व्यंग्य : हलेदोलाई किन कोट्याउनु ?

डिसी नेपाल
१ जेठ २०७८ १०:४२

केन्द्रदेखि प्रदेशसम्म सरकार प्रधान र मुख्य मन्त्रीले जागिर छा्ेड्दै, आफ्नो असफलतालाई सफलतामा मोड्दै, आइलागेका बाधा बिरोधहरुलाई तोड्दै र सबैखाले नीतिहरुको सफल प्रयोगबाट आफ्नो पक्षमा सबैलाई जोड्दै पद जोगाउन सबै हद पार गरेर फलानाको कुर्सी फुस्क्यो भनेर मानिसहरुले समाचार पढ्दा पढ्दै फेरि त्यसैमा ढसमस्स बसेर सबैलाई देखाइदिए।

ठूलोे आशा भरोसा र सपनासहित अहिलेसम्मकै सबैभन्दा ठूलोे भाग खान पाउँ भन्ने माग राखेर वर्ष दिनभन्दा लामो समयसम्म स्वदेशी विदेशी सम्पूर्ण शक्तिहरुको अहोरात्र भक्ति गर्दै ज्यूज्यान छोडेर र सबैतिर लम्पसार पर्दै दुवै हात जोडेर लागिपरेका खाओवादी नेतालाई चाहिँ निकै ठूलोे चोट परेजस्तो छ।

लुम्बिनी प्रदेशमा त बिहान मुख्यमन्त्री पदबाट राजीनामा गरेर सोही दिन बेलुका लुसुक्क त्यही ब्यक्तिले त्यही पदको सपथ ग्रहण गरेर रिसराग र अविश्वास गर्नेहरुलाई भुसुक्क पार्दै उही कुर्सीमा टुसुक्क बसेर बिरोध हुँदाहुँदै सबैथोक पचाए र आफ्नो पद बचाए।

बिरोधीहरुले एक दुई दिन बिरोध चर्काउन र निकै क्रान्तिकारी पाराले थर्काउन खोजेपनि राम्रै मालपानी पाएर हो कि अन्य कारणले हो छोटो समयमै चुपचाप लागेका हुनाले मोटो हातलागि भएछ कि क्या हो भन्नेहरुपनि नभएका होइनन्। तर निष्ठा र सिद्धान्तको राजनीति गर्छौं भनेर आफै फलाक्दै हिँड्नेहरुमाथि जनताको चाहिँ शंका छैन।

गण्डकी प्रदेशले लुम्बिनीलाई अलि भेट्टाउन सकेन। गण्डकीका मुख्यमन्त्रीले राजीनामा दिएर केही दिन पछि मात्रै पुरानै पदमा कायम भएर सपथ ग्रहण गरे र अकस्मात आई लागेको खड्गोबाट तरे अनि जागिर जोगिएकोमा ढुक्क परे र जनतालाई साबिक अनुसार राम्रो सेवा दिन अघि सरे।

यहाँपनि मुख्यमन्त्रीको जागिर जोगाइ दिन प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गर्ने अनि नगद हातमा परेपछि जतापनि झर्ने माननीयको ज्यादै सुन्दर र स्वच्छ राजनीति जनताले देख्न पाए। यसबाट जनतालाई आफ्ना माननीयपति गर्व लाग्नु स्वाभाविकै हो। त्यस्ता होनहार नेताहरुको लागि भोट खसाल्ने र उहाँहरुलाई त्यो कुर्सीमा बसाल्ने आफ्नो हातलाई सुम्सुम्याइ रहुँ जस्तो भएको छ रे भन्ने सुनिन्छ।

प्रमुख प्रतिपक्षी नेतालाई यस्तो अबस्थामा आफूले भ्यागुताको धार्नी पुर्याउन सकिन्न र यस्तो गन्जागोल अबस्थामा सरकार प्रधान भएर अपजश बाहेक केही पाइन्न त्यही भएर अहिलेलाई सरकार प्रधानको जागिर खाइन्न भन्ने लागेको भएपनि सबैको करबल र ज्योतिषको सातचोटी हुन्छौं भन्ने बचनले कताकता कुतकुत्याएको हो कि जस्तो देखिएपनि यिनले पनि केही गर्न सकेनन्।

त्यहाँपनि एकदुई दिन केके न भएजस्तो भयो अनि सामसुम। कुरा सबैले बुझिहाले। हलेदो भनेपछि कोट्याई राख्ने र कसले केके गर्यो भनेर खोट्याई राख्ने आवश्यकता नै परेन। सबैले आफ्नो गक्ष अनुसारको पक्ष लिएर जो जता लागेपनि र जसले जे मागेपनि पाउने भएपछि कुर्सी नबच्ने अनि खल्तीमा आएको माल नपच्ने कुरै आएन।

एउटाले मात्रै फाइदा लिएको भए पो असन्तुष्टि देखाउन पनि मिल्छ। सबैले आआफ्नो भूमिका अनुसारको दस्तुरी पाएपछि र सोचे अनुसारको नगद आएपछि दल, निर्देशन, ह्वीप, नैतिकता, सिद्धान्त, संविधान आदि जस्ता विषयहरु त्यसै गौण हुनु नौलो होइन।

संघीय सरकारको लामो रस्साकस्सी र रमिताले प्रदेशलाई ठाडै ओझेलमा पार्यो अनि मुख्यमन्त्रीहरुलाई मजाले तार्यो। केन्द्रतिरको राजनीतिले एउटा बाटो समातेपछि प्रदेशहरु त बिर्सिएको पाटो भनेजस्तै हुने भए। अब कुर्सी पक्का बच्यो र जसले जति फेला पारे सबै नै मजाले पच्यो।

झण्डै वर्षदिनसम्म निहुँ खोजेर र बिरोधको अरु बाटो रोजेर कुर्सीबाट हटाउन अनि साधारण सदस्यबाट समेत हटाएर धुलो चटाउन ठिक पारेको मान्छेले गरेको संसद बिघटन पछि बिरोध सभा, जुलुस, भेला, चक्काजाम, बन्द हड्तालको साथै अदालतमा मुद्दा आदि जानेजति सबै तरिका अपनाएर मरिहत्ते गरेपछि लौ खाओ भनेर सरकार प्रधानले नै बिश्वासको मत लिइदिने भए।

यसबाट उत्साहित भएर बिरोधीले बिपक्षमा भोट हालेर र आफ्नो दलकाले अनुपस्थितिको कदम चालेर कुर्सीबाट त खुस्काई छोडे। अप्रत्यक्ष रुपमा धेरै पहिलेदेखि प्रयास गरेको भएपनि एकवर्ष जति अघिबाट प्रत्यक्ष रुपमा अघि सरेको देख्दा आफूलाई त्यति ठूलो शक्ति भनेर आफैंले आफ्नो बयान गर्दै हिँड्ने त्यति ठूलो ठूलो नेताहरु एकजुट हुँदापनि यति लामो समय लाग्नु आफैंमा एउटा आश्चर्य हुनपर्ने हो। तर भयो त्यस्तै।

यसो हेर्दा उहाँहरु नेताभन्दा पनि अभिनेता हुनुहुँदो रहेछ जस्तो छ। अभिनेतामापनि कोही नायक,कोही खलनायक, कोही हाँस्य कलाकार,कोही सहयोगी कलाकार,कोही अतिथी कलाकार यस्तै यस्तै भएर नै नाटक वा सिनेमा बन्ने र यस्तै कलाकारहरुको अभिनयलाई राम्रो नराम्रो भन्ने अबस्था आउने अनि दर्शकहरुले मनोरन्जन पाउने हो।

यहाँ यसो हेर्दा कोही पनि नायक नभएर खलनायक र हाँस्य कलाकारहरुको संख्या बढी भएको हो कि जस्तो छ। सबैले आआफूलाई तोकिएको रोलको बिभिन्न खोल ओढेर आआफ्नो निर्देशकले बताए अनुसारको ढोल बजाएर कला देखाइरहेका छन्।

आफ्नै दलको दुई तिहाइको बलियो सरकार ढाल्न र सरकार प्रधानलाई त्यहाँबाट फाल्न आवश्यक पर्ने सबै कदम चाल्न केही बाँकी राखेनन्। यस कामको लागि खास स्वार्थले जोडिएका खाओवादीका स्वघोषित महान नेता र मान सम्मान पुगेन भनेर नाता तोडिएका आफ्नै दलका पुराना वरिष्ठ नेताको ठूलोे कसरत भयो।

सारा प्रयास गर्दापनि केहि नलागेपछि वाक्क भएर होकि ट्वाक्क पारेर फेरि ससद बिघटन गरेर चुनावको बाटोतिर लाग्ने उद्देश्यले हो सरकार प्रधानले विश्वासको मत लिने भएपछि बिरोधीहरुलाई ठूलोे घत पर्ने नै भयो।

प्रमुख प्रतिपक्षी दल, विपक्षी दल आदि त विश्वास नगर्ने र सरकार प्रधानको निरन्तरतामा साथ दिनेमा नपर्ने पक्का भइहाल्यो। एउटै दलका बिरोधीहरु पनि आफ्नै दलको ह्वीप लगायत कुनैपनि निर्देशन नमान्ने र सरकार प्रधानलाई आफ्नो दलको नठान्ने अनि मिलेसम्म उनको खुट्टा तान्ने काममा दिलोज्यान दिएर लागे।

आफू सधैं बिधि र पद्धतीको राजनीति मात्रै गर्ने भनेर नथाक्ने र आफ्नै अध्यक्षको कुभलो बाहेक अर्थोक नभाक्ने नेताहरुको नैतिकता देखेर जनताले नैतिकताको परिभाषा पनि आफू अनुकूल जता फर्काएपनि र आवश्यक पर्दा जता मर्काएपनि अनि आफूले गर्ने काम बिर्सेर जसरी चर्काएपनि हुने गजबको शब्दको रुपमा लिन मिल्ने रहेछ भन्ने सोचेका छन्। बोलीचाली,भाषण,कुराकानी र सभा सम्मेलनमा झर्को लाग्ने गरि चर्को कुरा गरेपनि ब्यबहार सबैले बुझेकै छन्।

सरकार प्रधानले संसदमा बिश्वासको मत नपाएपछि अति उत्साहित भएका खाओवादी नेताले भएजति सबैलाई सरकार प्रधान फेर्न प्रयोग गरेपनि सबैले यिनको कुरा सुने तर टेर्न आवश्यक ठानेनन् र यिनको सल्लाह अन्तिममा कसैले पनि मानेनन्।

बिगतमा फलाना फलानालाई मैले नै सरकार प्रधानको कुर्सीमा राखेको र मेरै कारणले उसले सरकार प्रधानको सुख सुबिधा चाखेको भनि बताएर नथाक्ने स्वघोषित महान नेताले बिरोधी जति सबैलाई तताएर सबैलाई केही गरिहाल्छन् कि भन्ने लागेको थियो।

ठूलै आर्थिक चलखेल र दक्षिणी छिमेकीको आश्वासन सहितको कडा निर्देशनबाट मधेशवादी दलको ठूलोे समूहले सरकार प्रधानतिर लाग्दा सबै चिजको घडा भर्ने बन्दोबस्त मिलाएर भएपनि बिरोध गर्नुको साटो मुख सिलाएर बसिदियो।

सरकार प्रधानलाई हटाउन संसदबाट सामुहिक राजिनामा दिएर भएपनि बिपक्षलाई सहयोग पुर्याउने उद्घोष गरेका र उप चुनावमा स्वघोषित महान नेताले जिताएर ल्याउनेमा ढुक्क परेका सरकार प्रधानकै दलका बरिष्ठ सहितका नेताले अन्तिम अबस्थामा धोका दिएपछि एकैछिनपनि बिश्राम नगरि सबै नेताहरुका ढोका धाएर सबैलाई मनचिन्ते पोका बितरण गर्ने आश्वासन बाँड्दै हिँडेका स्वघाषित महान नेता पनि जिल्लिएछन्।

सधैंभरि धनयूद्धलाई भजाउने,डर धम्कि त्रास घुर्कि आदिबाट सोझसाझालाई कजाउने र सधैंभरि जनताको नाम जपेर भेटेसम्मको नगद बजाउने गर्दै आएका यिनले यसपाली सरकार प्रधानबाट निकै ठूलोे पाठ सिकेका र अहिलेसम्म यिनी जालझेलबाटै टिकेका अनि बिदेशीको गुलामीबाट यता बिकेका रहेछन् भन्नेपनि धेरै हदसम्म प्रष्ट हुँदै आएको छ।

प्रमुख प्रतिपक्षी नेतालाई यस्तो अबस्थामा आफूले भ्यागुताको धार्नी पुर्याउन सकिन्न र यस्तो गन्जागोल अबस्थामा सरकार प्रधान भएर अपजश बाहेक केही पाइन्न त्यही भएर अहिलेलाई सरकार प्रधानको जागिर खाइन्न भन्ने लागेको भएपनि सबैको करबल र ज्योतिषको सातचोटी हुन्छौं भन्ने बचनले कताकता कुतकुत्याएको हो कि जस्तो देखिएपनि यिनले पनि केही गर्न सकेनन्।

राष्ट्र प्रधानले दिएको समयसिमा सकिनु अघि नै यिनले नयाँ सरकार बनाउन सकिन्न भन्ने घोषणा गरी दिएर मुख मिठ्याएर हिँडेकाहरु सबैलाई हिस्स हुनेगरी फिस्स पारिदिए र निकै उफ्रेर हिँडेकाहरुलाई आआफ्नै स्थानमा झारिदिए।

राजनैतिक दलको सबै मूल्य मान्यता,बिधि,पद्धती,संसदीय मूल्य मान्यता,आफ्नो वरिष्ठ नेताको उचाइ आदि सबैलाई तिलान्जली दिँदै परचक्रीको इशारामा आफन्तको सत्यानाश गर्न जेसुकै र जस्तोसुकै कदम चाल्न तयार भएको भनेर निकै अगाडिदेखि लागेका र सरकार प्रधानको बिरोधमा सामान्य मानिसको सोचाइभन्दा बढी नै जागेका वरिष्ठ नेतालाई सरकार प्रधानले अन्तिम दिनमा एकजना ब्यापारीको घरमा लगेर फकाएछन् अनि आफ्नो पक्षमा आउँछु भने बकाएछन्।

कुनै हालतमा उधारो सम्झौता गरिन्न र नगद वा हाताहाती नपाएसम्म आफ्नो तहबाट झरिन्न भन्दै आएका अनि यस्तै आफ्नो औकातभन्दा ठूलो कुरा गरेर खाएका वरिष्ठलाई सरकार प्रधानले फेरिपनि उधारो बाचा गरेर पक्षमा ल्याएका छन्।

ठूलो ठूलो निर्णय सम्झौताहरु नाम चलेका र यस्तै सम्बन्धहरुबाट फले फूलेका ब्यपारिहरुकै घरमा हुने भएपछि सरकारी निवास, कार्यालय, सभा सम्मेलन स्थल, मिटिङ कक्ष आदिलाई त खारेजी वा बन्द गरिदिएपनि हुने रहेछ भन्नेहरुपनि नभएका होइनन्। तर हामी असल जनताले उहाँहरुको बाध्यतालाई पनि बिर्सन मिल्दैन र ब्यापारिलेपनि प्राप्त भएको नगद एक्लैले निल्दैन भनेर बुझिदिन पर्छ।सरकार प्रधान त सरकार प्रधान भइहाले र जे जसरी भएपनि आफूले चाहेको बाटोमै गइहाले।

संविधान अनुसार कुनै काम नगरेपनि,बोली बचन र कागजमा ज्यादै ठूलोे बिकासका आँकडा पेश गरेर ठेस पुर्याएपनि,राष्ट्र प्रधानलाई आफू अनकूल मात्रै काम गराएर दलको कारिन्दाभन्दा माथिल्लो हैसियत नदिएपनि, संविधान अनुसारको सपथ नलिएर राष्ट्र प्रधानलाई नै सिकाएपनि, तानाशाही किसिमले अध्यादेश र सँबैधानिक नियूक्तिहरु लादेपनि, आफ्ना लठैतहरुका जतिसुकै ठूलो अपराधलाईपनि नदेखे झैं गरेपनि,कोभिडले जनता आक्रान्त भएर अक्सिजन बेड आइसियू र भेन्टिलेटर नपाएर मृत्यूवरण गर्न बाध्य हुँदापनि कुर्सीभन्दा अन्त ध्यान नदिएपनि,अस्पतालहरु र स्वास्थ्यकर्मीहरुले हात उठाउनु अघि नै सरकारले उपचार गर्न सक्दैन भन्ने खालको विज्ञप्ति निकालेर जनता तर्साएपनि आदि आदि जस्ता राम्रा काम भए गरेपनि सरकार प्रधानको कुर्सी जोगिएकै हो।

यसबाट हाम्रा सबै नेताहरुलाई जनताभन्दा कुर्सी कति प्यारो रहेछ भनेर संसारले यसपाली प्रत्यक्षदेखेको हुनाले विश्व जगतमा देशको इज्जत कति माथि पुगेको होला भन्ने सम्झेर जनता त्यसै त्यसै खुसी भएका छन्।

यसो हेर्दा कोही भन्दा कोही कम नभएकोले सबै नेताहरुको दम उही नै हो। उहाँहरु सबैलाई कुर्सी,शक्ति,नगद,ऐश आराम,सुख सुबिधा, असीमित तानाशाही अधिकार, आफ्ना आसेपासे र चाकरीदारहरुलाई उच्च स्थानमा नियुक्ति बाहेक अरु केही नचाहिने रहेछ।

जनता भन्ने बस्तु त अस्तु छउन्जेल भोट हाल्न मात्रै चाहिने रहेछ। सबै नेताहरुको चरित्र र काम गर्ने तरिका एउटै भएपछि हलेदोलाई कोट्याइ राख्न पर्दैन र यस्तो कामले कसैको भलो गर्दैन भनेर चुप लाग्नु बाहेक जनताले गर्न सक्ने नै के छ र?

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *