तेस्रो पटक देशको बागडोर ओलीको हातमा

डिसी नेपाल
३० वैशाख २०७८ २२:२१

काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्री बनेका छन्। ओली प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलको नेताको हैसियतमा संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री नियुक्त भएका हुन्।  सपथ भने शुक्रबार हुनेछ।

विपक्षीहरु बहुमत जुटाउन असफल भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलको नेताको हैसियतले विहीबार राति प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्।

गत सोमबार संसदमा विश्वासको मत लिन असफल भएपछि ओली स्वतः पदमुक्त भएका थिए। त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार बेलुका ९ बजेसम्म दलहरुलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार बनाउन दावी पेश गर्न आव्हान गरेकी थिइन्।

यो तीन दिनसम्म काँग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र समूहले काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउने कसरत गरे पनि यो गठबन्धनले बहुमत पु्याउन सकेन। जसपाको महन्थ ठाकुर समूहले तथस्टको नीति लिँदै देउवालाई समर्थन नगरेपछि ओली तेस्रो पटक प्रधानमन्त्री बन्ने बाटो खुलेको थियो।

ओली पहिलो पटक संविधानसभाबाट संविधान जारीपछि २०१५ अक्टोबर १२ मा प्रधानमन्त्री बनेका थिए। उनी पहिलो कार्यकालमा लोकप्रियसमेत बने। भारतले संविधान जारी गर्दाका समय लगाएको नाकाबन्दीको खुलेर विरोध गरेपछि ओलीले राष्ट्रवादी नेताको जबरजस्त छवी बनाएका थिए। पहिलो कार्यकालमा चीनसँगको पारवहन सम्झौता, नाकाबन्दी हटेपछिमात्र भारतको भ्रमणलगायतका उनका कामले उनलाई लोकप्रियताको शिखरमा पुर्याएको थियो।

त्यसपछि २०७४ को मंसिरमा भएको आम निर्वाचनमा एमाले र माओवादीको गठबन्धनले प्रचण्ड बहुमत ल्याएपछि २०७४ फागुन ३ गते संविधानको धारा ७६ को उपधारा २ बमोजिम गठबन्धन सरकारको नेतृत्व गर्दै ओली दोस्रो पटक प्रधानमन्त्री बने।

यो कार्यकाल भने विवादै विवादले भरिएको रह्यो। गठबन्धन गरेका एमाले र माओवादीले २०७५ जेठ ३ मा पार्टी एकीकरण गर्दै नेकपा नामको दल स्थापना गर्दा ओली एकल बहुमतको प्रधानमन्त्रीमा रुपान्तरण भएका थिए।

तर नेकपा भित्र २०७६ को मंसिरदेखि शुरु भएको विवादले २०७७ पुस ५ मा उग्र रुप लियो। सरकारले प्रतिनिधिसभा विघटन जस्तो असंवैधानिक निर्णय लियो।

त्यसपछि नेकपामा पनि विग्रह आयो। र यसको दोष पनि ओलीमाथि नै धेरे बोकाइयो। फागुन ११ मा सर्वोच्चले प्रतिनिधिसभाको पुनःस्थापना गरिदिएपछि नैतिकताका आधारमा ओलीको राजीनामा मागियो। तर, उनले राजीनामा दिएनन्। नेकपामा कमजोर रहेका ओलीलाई संजीवनी बुटि बनेर फागुन २३ मा सर्वोच्च अदालतले फैसला गर्यो – एमाले र माओवादी ब्युँताउने नेकपा खारेज गर्ने। यो निर्णयसँगै ओली पुनः शक्तिशाली बने। प्रचण्डसँग रहेको एमालेका माधव नेपाल समूह रक्षात्मक बन्यो। फागुन २८ मा ओलीले बालुवाटारमा आफू निकट नेताहरुको बैठक राखेर एमाले केन्द्रीय कमिटीको विशेष बैठक भन्दै नेता नेपालहरुको जिम्मेवारी खोसिदिए।

यसपछि एमालेमा पनि विवाद चर्कियो। फलस्वरुप गत सोमबार प्रधानमन्त्रीले संसदमा राखेको विश्वासको मतको प्रस्तावमाथि मतदान हुँदा माधव समूहका २८ जना सांसद अनुपस्थित भए।

तर, सोमबार नयाँ सरकार बनाउने दिनसम्म आइपुग्दा ओली र नेपालबीच भएको वार्ता सकरात्मक बनेपछि ओली तेस्रो पटक प्रधानमन्त्री बन्न सहज भयो। एमालेको विवाद पनि अब समाधानतर्फ देखिएको छ भने दुई कार्यकाल जोडेर भए पनि ओलीले नेपालको लोकतान्त्रिक–प्रजातान्त्रिक इतिहासमा पहिलो पटक पाँच वर्षे कार्यकाल पूरा गर्ने सम्भावना बढेको छ।

तर, संविधानको धारा ७६ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलको हैसियतले प्रधानमन्त्री बनेका उनले ३० दिन भित्र फेरि विश्वासको मत लिनुपर्ने छ। यदि विश्वासको मत लिन सकेनन् भने स्वतः पदमुक्त हुनेछन्। त्यसपछि सरकार बनाउने प्रक्रिया संविधानको धारा ७६ को उपधारा ५ शुरु हुनेछ। यो उपधारा अनुसार कुनै पनि सांसदले संसदमा बहुमत पुर्याउन सक्छु भनी राष्ट्रपति समक्ष सरकार बनाउने दावी पेश गर्नुपर्नेछ। यसरी बनेको प्रधानमन्त्रीले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। विश्वासको मत नलिए संविधानको धारा ७६ को उपधारा ७ बमोजिम सो प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरी ६ महिनाभित्र चुनाव गराउनुपर्ने हुन्छ। नबसी ओलीलाई समर्थन गर्न पुग्यो भने ओली दुई कार्यकाल जोडेर भए पनि पूरा पाँच वर्ष प्रधानमन्त्री बन्ने ऐतिहासिक कीर्तिमान बनाउनेछन्।

यो राजनीतिक आरोहअवरोह यकातिर छ भने कोरोना महामारी अर्कोतर्फ छ। ओलीले तेस्रो कार्यकाल शुरु गर्दैगर्दा देशमा दैनिक हजारौंको संख्यामा मानिसहरु संक्रमित भइरहेका छन् भने लागतार दुईसय भन्दा धेरैको मृत्यु भइरहेको छ। अक्सिजनको अभावमा अस्पतालहरुले धमाधम विरामी भर्ना बन्द गरिरहेका छन्। यो समस्या ओली सरकारका लागि सबैभन्दा ठूलो समस्या छ।

केपी शर्मा ओलीको जन्म बाबु मोहनप्रसाद ओली र मधु ओलीको पुत्रको रूपमा वि सं २००८ साल फागुन ११ गते शनिबार तेह्रथुम जिल्लाको इवा गाउँमा भएको थियो। विक्रम संवत् २०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए। २०२८ सालको झापा आन्दोलनका प्रमुखहरु मध्येका एक थिए, त्यही वर्ष उनी जेल परेका थिए। ओली तत्कालिन नेकपा (माले) को संस्थापक मध्येका एक हुन्।

पञ्चायती व्यवस्थाविरुद्धको संंघर्षका क्रममा ओली २०२८ देखि २०४४ सम्म १४ वर्ष जेल जीवन यापन गरेका थिए। ओली २०४८, २०५१ र २०५६ का आम निर्वाचनमा झापा जिल्ला क्षेत्र नं ६बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए। पहिलो संविधान सभा निर्वाचन २०६४ मा भने उनी झापाको क्षेत्र नं ७ बाट पराजित भए। २०७० र २०७४ मा उनी झापाबाट पनुः निर्वाचित भए।

विसं २०४९ सालमा नेकपा (एमाले)को स्थायी कमिटी सदस्य भएका उनी २०७१ असारमा पार्टीको अध्यक्ष निर्वाचित भएका हुन्। बालकोट, भक्तपुरका स्थायी वासिन्दा हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *