कहाँ जान्छन् अक्सिजनका सिलिण्डर?

डिसी नेपाल
३१ वैशाख २०७८ ६:३८

काठमाडाैं। बिहीबार राति देशको सबैभन्दा ठूलो अस्पताल बीर अस्पतालमा अक्सिजनको हाहाकार भयो। व्यबस्था गरिएका अक्सिजनका सिलिण्डरह? प्रहरी आएर हाकिमका लागि भन्दै उठाएर लगिदिएपछि यस्तो हाहाकार भएको थियो।

विरामीहरूको ज्यानै जाने अवस्थामा आफ्नो पद जाला भनेर अस्पतालको टमा सेन्टरका निर्देशक डा.सन्तोष पौडेल चूप लागेर बसेनन्। उनले सामाजिक सञ्जालमा नै यो कुरा सार्वजानिक गरिदिए र गृहसचिवलाई फोन गरेर यस्तै हो भने अस्पताल नै पुलिसको जिम्मा लगाइदिनुहोस् भनेर आक्रोश पोखे।

यसरी आक्रोश पोख्नेहरुको लर्को अहिले हरेक अस्पतालमा छ। कोरोनाभाइरस संक्रमण दर तीव्र गतिमा फैलिरहँदा काठमाडौं लगायत देशका विभिन्न सरकारी तथा निजी अस्पतालहरूमा असिक्जनको संकट झन् झन् गहिरिँदै गइरहको छ।

अक्सिजन अभावका कारण विभिन्न अस्पतालहरुले विरामीलाई सेवा दिन नसक्ने बताउन थालेका छन्। अक्सिजन नपाएकै कारण नागरिकहरू अनाहक मृत्युवरण गरिरहेका छन्। अस्तालहरूले विरामीका आफन्तलाई आफ्ना विरामीका लागि आफैं अक्सिजन खोज्न माइकिंग गर्न थालेको दर्दनाक अवस्था छ।

अक्सिजन संकट बढेपछि केही दिनअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले अस्पतालहरूलाई दैनिक निश्चित कोटा छुट्याइदिएको छ। सरकारले अक्सिजन उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि त्यसको एकदमै न्यून मात्रामा सिलिण्डर पाउँदै आएकोले समस्या झन बल्झिन थालेको अस्पताल सम्बद्ध चिकित्सक र व्यवस्थापकहरूले बताएका छन्।

उनीहरूले सरकारले माग र आपूर्तिको एकिन पत्ता नलागाएर काम गरिरहेकोले झन समस्या भइरहेको आरोप समेत लगाएका छन्। कोटा तोकिएको छ तर तोकिएको कोटाले पुगेको छैन र तोकिएको अक्सिजनसमेत अस्पतालहरूले पाएका छैनन्। ती अक्सिजनहरू कहाँ जान्छन् त ?  कसले प्रयोग गर्दै छ ती अक्सिजनका सिलिण्डर?

ललितपुरको मेडिसिटी अस्पतालका एक चिकित्सक भन्छन्,  ‘हामीलाई दैनिक चारसय बढी अक्सिजन सिलिण्डर चाहिन्छ। तर सीसीएमसीले अक्सिजन वितरण गर्न थालेपछि त्यो संख्या घटेर आधाभन्दा कम अक्सिजन सिलिण्डर आउन थालेका छन्।। ती चिकित्सकका अनुसार सिसिएमसीलाई थाहै छैन कुन अस्पतालमा कति सिलिण्डर अक्सिजन चाहिन्छ।  त्यसै कारण अहिले प्रमुख अस्पतालहरूले अक्सिजनको अभावमा कोभिड संक्रमितको उपचार गर्न सकिरहेका छैनन्।

अस्पतालमा एकाएक आधाभन्दा कम अक्सिजन आउनथालेपछि तत्काल सिसिएमसीसँग कुरा गर्यो, समस्या बुझायो। त्यसपछि सिसिएमसीले अहिले तीनसयवटा भन्दा बढी सिलिण्डर पठाउँछ। तर त्यो पनि अपुग हुन्छ।

काठमाडाैंको नर्भिक अस्पतालमा अक्सिजन उत्पादन गर्ने २ वटा प्लाण्ट छन्। त्यसबाट प्रत्येक दिन ४२ वटा सिलिण्डर अक्सिजन उत्पादन हुन्छ । सीसीएमसीले अक्सिजनको आपूर्ति जिम्मा लिएपछि नर्भिकलाई २ सय वटा सिलिण्डर उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो। तर, सरकारबाट मुस्किलले २० वटा सिलिण्डर मात्र उपलब्ध भइरहेको अस्पतालका एक्जुकेटिभ डाइरेक्टर राजेन्द्रबहादुर सिंहले बताए।

‘हामीलाई एकदमै अफ्ठेरो भइरहेको छ’, उनले भने ‘सीसीएमसीले भनेको मात्रै छ। फिल्डमा गएर माग र आपूर्तिको व्यवस्थापन कसरी गर्ने त्यसको वस्तुपरक जानकारी सीसीएमसीले बुझेको छैन। हामीलाई २ सय भने पनि मुस्किलले २० सिलिण्डर अक्सिजन पाइरहेका छौँ।’

उनका अनुसार हाल नर्भिकमा १ सय ३३ जना कोभिड बिरामीले उपचार गराइरहेका छन्। यसको लागि कम्तिमा पनि ३ सय सिलिण्डर प्रतिदिन आवश्यक रहेको उनले बताए। बिरामीलाई हाइफ्लोमा अक्सिजन दिनु पर्ने र सबै बिरामीलाई अक्सिजन चाहिने भएकोले अहिले बिरामीको उपचार गर्न हम्मे हम्मे भइरहेको छ।

यस्तै सीसीएमसीले अक्सिजन वितरणको आपूर्तिको जिम्मा लिएदेखि धेरै प्रगति नभएको बताउँछिन वीर अस्पतालकी निमित्त निर्देशक शान्ता सापकोटा। सीसीएमसीले वीर अस्पताललाई ३ सय सिलिण्डर अक्सिजन उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो। तर, त्यसको आधा प्रत्येक दिन १ सय ५० सिलिण्डर र कहिले त त्यो भन्दा पनि कम उपलब्ध गराउने गरेको उनले बताइन्।

वीर अस्पतालमा १ सय ५० सिलिण्डर प्रतिदिन उत्पादन गर्ने क्षमता छ। यसले गम्भिर प्रकृतिका ५० देखि ६० जना विरामीलाई उपचार गर्न पुग्छ। तर, सोही अक्सिजनले अहिले १ सय ३० जना भन्दा बढीलाई उपचार गरिरहिएको उनको भनाइ छ। अहिले सबै विरामीलाई अक्सिजन दिएर उपचार गर्नु परिरहेकोले एकदमै अफ्ठेरो अवस्थामा रहेको उनको भनाइ छ।

यस्तै ग्राण्डी अस्पतालमा पनि बिरामीको उपचार गर्ने सबै कुरा छ तर, अक्सिजन अभावकै कारण थप विरामी लिने अवस्था छैन। अस्पतालका डेपुटी डाइरेक्टर डा. विनोद विजुक्छेका अनुसार हाल अस्पतालमा अक्सिजनको चरम अभाव छ। अक्सिजन उत्पादन गर्ने प्लान्ट नहुँदा सरकारले कति सिलिण्डर अक्सिजन दिने हो त्यसमै भर पर्नु परिरहेको छ।

ग्राण्डी अस्पताललाई हाल सीसीएमसीको निर्णयपश्चात सरकारले विरामीको लिष्टअनुसार प्रतिदिन एक सय सिलिण्डर उपलब्ध गराउँदै आएको छ। जबकि ग्राण्डीमा प्रतिदिन त्यो भन्दा तेब्बर २ सय ४० सिलिण्डर आवश्यक्ता पर्छ। डा. विजुक्छेले हाल अस्पतालमा ८१ जना कोभिडका बिरामीले उपचार गराइरहेका जानकारी दिए।

१७ जना आइसीयूमा उपचार गरिरहेका छन्। सबै जनालाई अक्सिजन दिएर उपचार दिनु पर्ने अवस्था रहेको उनले बताए। डा. विजुक्छेका अनुसार एकजना विरामीलाई प्रत्येक मिनेट १२ लिटर अक्सिजन आवश्यक्ता पर्छ। त्यसअनुसार २४ घण्टामा १७ हजार लिटर अक्सिजन चाहिन्छ। अर्थात एक दिनमा एउटा विरामीलाई तीन वटा सिलिण्डर अक्सिजन चाहिन्छ। अस्पतालमा वेड, जनशक्तिले चलाउन सक्ने भए पनि अक्सिजन नहुँदा अहिले गम्भिर प्रकृतिका विरामीले पनि उपचार पाउन सकेका छैनन्।

के गर्दैछ सीसीएमसी?

अहिले काठमाडौं उपत्यकाभित्रका ठूला अस्पतालहरुले अक्सिजनको कमी भएको भन्दै नयाँ बिरामी भर्ना नलिने भनी सूचना सार्वजनिक गरेका छन्।

नयाँ भर्ना नलिने सूचना सार्वजनिकमात्रै भएनन्, अस्पतालमा रहेका विरामीका आफ्न्तलाई बोलाएर अक्सिजनको कमी भएको थाहा पाएको र बिरामीको ज्यान तलमाथि हुने अवस्था आएमा कसैलाई दोष दिने छैन भन्दै गराइएका मञ्जुरीनामा पनि सार्वजनिक हुन थालेका छन्। अक्सिजन छैन, विरामी अन्यत्र लानुहोस् भन्ने सम्मका सन्देशहरु बिरामीका आफन्तले पाउन थालेका छन्।

अस्पतालमा अक्सिजन नहुदाँ र त्यसैको कारण बिरामी मर्न थालेपछि सरकारसँग जनता आक्रोशित छन्। जनताले अक्सिजन नपाएर छटपटाइरहेको अवस्थामा सबै राजनीतिक दलहरु सत्ताको खेलमा लागेको भन्दै सर्वत्र आलोचना पनि भएको छ।

कुनै बेला सत्ताकोलागि आफ्नै पार्टीबाट संघर्ष गरेर सडकमा हामी यहाँ छौंको ब्यानर छातीमा टाँसेर बस्ने नेताहरु कता छन् भन्दै सामाजिक सञ्जालमा खोज्ने काम भएको छ।

सामाजिक सञ्जालमा नेपालको सरकार र राजनीतिले मानवीय संवेदना गुमाएको टिप्पणी भइरहेका छ। अस्पतालहरुले अक्सिजनको कारण देखाउँदै जनताको उपचारका लागि हात उठाएको अवस्थामा सीसीएमसीले के गर्दै छ भनेर हामीले सीसीएमसीका सचिव खगराज बराललाई सोधेका थियौं।

बरालले भने, ‘हाम्रो काम क्राइसिस् म्यानेज गर्ने हो गरेकै छौं।’ उनका अनुसार शतप्रतिशत अक्सिजनको व्यवस्था भएको छ। सचिव बरालले दैनिक क्षमता भन्दा बढी माग भएका कारण अभाव देखिएको बताए।

उनले भने, ‘हालसम्मको दैनिक अक्सिजनको भार भनेको ७ हजार २ सय सिलिण्डरको हो। हामीले शतप्रतिशत उपलब्ध गराएका छौं। कोरोनाका बिरामी धेरै बढेको हुँदा र माग अत्याधिक भएका कारण अपुग देखिएको हो।’

उनका अनुसार अहिले दैनिक १ हजार ५ सय सिलिण्डरको माग भइरहेको छ। ‘हामीले क्राइसिस म्यानेज गर्ने हो,’ सीसीएमसीले सिलिण्डर दिएन भन्ने अस्पतालाई उनले भने, ‘हाम्रो काम अक्सिजन बाँड्ने  हैन। पहिला अक्सिजन उद्योगहरुले ४० प्रतिशतमात्र सिलिण्डर अस्पताललाई दिँदै आएका थिए। ६० प्रतिशत सिलिण्डरहरु निजी कम्पनीहरुलाई दिएका थिए। अक्सिजनको खोजी नहुँदासम्म अस्पताल भन्दा बाहिर निजीक्षेत्रमा अक्सिजनका सिलिण्डरहरु जान्थे। हामीले सबै तिरबाट कलेक्सन गर्दै छौं।’

सीसीएमसीको मुख्य उपलब्धी नै अक्सिजनका शतप्रतिशत सिलिण्डर अस्पताललाई नै उपलब्ध गराउने भएको बरालका भनाइ छ। ‘हाइड्रो पावर, कवाडी, ग्रील उद्योगहरुलाई दिइएका सिलिण्डरहरु खानतलासी, खोजी गरेका छौं। ल्याएर अस्पताललाई उपलब्ध गराएका छौं सीसीएमसीको मुख्यउपलब्धि नै हो यो,’ बरालले भने।

‘पहिला एउटै अस्पतालले तीन सय सिलिण्डर लिने गरेको थियो होला, अहिले त्यसलाई हामीले मिलाएर दिएका छौं, उसले लिने गरेको कोटामा पाएन भने त पाएनौ भन्ने नै भयो नि,’ बरालले भने।

उनका अनुसार आर्मी अस्पतालमा रहेको अक्सिजन प्लाण्ट मर्मत गरेर सञ्चालनमा आएको छ । यस्तै केही नयाँ बन्दै गरेको अवस्थामा छन् । नयाँ बनाउनेको सामान आएको छैन। सीसीएमसीको काम अक्सिजन प्लाण्ट चलाउने नभएको उनले दोहो-याए।

तीनवटा विकल्प तयार हुँदै

सचिव बरालले अक्सिजनको अभाव हुन नदिन तीनवटा विकल्पहरुमा तयारी भइरहेको जानकारी दिए । उनका अनुसार पहिलो विकल्पमा लिक्वुइड अक्सिजन नेपालमा ल्याउनु हो। उनले भने, ‘लिक्वुड अक्सिजन नेपालमा ल्याएर, कनभरटर राखेर ग्यासमा कनभर्ट गर्ने, ५ वटा ठूला अस्पताललाई त्यो दिएपछि त्यहाँ भएका सिलिण्डरहरुले अन्य अस्पताललाई दिन सकिन्छ।’

उनको विकल्पमा दोश्रो विकल्प हो एयरबेस अक्सिजन जेनेरेटर। ‘एयरबेस अक्सिजन जेनेरेटरले हरेक दिन ६०/७० सिलिण्डर रिफिल गर्छ। त्यो चीनबाट ल्याउनु पर्छ। त्यस्तै अर्को पनि चीनबाट नै ल्याउने हो। ‘नर्मलखालको अक्सिजन चाहिने विरामीहरुलाई प्रयोगमा ल्याइन्छ र अन्य स्थानमा पु¥याउन पनि सजिलो हुन्छ’, बराले भने ।

अक्सिजनको हाकाकार जारी छ, यसैको अभावमा विरामी मरिरहेका छन्। वीर अस्पतालको हिजोको घटनाले पहुंचवालाहरूले पुलिस लगाएर पनि अक्सिजन उठाउन थालेका छन्। त्यो कहाँ प्रयोग हुन्छ? कसैले हेर्ने अवस्था पनि छैन । जनता निरिह भएको हेरेर के सरकार रमाउँछ?

के भन्छन् उद्याेगी

छिमेकी मुलुक भारतमा अक्सिजन संकटले भयावहरुप लिँदै गर्दा नेपाल सरकार र अक्सिजन उद्योगहरुले सम्भावित संकटको बारेमा ख्याल नै गरेनन्। सोही अक्सिजन संकट घुमिफिरी अहिले नेपालमा आइलागेको छ। नेपालमा हाल प्रत्येक दिन १७ हजार ठूला अक्सिजन सिलिण्डर उत्पादन गर्दै आएको छ। र, यही नै नेपालको अक्सिजन उत्पादन गर्ने कूल क्षमता हो।

नेपाल अक्सिजन ग्यास उत्पादक संघका अध्यक्ष गौरव सारदाका अनुसार काठमाडौंमा मात्रै ८ देखि १० हजार सिलिण्डर अक्सिजन खपत हुँदै आइरहेको छ। हाल अक्सिजन उत्पादन गर्ने सम्पूर्ण उद्योगहरु पूर्ण क्षमतामा सञ्चालनमा छन्। भाइरस संक्रमणले पिक लिन बाँकी नै रहेकोले अझै धेरै संकट हुन सक्ने उनले बताए।

‘माग अत्याधिक नै अहिलेको मुख्य समस्या हो,’ उनले भने, ‘पहिले अक्सिजन उद्योग मुस्किलले क्षमताको २० प्रतिशत चल्थ्ये। सोही कारण कति अक्सिजन उद्योग बन्द भए त सिलिण्डरहरु हराए। जब समस्या देखियो सरकारले सिलिण्डर कब्जा गर्न थालियो। पूर्व तयारी नभएका कारण संकट आइलागेको छ।’

उनले अहिले बजारमा पाइएका सिलिण्डर पनि सरकारले कब्जा गरेर अस्पताललाई दिइरहेकोले सरकारले सहज रुपमा सिलिण्डर समयमा भर्ने व्यवस्था मिलाउन नसकेको अवस्थामा अझ भयावह अवस्था आउन सक्ने बताए।

अक्सिजन प्लाण्टको व्यवस्था अरु जस्तो सहज नभएको भन्दै उनले यसको लागि ४ महिनासम्म समय लाग्ने बताए। अस्पतालहरुमा मोबाइल अक्सिजन प्लाण्ट स्थापना गरेर समस्याको केही हदसम्म भए पनि समाधान गर्न सकिने उनको भनाइ छ। सरकारले सिलिण्डर व्यवस्थित गर्न नसकेको भन्दै उनले बाहिरबाट ल्याउनु पर्ने समान पनि सरकारले सहजीकरण गरिदिनु पर्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *