नेपालमा अक्सिजन नपाएर कम्तीमा १६ जना बिरामीको मृत्यु
काठमाडौं। नेपालमा अक्सिजन नपाएर कम्तीमा १६ जना बिरामीको मृत्यु भएको छ । बीबीसी हिन्दीले नेपालका स्वास्थ्य अधिकारीहरुलाई उद्धृत गर्दै अक्सिजनको अभावमा मुलुकको दक्षिणी भेगमा कम्तिमा १६ जना कोभिड–१९ जना बिरामीको मृत्यु भएको बताएको छ । लुम्बिनी प्रदेशमा कोरोना संक्रमणका बिरामी ह्वात्तै बढेका छन् र अस्पतालहरुले बिरामीका लागि अत्यावश्यक औषधि र अक्सिजनको माग गरिरहेका छन् ।
कोरोना महामारीका कारण भारतले अक्सिजन निर्यातमा प्रतिबन्ध लगाएपछि हाल नेपालमा अक्सिजनको अभाव भइरहेको छ। कोरोनाको दोस्रो लहरका कारण भारतको छिमेकी नेपाल पनि नराम्ररी प्रभावित भएको छ । गत २४ घण्टामा नेपालमा ९ हजारभन्दा बढी संक्रमणका केस भेटिएका छन् । काठमाडौँ विश्वविद्यालय चिकित्सा विज्ञान विद्यालयका इपिडिमियोलोजिस्ट डा. अर्चना श्रेष्ठ नेपालमा कोरोनाको महामारी भारतमा भन्दा घातक भएको बताउँछिन् ।
उनका अनुसार प्रारम्भिक चरणमा भारतमा दैनिक १० लाख जनामध्ये २४० वटा मात्र कोरोना संक्रमण केसहरु भेटिएको रिपोर्ट आएको भए पनि नेपालमा प्रत्येक १० लाखमा दैनिक ३०४ वटा संक्रमणका केसहरु भेटिएका छन् । उनका अनुसार नेपालमा मृत्युदर पनि बढी छ । नेपालमा प्रत्येक १० लाखमा ३.३ जनाको मृत्यु भइरहेको छ जबकि भारतमा यो दर २.५ प्रतिशत मात्र छ ।
Facebook Comment