चैत २५ पछि संक्रमण भएका र अहिले लक्षण देखिन थालेका व्यक्तिलाई भेरोसेलको दोस्रो डोज नदिइने

डिसी नेपाल
३१ वैशाख २०७८ १२:४८

काठमाडौँ। चैत २५ पछि कोभिडको खोप लगाए पनि संक्रमण भएका र अहिले लक्षण देखिन थालेका व्यक्तिलाई कोभिड विरुद्धको खोप भेरोसेलको दोस्रो डोजका लागि हुने जेठ २ गतेदेखिको अभियानमा काठमाडौँ महानगरपालिकाले सहभागी नगराउने भएको छ।

जनस्वास्थ्य विभागले शुक्रबार वडा क्लिनिक इञ्चार्जहरुसँग अनलाइन बैठक गर्दै त्यस्ता व्यक्तिका विषयमा फेरि निर्णय गर्ने जनाएको छ। ‘अहिलेको भ्याक्सिन चैत २५ देखि बैशाख १५ गतेसम्म भेरोसेलको पहिलो मात्रा लगाएका र त्यसपछि कोविडको संक्रमण नभएका व्यक्तिहरुका लागि मात्र हो,’ बैठकले भनेको छ।

यसैगरी परीक्षण गरेर यकिन नभएका तर कोभिडका लक्षण देखिएका व्यक्तिलाई पनि दोस्रो डोज खोप नदिइने जनाइएको छ। विभागका प्रमुख हरिबहादुर कुँवरले भने, ‘माथिल्ला निकायबाट निर्देशनबमोजिम हामी खोप सञ्चालन गर्छौं। यसैबीच केही नयाँ निर्णय भएछ भने हामी तत्काल परिपत्र र योजना पठाउँछौँ।’

जेठ २ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने कोभिड विरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा सञ्चालन गर्न काठमाडौँ महानगरले एक वडा एक खोप केन्द्र तोकिसकेको छ। खोप केन्द्रमा कम्तीमा २ जना खोपकर्ता र एक जना खोपकर्ता बराबर ३ जना स्वयमसेवक परिचालन हुनेछन्।

पहिलो मात्रा खोप लगाएका व्यक्तिहरुलाई दोस्रो मात्रा लगाउने दिन तोकिएको छ। तोकिएका व्यक्तिले तोकिएको दिनमा आफू निजको खोप केन्द्रबाट खोप सेवा लिन सक्नेछन्।

‘तपाईँहरुले यसैबमोजिम जनप्रतिनिधि, वडा र सम्बन्धितसँग समन्वय गर्नुहोला,’ विभागले क्लिनिक इञ्जार्चहरुलाई व्यवस्थापनका लागि अनुरोध गरेको छ। खोप अभियानका लागि क्लिनिक इञ्चार्जहरुलाई खोप समन्वयकर्ताका रुपमा जिम्मेवारी तोकिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बैशाख २२ गतेको र जिल्ला विपद् व्यवस्थापन केन्द्रको बैशाख २५ गतेको निर्णयअनुसार ०७७ चैत २५ गतेदेखि बैशाख १५ गतेसम्म पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्रा दिन लागिएको हो। यसमा १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका नागरिकहरु छन्।

दोस्रो खोप लगाउन पहिलो खोप लिएको मितिका आधारमा तय गरिएको छ। जसअनुसार २०७७ चैत २५, २६, २७ र २८ गते पहिलो मात्रा लगाएकालाई जेठ २ गते दास्रो खोप दिइनेछ।

यसै गरी चैत २९ र ३० गते पहिलो खोप लिएकालाई जेठ ३ गते, ०७७ र्चैत ३१ र ०७८ बैशाख २ गते पहिलो खोप लगाएकालाई जेठ ४ गते दोस्रो मात्राको खोप दिइनेछ।

बैशाख ३ र ४ गते पहिलो खोप लगाएकालाई जेठ ५ गते, बैशाख ५ र ६ गते पहिलो खोप लगाएकालाई जेठ ६ गते, बैशाख ७, ८, ९ र १० गते पहिलो खोप लगाएकालाई जेठ ७ गते, बैशाख ११ र १२ गते पहिलो खोप लिएकालाई जेठ ८ गते भेरोसेलको दोस्रो मात्रा खोप दिइनेछ।

बैशाख १३, १४ र १५ गते पहिलो मात्रा लिएकाहरुलाई क्रमशः जेठको ९, १० र ११ गते दोस्रो खोप दिइनेछ। यी दिनहरुमा पहिलो खोप लगाउनेको संख्या धेरै थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *