प्रतिनिधिसभा पुनःस्थापनायता प्रचण्डलाई नोक्सान नै नोक्सान

डिसी नेपाल
३१ वैशाख २०७८ १०:०८

काठमाडौं। गएको पुस महिनाको पहिलो साता प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको सिफारिस गरेपछि यसको चर्को विरोधमा उत्रिनेमध्येका एक थिए–तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड।

प्रतिनिधि सभा विघटन विरुद्ध उनले आन्दोलनको नेतृत्व गरे। प्रधानमन्त्रीको निर्णय असंवैधानिक भएको भन्दै सर्वोच्च अदालत गुहारे। आफ्नो पार्टीको एक समूहलाई विभाजन गरेर आफूसँग लिएर गए। सडकबाट केपी ओलीविरुद्ध चर्को भाषणबाजी गरे।

त्यतिखेर प्रचण्डको भनाइ र गराइ हेर्दा लाग्थ्यो–प्रतिनिधिसभा विघटन भएपछि प्रचण्डले सर्वस्व गुमाएका छन्। र, प्रतिनिधिसभा पुनःस्थापना हुनासाथ उनले सबै कुरा फिर्ता पाउनेछन्। प्रचण्डले प्रतिनिधिसभा पुनःस्थापनाका लागि भएजतिको बल लगाए।

साम, दाम, दण्ड भेद सबै रणनीति प्रयोग गरे। अन्ततः विघटनको झण्डै २ महिनापछि उनी प्रतिनिधि सभा पुनःस्थापनाको आफ्नो एजेण्डामा सफल भए। सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनः स्थापना गरिदियो।

सर्वोच्च अदालतको फैसला आएसँगै प्रचण्डले खुसीयाली मनाए। लड्डु खाए अनि खुवाए। सर्वोच्च अदालतले आफूहरुको पक्षमा, न्यायको पक्षमा, प्रजातन्त्रको पक्षमा महत्वपूर्ण र ऐतिहासिक फैसला गरेको उद्घोष गरे।

तर, त्यसको झण्डै ३ महिना हुनै लाग्दा अहिले प्रचण्डलाई हेर्ने हो भने उनीजति ‘बिचरो’ पात्र कोही छैन। पछिल्ला केही महिनायता हेर्ने हो भने नेपाली राजनीतिमा ‘सर्वस्वहरण’मा परेका शीर्ष राजनैतिक पात्र हुन् प्रचण्ड।

प्रतिनिधिसभा विघटनको अवस्था आउनुअघि प्रचण्डसँग सत्ता थियो। दुई तिहाइको बहुमतको सरकारको नेतृत्व उनको पार्टीले गरिरहेको थियो। उनी पार्टीका अध्यक्ष थिए। संसदमा २ तिहाइ बहुमत अर्थात संविधान नै संशोधन गर्नेसम्मको क्षमता उनको पार्टीमा थियो।

पछिल्लो ६ महिनामा नेपाली राजनीतिमा गुमाउनेहरुको लेखाजोखा गर्ने हो भने सबैभन्दा धेरै गुमाउने नेता प्रचण्ड हुन्। यो अवधिमा उनले प्रतिनिधिसभामा आफ्नै एकल बहुमत भएको पार्टी गुमाए। उनले एकीकरणपछिको पार्टी त गुमाए नै आफ्नो पुरानो पार्टीका टोपबहादुर रायमाझी, लेखराज भट्ट, गौरीशंकर चौधरी र प्रभु साह गरी ४ जना प्रत्यक्ष निर्वाचित सांसद गुमाए। रामबहादुर थापा बादलजस्ता शीर्ष तहका नेता गुमाए।

तर, आफ्नै पार्टीभित्रको अन्तरसंघर्षमा प्रचण्डलाई यसरी खेलाइयो कि अहिले उनी आफ्ना राजनैतिक प्रतिद्वन्द्वीहरुसँग बिन्तीभाउ गरेर गठबन्धन सरकार बनाउन खोज्दा पनि सामान्य बहुमत जुटाउन नसक्ने अवस्थामा पुगेका छन्। हुन त यो स्थिति आउनुमा प्रचण्ड पनि उत्तिकै जिम्मेवार छन्। सम्झौता अनुसार  प्रधानमन्त्री हुने तीब्र चाहना केपी ओलीले पुरा नगरिएपछी उनी एकपछी अर्को गरी अस्थिरता निम्याउने घटनामा जोडिइनै रहे।

ओलीलाई पल्टाउने एमालेकै एक पक्ष, नेपाली कांग्रेस र जनता समाजवादीको एक पक्षले साथ दिँदा समेत प्रचण्डको जोर चलेन। प्रधानमन्त्री ओली फेरि पनि चतुर साबित भए।

पछिल्लो ६ महिनामा नेपाली राजनीतिमा गुमाउनेहरुको लेखाजोखा गर्ने हो भने सबैभन्दा धेरै गुमाउने नेता प्रचण्ड हुन्। यो अवधिमा उनले प्रतिनिधिसभामा आफ्नै एकल बहुमत भएको पार्टी गुमाए। भलै पार्टी विभाजनमा अर्कै सानो दलले सर्वोच्च अदालतमा दायर गरेको रिट कारक बनेको थियो। र, त्यो सानो दलले पार्टी विभाजनको माग समेत गरेको थिएन।

आफ्नो पार्टी विभाजित भएपछि उनले एकीकरणपछिको पार्टी त गुमाए नै आफ्नो पुरानो पार्टीका टोपबहादुर रायमाझी, लेखराज भट्ट, गौरीशंकर चौधरी र प्रभु साह गरी ४ जना प्रत्यक्ष निर्वाचित सांसद गुमाए। रामबहादुर थापा बादलजस्ता शीर्ष तहका नेता गुमाए।

एकीकृत नेकपाबाट बाहिरिँदा ओलीले माओवादीका शीर्ष नेताहरु आफ्नो साथमा लैजाँदा प्रचण्डले आफूले पनि एमालेका पूर्वअध्यक्षसहित २ पूर्व प्रधानमन्त्री नै साथमा ल्याएकोमा सम्भवतः सन्तोष मानेका थिए।

तर, चतुर प्रधानमन्त्री ओलीले एमालेका ती नेतालाई समेत पुरानै घरमा फर्काए। अहिले प्रचण्डसँग एमालेबाट खोसेर ल्याएको केही छैन बरु प्रधानमन्त्री ओलीले माओवादीबाट झण्डै आधा दर्जन उच्च तहका नेता खोसेर लगेका छन्।

यी नेताहरु आफ्नो क्षेत्रमा लोकप्रिय छन् र आफ्नै दममा प्रतिनिधिसभाको निर्वाचन जित्न सक्ने क्षमता राख्छन्। यसले प्रचण्डलाई निकै ठूलो धक्का लागेको छ। प्रधानमन्त्री केपी शर्मा ओली जसरी पनि निर्वाचन गर्ने पक्षमा छन्।

यसका लागि उनी फेरि प्रतिनिधिसभा विघटन गर्ने रणनीतिमा छन् र अहिलेसम्मका घटनाक्रम हेर्दा उनी आफ्नो रणनीतिमा सफल हुँदै अगाडि बढिरहेका छन्। अहिलेको अवस्थामा प्रधानमन्त्रीले निर्वाचन घोषणा गरिदिए भने के हुन्छ?

यो आम जनताको लागि चासोको विषय हुन सक्छ तर प्रचण्डका लागि भयानक त्रासको विषय हो। किनकि एकीकरणपछि प्रचण्डका नेता अर्थात माओवादी नेताले जुन जुन जिल्लामा नेतृत्व पाएका थिए त्यहाँ नेतृत्व मात्रै माओवादी पक्षको थियो, संगठन एमालेकै थियो।

अवस्था अझै त्यस्तै छ । जिल्लाको तल्लो तहमा एमालेको संगठन बलियो छ र माओवादीको संगठन भताभुंग छ। यो अवस्थामा प्रचण्ड निर्वाचनमा गए उनको पार्टी बढारिन सक्ने जोखिम छ।

सबैतिरबाट नोक्सानी व्यहोरेका र सबैतिरबाट पराजित भएका प्रचण्ड अब के गर्लान् भन्ने चासो सर्वत्र छ। एक हिन्दी फिल्ममा भनिएजस्तै अहिले प्रधानमन्त्री ओली ‘बाजीगर’ भएका छन्। अर्थात प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा विश्वासको मत मागे, त्यहाँ हारेर पनि जिते।

प्रचण्ड प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध अदालत गए। अदालतमा उनले मुद्दा त जिते तर राजनैतिक युद्ध हारे। प्रत्यक्ष राजनीतिमा आएर २०६४ को निर्वाचनमा होमिएपछि १ दशकसम्म प्रचण्ड नेपाली राजनीतिको केन्द्रमा थिए।

सत्तामा नरहँदा पनि उनी किंगमेकर थिए। उनै प्रचण्ड अहिले त्यसयताकै कमजोर अवस्थामा पुगेका छन्। अब उनले के गर्लान्? जनताले चासोका साथ हेरिरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *