काेराेनाबाट एमाले प्रदेश कमिटी सदस्यको मृत्यु
डाेटी। कोरोना भाइरसका कारण नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी तथा डोटीको शिखर नगरपालिका–३ का युवानेता लालबहादुर कठायतको आज मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार केही दिन पहिले कोरोना सङ्क्रमण भई थप उपचारका लागि कैलाली लगिएका नेता कठायतको आज बिहान मृत्यु भएको हो।
लामो राजनीतिक इतिहास बोकेका कठायत जिल्लामा निडर, साहसी तथा मिलनसार युवानेताका रूपमा चिनिँदै आएका थिए। उनको मृत्युले सिङ्गो नेकपा एमाले डोटीसहित प्रदेश कमिटी स्तब्ध भएको एमालेका जिल्ला अध्यक्ष रामबहादुर ऐरले बताए।
उनले भने, “कठायतजी पार्टीका लागि एक कर्मठ, इमान्दार र त्यागी नेता हुनुहुन्थ्यो, उहाँको निधनले पार्टीलाई अतुलनीय क्षति भएको छ।” केही दिन पहिले कोरोना परीक्षण गर्दा उनको पिसिआर पोजेटिभ देखिएको थियो। उनीसहित कोरोना भाइरसको सङ्क्रणबाट डोटीमा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। रासस
Facebook Comment