्यक्तिको निजी विषय हो । तर मेरो गाउँमा नेवार ठूल्दाइले विधवा बाहुनी बिहे गर्न खोज्दा भागेर आसाम भासिनु परेको अस्तिजस्तो लाग्छ ।
अहिले पनि जातको ठूलो अन्तरमा बिहे गर्न खोज्दा, सामाजिक वहिष्करणमा परेको, कुटिएको, मारिएको घटना ताजै छन् । अमेरिकामा महिला अन्तरीक्षको तयारी गरिरहँदा नेपालका महिला छाउपडीमा छन् । छाउपडीमा छैनन् भन्नु हुन्छ भने पनि घरभित्र नै ४ दिन छाउपडी बनाएका छन् । यो ४ दिनको कुरा उपल्लो र इलाइट भनिएको वर्गको हो ।
तपाईँलाई थाहै छ अमेरिकामा काम नगरी खान पाइन्न । असल र सफल काम गर्नु अमेरिकी दक्षता हो भने सकभर काम नगर्नु, गरिहाले काम चोर्नु नेपाली विशेषता हो नेपालमा छँदा । तर जब तिनै नेपाली अमेरिका छिर्छन अनि कामलाई पहिलो प्राथमिकता दिन्छन् ।
अमेरिकामा नेपाली अब्बल कामदार मानिन्छन् । अमेरिकामा ३०० वर्ष पहिला खोजिएको राजनीतिक प्रणाली नेपालमा अहिले खोजिँदैछ । नेपाल यही सिस्टममा नै अल्झिएको छ । के को तुलना गर्नु र ! अमेरिकी चलन तथ्यमा विरोध वा समर्थन गर्छन् तर नेपालमा हावामा तिलस्मी कल्पनामा विरोध गर्छन् । मर्न तयार हुन्छन् ।
अर्कोतिर नेपालमा भएको सामाजिकता, सद्भाव, संस्कृति, परम्परा, इतिहास, भूगोल, सौन्दर्यको गौरब त अमेरिकामा कहाँ पाउनु ! मान्छे यन्त्र भएको देखिन्छ अमेरिकामा । नेपालको सगरमाथाको गौरवको तुलना अमेरिकाको कुन पहाडसँग गरूँ ! मेरी गरिब आमाको ममताको अर्काकी धनी आमासँग कसरी तुलना हुन सक्छ र !
डलरको सपना बोकेर लामो समय सात समुद्रपारि रहँदाका सुखदुःखका क्षण भए सटीक रूपमा बताइदिनुहुनछ कि ?
अमरिका प्रवाशका मेरा दुई अनुभव छन् । पहिलोपल्ट २००२ मा अमेरिका आउँदा म नितान्त डलरको लागि आएको थिएँ । तर दोस्रोपल्ट सन २०१७ मा म अमेरिका आउँदा ग्रिनकार्ड पाएरै आएको छु । यो बेलाको मेरो ध्येय डलर कमाउनु होइन । परिवारभित्र बसेको छु । खाएको छु ।
केही समस्या वा दुःख छैन । तर जबजब म, मेरो नेपाललाई सम्झन्छु, तबतब मबाट जीवन हराएझैँ लाग्छ । चाडपर्व, मेला, हाटबजार, भाषा, संस्कृति, साथीभाइ, इष्टमित्र, आफन्त सबैका सबै एकैपल्ट मिस हुन्छ । अनि म त्यो वेला भावविह्वल हुन्छु ।
अन्त्यमा नव आगन्तुक अुनज साहित्यानुरागी, लेखक÷पाठकलाई साहित्य लेखनका सन्दर्भमा केही सुझाव दिनु हुन्छ कि ?
किस्सा नव–आगन्तुक अनुज पुस्ताका साहित्यानुरागी पाठक÷लेखकलाई साहित्य लेखनका सन्दर्भमा केही भन्नु पर्ने कुरा । म उमेरले केही बिस हिउँद खाएर मात्र साहित्यमा सघन आएकाले निकै कम उमेरका साथीहरू पनि मभन्दा अग्रज हुनुहुन्छ। कोही मेरो समकक्षी हुनुहुन्छ।
त्यसपछि पनि सघन साहित्यकार आइरहनु भएको छ । स्रष्टा हुन चाहने साथीहरूलाई भन्छु कि पहिले लेख्नुस्, निरन्तर लेख्नुस् । अनि स्तरीय लेख्न खोज्नुस् । स्तरीय हुनका लागि पाठक प्रतिकृया र अग्रजका सल्लाह निकै सहयोगी हुन्छन् ।
तत्तत् विषयका पुस्तकको पठनले उर्जा, शिप तथा स्तरीयता मापनको मेलो दिन्छ । मेरा गोरुको मोल बाह्रै टक्का भन्ने मान्यता राखियो भने अलि गाह्रो हुन्छ । पाठक सार्वभौम हो । उसलाई स्रष्टाले केही भन्न हुँदैन । तर पनि पाठक महोदय, कुनै पुस्तक पढ्नु भयो भने आलोचनात्मक दृष्टिकोण राखिदिनुहोस् ।
आलोचनात्मक दृष्टिकोण भनेको हियाउनु, हतोत्साही बनाउनु भने किमार्थ होइन । यसले स्रष्टालाई सुध्रिने मौका प्राप्त हुन्छ । नत्र त त्यसै राम्रो भनिएका टिप्पणीहरू स्रष्टाका लागि प्रत्युत्पादक पनि बन्न सक्छन् । अन्त्यमा विमलजी, यति लामो अन्तर्वार्ताका लागि तपाईँलाई हार्दिक धन्यवाद अर्पण गर्दछु ।
Facebook Comment