के प्रधानमन्त्री ओलीले सीएनएनमा भने जस्तै कोरोनाको अवस्था नियन्त्रणमा छ ?

डिसी नेपाल
२५ वैशाख २०७८ २०:०७

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी समाचार च्यानल सीएनएनलाई दिएको छोटो अन्तर्वार्ताले शनिबार निकै चर्चा पाएको छ। यो अन्तर्वार्ताले चर्चा पाउनको कारण प्रधानमन्त्री ओलीले अन्तर्वार्ताका क्रममा दिएको जवाफ हो।

सीएनएनसँगको कुराकानीमा प्रधानमन्त्री ओलीले कोरोना महामारीको अवस्था ‘सिचिएसन अन्डर कन्ट्रोल’ भनेर जवाफ दिए। के उनले भने जस्तै नेपालमा कोरोनाको अवस्था नियन्त्रणमै छ त? त्यसका लागि धेरै टाढा पुग्न पर्दैन। बिहीबार दाङको बेलझुण्डी अस्पतालमा दुईजना संक्रमित अक्सिजन अभावका कारण ज्यान गुमाउन बाध्य भए। शुक्रबार काठमाडौं उपत्यकामै एकजनाले अक्सिजन अभावमा एकजनाको मृत्यु भयो। भक्तपुरस्थित भक्तपुर इन्टरनेशनल अस्पतालमा एक संक्रमितको मृत्यु भयो।

उता बुधबार बाँेकेको कोहलपुरस्थित कोहलपुर शिक्षण अस्पतालले कोरोना संक्रमितका लागि ३०० बेड भए पनि अक्सिजन अभावका कारण विरामी भर्ना गर्न नसकिने बतायो। यतिमात्र होइन नेपाल चिकित्सक संघले शनिबार एक विज्ञप्ति जारी गर्दै अस्पतालहरुमा अक्सिजनको आपूर्ति गर्न माग नै गरेको छ।

के यस्तो अवस्थालाई अण्डर कन्ट्रोल भन्न सकिन्छ? यतिमात्र होइन अवस्था निन्त्रणमा छैन भन्ने अर्को दर्दनाक दृश्य काठमाडौं उपत्यकाको शव जलाउने स्थान पशुपतिनाथ परिसरको छ। विद्युतीय शवदाह गृहले नभ्याएपछि बागमती नदीको किनारामा शव जलाउनु परेको नेपाली सेनाले जनाएको छ। सेनाका प्रवक्ता सन्तोषबल्भव पौडेलले डिसी नेपालसँग भने, ‘नदी किनारामा शव जलाउन थालेपछि जलाउने स्थानको अभाव भएको छैन। ठाउँ नपुगेरै नदी किनारामा जलाउन थालिएको हो।’

पशुपतिस्थित शव व्यवस्थापन गरिरहेका सुवास कार्कीले शनिबारमात्र ६० बढी शव जलाइएको जानकारी दिए। उनले शुक्रबार ७५ शव जलाइएको डिसी नेपालसँग भनेका छन्। उता सेना स्रोतले भने शनिबार ६४ वटा शव व्यवस्थापन गरिएको बताएको छ। तर, स्वास्थय तथा जनसंख्यामन्त्रालयको तथ्यांक भने यो तथ्यांकसँग मेल खाँदैन। मन्त्रालयले शुक्रबार ५१ र शनिबार ५३ जनाको देशभरमा मृत्यु भएको तथ्यांक दिएको छ।

सीसीएनएनले शनिबार प्रधानमन्त्री ओलीको छोटो अन्तर्वार्ता लिनुअघि देशवासीका नाममा सम्बोधन गर्नेक्रममा अंग्रेजीमा गरेको सम्बोधनको सानो क्लिप्स बजाएको थियो। जसमा प्रधानमन्त्री ओलीले कोरोनाविरुद्धको लडाइँमा सहयोग गर्न अन्तर्राष्ट्रिय समूदायसँग आग्रह गरेका थिए। प्रधानमन्त्रीले शनिबार सिचुएसन अण्डर कन्ट्रोल भनेको रिपोर्ट सीएनएनबाट प्रशारण हुँदैगर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ८४१८ नयाँ केस पुष्टि भएको जानकारी दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *